मंगला गाउँपालिका–३, खर्कमा पहिरोले एउटै घरमा बस्ने ४ घरपरिवार विस्थापित भएका छन् । गएराती देखिको अविरल बर्षासँगै घरमाथिबाट आएको पहिरोले स्थानीय पूर्ण बहादुर , श्याम बहादुर, राजिव र तोमबहादुर सुचिकारको परिवार विस्थापित भएका छन् ।

वडा कार्यालयदेखि गाउँपालिकाको केन्द्र बावियाचौर जोड्ने नमुना सडकबाट खसेको पहिरोले  विस्थापित हुनुपरेको तोमबहादुरले बताए । ‘घरभित्रको सामान निकालेका छौ,‘छिमेकीको घरमा शरण लिएका छौ’ उनले भने । पहिरोले श्यामबहादुरलाई सामान्य चोट लागेको छ ।

बस्तीमाथिबाट पहिरो आएपछि चारपरिवारका सदस्यहरु भागेर ज्यान जोगाएका थिए । पीडित स्थानीय किसान खड्काको घरमा बसेका छन् । पीडितले पुनर्वास सहित राहतको याचना गरेका छन् ।

पहिरोले जोखिम पुर्याएको घरमा बस्ने अवस्था नभएकाले छिमेकी र आफन्तबाट सहयोग गरेपनि केहीदिनका लागि मात्रै रासन पानी रहेको पीडितको भनाई छ । पहिरोबाट विस्थापित भएकाको अवस्था बुझ्न तातोपानी चौकीबाट २ जना प्रहरी समेत घटनास्थलमा पुगेका थिए । यता वडाका जनप्रतिनिधिले समस्या समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएको बताएका छन् ।

Leave a Reply