नेपालीमा एउटा उखानै छ,‘मर्दापर्दा काम लाग्ने त छिमेकी नै हुन् । समस्यामा साथ दिने सबैभन्दा पहिले छिमेकी नै हुन भन्ने यही उखानसँग म्याग्दीको मालिका गाउँपालिका–७, बिममा पहिरोले विस्थापित भएकाको अवस्था हुबहु मिल्छ।

गएको असार २५ गते राती देखि नै भिषण बर्षासँगै आएको पहिरोले विस्थापित भएकालाई गाउँमा खाली भएका घरहरू प्रयोग गर्न दिएर असल छिमेकीको उदाहरण दिएका छन् । एक्कासी बस्तीमाथिबाट खसेको पहिरोले घरमा क्षती पुगेपछि विस्थापित जिवन विताइरहेका पहिरो पीडितलाई गाउँमा रहेका खालीको तालाचावी नै पीडितलाई हस्तान्तरण गरिएको छ ।

पहिरोमा ८ जनाको ज्यान जानुका साथै १ जना बेपत्ता भएपछि स्तब्ध रहेको बिमका विभिन्न बस्तीमा एकले अर्कालाई सुखमा मात्रै होईन दुखको समयमा झन धेरै साथ आवश्यक हुन्छ भन्दै जिर्ण घरहरू मर्मत गरेर समेत पीडितलाई जिम्मा लगाएको वडा अध्यक्ष रेशमबहादुर जुग्जालीले बताए ।

‘एकैपटक पहिरोले तहसनहस भएपनि केहीदिन भित्रै विस्थापितलाई ब्यवस्थापन गरेका छौ,‘घर खाली भएकाले धमाधम दिनुभयो’ जुग्जालीले भने ।

उनले हालसम्म विस्थापित मध्ये एक परिवार मात्रै विद्यालयमा रहेपनि बाँकी सबैलाई खाली घरमा राखिएको बताए । खुल्ला आकाश, विद्यालय, टेन्ट खोज्नुपर्ने बाध्यतालाई अन्त्य गर्ने गरी समुदायको सहकार्यमा फरक अभ्यास गरिएको अध्यक्ष जुग्जालीको भनाई छ ।

बैदेशिक रोजगारको सिलसिलामा विदेश वा जिल्ला बाहिर गएकाको घर लामो समयसम्म प्रयोगविहिन अवस्थामा रहेकाले पिडितको समस्यालाई मध्यनजर गरी प्रयोगको वातावरण बनाइएको स्थानीयको भनाई छ।

‘वडा अध्यक्ष जुग्जालीको ब्यवस्थापन गर्ने मोडेल निकै उत्कृष्ट लाग्यो,‘पहिरोबाट विस्थापित भएलगत्तै विद्यालयमा राखिएकालाई केही दिनमै घरमा सारियो’ हिराजित स्मृति क्लवका अध्यक्ष प्रेम जुग्जालीले भने ।

उनले समुदायको साथ र वडा अध्यक्षको सक्रियताले विस्थापितलाई सास्ती नभएको बताए । यो मोडेललाई जिल्लाका साथै देशभर प्रयोग गर्न सकेमा धेरै बाढीपहिरो प्रभावितलाई राहत मिल्ने स्थानीयको भनाई छ ।

जसले खाली घर पीडितलाई दिए

मध्यरातमा आएको पहिरोले घरमा क्षती पुगेपछि नौरुङका खिम दर्जीको परिवार लक्षिन भट्टचनको घरमा बस्दै आएका छन् । पहिरोले गाउँमा बस्ने अवस्था नै नभएपछि विस्थापित भएकी ओममायाँ पाईजा कमल भट्टचन, ख बहादुर विकको घरमा ओमप्रसाद, प्रेम दर्जीको परिवार, रुपप्रसाद दर्जी र नरबहादुर दर्जी ज्ञान भट्टचन र चन्द्र बहादुर दर्जीको परिवार बलबहादुर दर्जीको घरमा बसेको वडा अध्यक्ष जुग्जालीले बताए । ‘जिर्ण घरमा समान्य मर्मत गरिएको छ,घरपरिवारमा अंशबण्डा गरेकालाई विस्थापित भएपछि एकै ठाउँमा राखेका छौ’जुग्जालीले भने ।

उनका अनुसार बाईनाफाँटमा दुई परिवार मालिका आधारभुत विद्यालयमा बसेकाले आवश्यकता परेमा घरको ब्यवस्थापनको तयारी भइरहेको बताए । पहिरोले आफ्नो घरजग्गा गुमाएपनि अर्काको घरमा बस्दा न्यानो महसुस भएको लालमायाँ दर्जीले बताईन् । ‘ज्यान जोगियो, खानाबस्न राम्रो छ’ दर्जीले भनिन् । दिर्घकालिन बासकै आस रहेकाले अहिले यही बस्ने उनको भनाई छ ।

छरछिमेकको सहयोगी साथ र पीडामा मलम लगाउने प्रयासले घरमा पहिरो चलेपनि आत्मबल मिलेको उनको भनाई छ । बाईनफाँट, दुले, अर्गला, नौरुङ, डाँडागाउँ, नौमाने, भारवाङ, खारा, लुरवाङ गाउँका २६ घर पहिरोले पुरिएको छ भने ५५ घरमा आंशिक क्षती र ७० घर पहिरोको उच्च जोखिममा छन् । उच्च जोखिममा भएका केही आफन्तको समेत बसेका छन् । गाउँको सुरक्षित मानिएकै स्थानमा पीडितलाई ब्यवस्थापन गरिएको छ ।
गौतम

Leave a Reply