म्याग्दीका मृगौला पीडितले नियमित डायलासिस गर्न जिल्ला बाहिरका सरकारी र निजी अस्पतालमा महँगो रकम तिर्नुपर्ने बाध्यताको अन्त्य भएको छ । बेनी अस्पतालमै आइबतारदेखि डायलासिस सेवा सुरू भएपछि बिरामीलाई जिल्ला बाहिर जानुपर्ने झन्झटको अन्त्य भएको हो ।

गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले बेनी अस्पताललाई डायलासिसका लागि आवश्यक उपकरण सहित तालिम प्राप्त चिकित्सक र स्वास्थ्यकर्मीले आइतबार दुई मृगौला पीडितले सेवा लिएका छन् ।

गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनको विषेश पहलमा उपलब्ध गराएको ४ वडा मेसिन र प्रवासी म्याग्देलीले दिएको दुईवटा मेसिन रहेको अस्पतालमा हेमोडायलासिस युनिटको सेवा शुभारम्भ भएको बेनी अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कुटवालले बताउनुभयो ।

यूनिटमा २ चिकित्सक, ४ जना स्टाफ नर्स कार्यरत छन् । डायलासिस युनिटलाई प्रभावकारी बनाउन आवश्यक पूर्वाधार तथा ब्यवस्थापनमा गण्डकी प्रदेश सरकारबाट प्राप्त बजेट बाहेक अस्पतालको आन्तरिक स्रोतलाई समेत परिचालन गरिएको छ । पहिलो चरणमा ३ वटा बेड सञ्चालन गरिएको छ ।

एकदिनमा ६ जना बिरामीले सेवा लिन लिन्छन् । ६ वटा मेसिनबाट दुई सिफ्ट मात्रै १२ जना बिरामीलाई दैनिक सेवा दिन सकिने भएपनि तत्काल दुईवटा पुरानो मेसिन भएकाले सञ्चालनका लागि केही उपकरणको अभाव रहेको बेनी अस्पतालका प्रमुख डा.अमृत अधिकारीले बताउनुभयो ।

जिल्लामै डायलासिस सेवा आउने भएपछि हालसम्म१५ जना सम्पर्कमा छन्। डा. अधिकारीका अनुसार परीक्षण सेवाको रुपमा केहीदिन सञ्चालन गरिने र औपचारिक उद्घाटन गरी सेवालाई थप प्रभावकारी बनाउने बताउनुभयो ।

मिर्गौलापीडित बिरामीहरु अधिकांसको न्यून आर्थिक अवस्थाका हुने भएकाले यातायात, खानबस्ने खर्चको अभावमा गाउँमै रोग पालेर बस्न बाध्य भएको अवस्थामा डायलासिस सेवाले सहज भएको मृगौला पीडित पार्वती विकले बताउनुभयो । ‘यो सेवाले सहज भएको छ, अव धेरै बाँच्ने आशा पलाएको छ’ विकले भन्नुभयो ।

म्याग्दीका मृगौला पीडितले प्रत्यारोपण बाहेकको सेवा जिल्लामै पाउने भएपछि मृगौला प्रत्यारोपण गरेकाले समेत प्रचारप्रसार गर्ने बताएका छन् । बागलुङको ताराखोला घरभई हाल पर्वत बेनीमा लिलाकान्त कँडेलले यातायात सहितको खर्चमै धेरै हुने गरेको अवस्थामा नजिकै सेवा पाएपछि ज्यानलाई समेत धेरै सहज हुने बताउनुभयो ।

आर्थिक अभावका कारण डायलासिसका लागि जिल्ला बाहिर जान नसक्ने बिरामीले मृत्यु पर्खेर बस्नुपर्ने बाध्यता थियो ।आर्थिक अवस्था कमजोर भएकाहरूले यो सेवाबाट बढी लाभ लिन पाउनेछन् । मृगौला रोगका बिरामीको किड्नी फेल भएपछि डायलासिस सेवा लिन जरुरी छ ।

साविकको धौलागिरी अञ्चलका चार जिल्लामध्ये क्षेत्रीय अस्पताल बागलुङ र पर्वत अस्पतालमा यसअगाडी नै सेवा सञ्चालन भइसकेको छ । बेनी अस्पतालमा सेवा सुरू भएपछि छिमेकी मुस्ताङ जिल्ला र पर्वतको जलजला गाउँपालिकाका बिरामीलाई समेत सहज हुने छ।

मृगौलाका बिरामीले हप्ताको १ देखि जटिलता हेरेर ४ पटकसम्म डायलाइसिस गराउनुपर्ने हुन्छ । निजी अस्पतालमा एकपटक डाइलासिस गराउँदा यातायात, खानाबस्न सहित गरी ८ हजार भन्दा बढी रूपैयाँसम्म खर्च हुन्छ । म्याग्दीमा बर्षेनी ठूलो संख्यामा मृगौला रोगी देखिने गरेका छन् । गण्डकी प्रदेशमा म्याग्दी धेरै मृगौला पीडित भएको जिल्लाको रुपमा समेत चिनिन्छ ।

Leave a Reply