भिषण बषासँगै आएको बाढीपहिरोले सोमबार म्याग्दीको सदरमुकाम बेनी लगायत विभिन्न स्थानमा वितण्डा मच्चाएको छ । भिरालो जमिन, कमजोर माटो, भूमिगत जलप्रवाह, बस्ती नजिकबाट सडक विस्तार लगायत विभिन्न कारणले सडक, विद्युत, खानेपानी, निजी तथा सार्वजनिक भौतिक संरचनामा ब्यापक क्षती पुगेको छ। प्राकृतिक प्रकोप तथा मानव सृजित विपद्का कारण सोमबार सदरमुकाम बेनीदेखि ग्रामिण क्षेत्रसँग जोडिने सडक अवरुद्ध भएको छ ।

सदरमुकाम बेनीको क्याम्पसचोकमा माथिल्लो क्षेत्रबाट आएको बाढीले नाली फुटेपछि ढुंगा र लेदोले केही घरमा असर गरेको छ । बेनी–अर्थुङ्गे हुदै पाखापानी जोड्ने सडकबाट खस्ने बाढी ब्यवस्थापनका लागि बनाइएको नालीमा ढुंगामाटो जमेपछि फुटेर करिब १२ घर, पसलमा असर गरेको स्थानीयले बताएका छन्। बेनी–महारानी थान जोड्ने सडक समेत अवरुद्ध भएको छ । सडकको माथिल्लो क्षेत्रबाट खसेको बाढीले सडक अवरुद्ध भएको छ भने मंगलाघाटको खेलमैदान हुदै बस्ती हिलाम्मे भएको स्थानीय यूवा लक्ष्मण कटुवालले बताए । उनका अनुसार सडकमाथिबाट खसेको बाढीले जोखिम बढाएको छ ।

बेनी–दरबाङ सडकखण्ड अन्तरगत डम्बरामा पहिरोले बेनपा–६ का वडा अध्यक्ष कृष्णसिंङ बानियाँको कुखुरा फार्म लगायत आसपासका क्षेत्रमा असर गरेको छ भने निर्माणधिन अवस्थामा रहेको सडकले डम्बराको बस्ती नै पहिरोको उच्च जोखिममा परेको छ ।

बेनी–दरबाङ सडकखण्ड स्तरउन्नतीको क्रममा पहिरोले डम्बरा बजार नै जोखिममा परेको स्थानीय यूवा बिशाल खत्रीले जानकारी दिए । जिल्लाको मंगला, मालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाका विभिन्न बस्तीहरु बाढीपहिरोको जोखिममा परेको स्थानीयको भनाई छ ।

सडक विस्तारको क्रममा नाली ब्यवस्थापन नहुदाँ पहिरोले बस्ती नै जोखिममा परेपछि प्रहरी सहित स्थानीय टोली मर्मतमा जुटेका छन् । यता छिमेकी पर्वतको जलजला गाउपालिका–३, वारीबेनीमा रहेको हरि अटोपार्टस्सको ग्यारेजमा पहिरोले क्षती पुगेको छ ।

फलाम प्रयोग गररी बनाइएको दुई तले भवन भत्किएको छ भने नजिकै रुख ढलेर बाटो अवरुद्ध भएको थियो। जिल्लाभर बाढीपहिरोबाट भौतिक क्षती भएपनि मानवीय क्षती नभएको प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरले जानकारी दिए। उनका अनुसार बाढीपहिरोबाट प्रभावित र विस्थापितको तथ्याङ्क संकलन भइहरेको छ ।

म्याग्दी जिल्लामा रहेको कुल २ हजार २९७.०६ वर्ग किमीं क्षेत्रफलबाट ३७ लाख ४५ हजार, ६९० घन मिटर मलिलो माटो बग्ने गरेको कारण ग्रामिण क्षेत्रमा ठूलो परिमाणमा भू–क्षय र पहिरो जाने गरेको छ ।

विनाशमैत्री सडक, बस्ती माथिको क्षेत्रमा विकास निर्माणका गतिविधि, नदीखोलाको कटानीले आधादशक अगाडीसम्म सामान्य पहिरोलाई उचित रोकथामको अभावले बस्ती नै उच्च जोखिममा छन् । जिल्लाको कुल बर्ग किलोमिटरमा प्रतिबर्ष बग्ने मलिलो माटोले जिल्ला बाढीपहिरोमा उच्च जोखिममा रहेको देखिएको छ ।

Leave a Reply