बस्ती माथीको पहाडबाट पहिरो खस्न थालेपछि बेनी नगरपालिका- ४ सुर्केमेला गाउँ उच्च जोखिममा परेको छ। सोमबारको अविरल बर्षासँगै बेनपा–३ राखु हुदै बग्ने खोलाले आसपासका क्षेत्रमा कटान गर्न थालेपछि केही घरपरिवारलाई सुरक्षित स्थानमा लगिएको स्थानीय दुर्गा थापाले बेनीअनलाइनलाई जानकारी दिनुभयो ।

‘ठूलो आवाज आइरहेको छ,‘हरेक बर्ष पहिरोको त्रासमा बस्नुपरेको छ’ थापाले भन्नुभयो । दुईदिन देखि लगातारको बर्षासँगै भकिम्ली क्षेत्रबाट बग्ने खोलाले छेउछाउको बस्तीतर्फ कटान गरेको स्थानीयको भनाई छ ।

कटानको जोखिमले स्थानीय जित बहादुर थापा, पार्वती आले, नौमायाँ राना र सन्त राना लगायत करिब १७ घरधुरी उच्च जोखिममा छन भने करिब ७० घरधुरी बर्खाको समयमा त्रसित अवस्थामा बस्नुपर्ने बाध्यता रहेको छ । सुर्केमेलामा ठूलो आवाजसँगै निरन्तर पहिरो खस्न थालेपछि प्रहरीलाई समेत जानकारी गराइएको सिंगाबाट देबेन्द्र चोखालले जानकारी दिनुभयो ।

वि.स २०३१ सालमा राखुको भिरबाट खसेको पहिरोले सुर्केमेलामा घर पुर्दा १२ जनाको ज्यान गएको थियो । सुर्केमोलको पहिरो जिल्लामै जोखिमपूर्ण ठूलो पहिरोमा पर्छ । चिल बस्ने पहाडको टुप्पोमा आधा दशक धाँजा फाटेकाले पटकपटक सरोकारवाला निकायबाट समेत अनुगमन गरिएपनि रोकथामका बारेमा प्रभावकारी काम हुन सकेको छैन् ।

Leave a Reply