छिमेकी जिल्ला बागलुङ र पर्वतको पाङ जोड्ने कालीगण्डकी नदी माथि निर्माण गरिएको विश्वकै लामो दाबी गरिएको झोलुङ्गे पुल आजदेखि औपचारिक रुपमा संचालनमा आएको छ ।

निर्माण सम्पन्न भएको तीन महिना पछि सर्वसाधारणका लागि खुल्ला गरिएको हो । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) कारण नेपालमा चैत्र ११ गते देखि भएको लकडाउनका बेला पनि यो पुल निर्माणको काम रोएिको थियो । लकडाउनकै बीचमा पुलन सम्पन्न भएको हो ।

निर्माण सम्पन्न भएको तीन महिना पछि सर्वसाधारणका लागि आजदेखि खुलाउने निणर्य भएको कुश्मा नगरपालिका वडा नं. १ पाङका वडा अध्यक्ष देवेन्द्र सुवेदीले जानकारी दिनुभयो ।

कुश्मा नगरपालिका-१ पाङ अदुवाबारी देखि बागलुङ नगरपालिका-१ रामरेखा जोड्ने झोलुङ्गे पुल वैशाखको शुरुमै निर्माण सम्पन्न भए पनि हाल सम्म सञ्चालनमा आएको थिएन । लकडाउन हटे सँगै निर्माण कम्पनीले पुल हस्तान्तरण गर्न थालेको जनाएको छ ।

पुल हस्तान्तरण प्रक्रिया शुरु भएको र बागलुङ र पर्वत जिल्लाले पुल आज शुक्रबार देखि खोल्ने भएका हुन् । पुल सञ्चालनमा आए पछि दुई जिल्लाका मात्रै नभएर बागलुङ र पर्वत हुँदै म्याग्दी, मुस्ताङ जाने पर्यटकहरुलाई समेत यस पुलले आकर्षित गर्नेछ ।

ठेक्का सम्झौता भन्दा तीन महिना अघिनै पुल निर्माण कार्य सकिएको थियो । पुल हस्तान्तरण नहुदाँ तीन महिना देखि पुलको रेखदेख मात्रै गरेर राखेको पुल निर्माणको जिम्मा पाएको थानी/बिएलटी/हिमशिखर कन्ट्रक्सनका प्रतिनिध नरहरी खड्काले जानकारी दिनुभयो ।

‘हामीले लकडाउनमा समेत पुल निर्माण कार्य रोकेनौँ खड्काले भन्नुभयो ‘वैशाखको सुरुमै निर्माण सकिएको पुल वैशाख ९ गते हस्तान्तरणको तयारीमा थियौं, लकडाउनले समस्या ल्यायो, अब पुल हस्तान्तरण गर्न थालेका छौं, तर कार्यालयले शुक्रबार देखी पुल खोल्न भनेको छ ।

खड्काका अनुसार झोलुङ्गे खुल्ला प्रकृतिमा ५७६ मिटर लामो पुल निर्माण नेपालमै पहिलो पटक निर्माण गरिएको हो । यो पुल विश्वकै लामो भएको दाबी गरिएको छ ।सुरुमा एशियाकै लामो रहेको भने पनि सस्पेन्सन बृज डिभिजन कार्यालयको रेकर्डमा खुल्ला प्रकृतिको झोलुङ्गे पुल विश्वभर ४ सय ९८ मिटर भन्दा बढी हाल सम्म निर्माण नभएको इञ्जिनियर हुमाकान्त मिश्रले जानकारी दिनुभयो ।

२०७६ फागुनमै सक्ने भनिएको पुल दुई वटा राजमार्ग माथीबाट लठ्ठा तान्दा समय लागेको थियो । निर्माण कम्पनीले पर्वत र बागलुङ तर्फका दुवै राजमार्गमा रोकावट नहुने गरि चिनियाँ प्रविधिको औजारले लठ्ठा तानेको थियो ।

पुलमा एक साथ ६१२ जना अर्थात ८५ मेट्रिक टन क्षमता रहेको छ । यसले दुई जिल्लाको पर्यटन तथा आर्थिक विकासमा ठुलो टेवा पुग्ने अपेक्षा गरिएको छ । पुलबाट एक घण्टा बढी पैदल यात्रा बाट पुग्न सकिने पाङ १० मिनेटमै पुग्न सकिनेछ । शुरुमा रु.१२ करोड २२ लाख लागत अनुमान गरिए पनि लठ्ठा र लठ्ठा तान्ने मेसिन मन्त्रालयले उपलब्ध गराएपछि रु.६ करोड ९१ लाखमा सम्झौता भएको थियो ।

Leave a Reply