बेनी नगरपालिका-७, महारानी थान-अग्नीखेत सडकखण्डमा मेसिनरी वाल भासिएपछि उपल्लो मंगलाघाटका केही घरधुरी पहिरोको उच्च जोखिममा परेको छ । लगातारको वर्षाका कारण सडकखण्डको वाल र माथिल्लो क्षेत्रबाट पहिरो खस्न थालेपछि बेनी–दरबाङ सडकमा पर्ने उपल्लो मंगलाघाटका करिब ७ घरधुरी उच्च जोखिममा रहेको स्थानीयले बताएका छन् ।

वर्षाले अग्नीखेत हुदै बेनपा–६ डम्बरा आसपासका क्षेत्रमा आवतजावत गर्न बनाइएको सडकखण्डको पक्की वाल करिब पाँच मिटर चर्किएको अवस्थामा थप बर्षाले भत्किने अवस्थामा रहेको भन्दै स्थानीय त्रासमा छन्।

‘वाल चिरा परेको छ,‘ थप क्षती हुन नदिन आवश्यक सतर्कता अपनाइएको छ’ बेनी नगरपालिकाका इन्जिनियर विमल रञ्जन कार्कीले भने । बस्तीको सुरक्षाका लागि पानी तर्काउने प्रयास गरिएको छ ।

बेनी नगरपालिले गतबर्ष २० लाखको लागतमा सडक विस्तार गरेको थियो । अग्नीखेतमा बसोबास गर्नेहरुलाई आवतजावतमा सहज हुने गरी विस्तार गरिएको सडकलाई मर्मत तथा स्तरउन्नतीका लागि चालु आवमा थप १५ लाख समेत विनियोजन गरिएको नगरपालिकाले जनाएको छ ।

सडक विस्तार गर्दा नाली नबनाइएकाले पानीले असर गरेको अवस्थामा भत्किएको मेसिनरी वाललाई हटाएर थप नयाँ संरचना बनाउनुपर्ने प्राविधिकको भनाई छ ।  जोखिमस्थलको बेनी नगरका मेयर हरिकुमार श्रेष्ठ, वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ लगायतले स्थलगत अनुगमत समेत गरेका छन् । यता बेनी–अर्थुङे सडकले समेत मंगलाघाट बजार, बौद्ध गुम्बा लगायत आसपासका क्षेत्रमा असर गरेको छ ।

Leave a Reply