---Advertisement---

दिवंगत आफन्तजनहरूको सम्झनामा बेनीमा गाईजात्रा (फोटो फिचर)

On: August 4, 2020 10:00 AM
Follow Us:

कोरोना भाइरस (कोभिड–१९) को जोखिमलाई मध्यनजर गरी म्याग्दीको सदरमुकाम बेनीमा दिवंगत आत्माको शान्ति कामनाका लागि सपारु (तयामचा) नागनागिनी नाच देखाइएको छ । नेपाल भाषा मंका खलको आयोजनामा हरेकबर्षको जनैपूर्णिमादेखि दुईदिनसम्म बेनीबजारमा बर्षभरी दिवंगत भएका ब्यक्तिहरूको सम्झनामा बेनीबजारका विभिन्न स्थानमा देखाइने नाच यसबर्ष कोरोना संक्रमणको जोखिमले लक्ष्मीनारायण मन्दिर भित्र नेवारी समुदायको विधि अनुसार पूजा गरी सम्पन्न गरिएको ल्यामपुचका अध्यक्ष सुविन श्रेष्ठले बताए ।

‘बर्खेनाचको सबैभन्दा महत्वपूर्ण दिन हो,‘भोली दिवंगत हुनुभएकाको घरघरमा तयामचा पुर्याएर सम्पन्न हुन्छ’ श्रेष्ठले भने ।

एकमहिने बर्खेनाच अन्तरगत महत्वपूर्ण मानिएको गाईजात्रा अन्तरगत बेनीबजारमा रहेका नेवार समुदायका अगुवाहरूको उपस्थितीमा जनैपूर्णिमा तथा क्वाटी पुन्हीको दिन तयामचा(सापरु) र भोलिपल्टसम्म नागानागीनी नाच देखाउने चलन रहेको छ ।

बेनीबजारमा नेपालका विभिन्न जिल्लाबाट बसाईसराई गरेर आएका नेवार समुदायले आफ्नो सांस्कृतिक महत्वलाई समेत संगै ल्याएर आएको अवस्थामा नागानागिनी नाचको इतिहास करिव ३ सय बर्ष भन्दा पुरानो रहेको पाइन्छ ।हारमोनियम, ¥याली, मृदड लगाएतका पुराना बाजाहरूको प्रयोगसँगै राजमति गित गाउने गरिन्छ ।

हिन्दुधर्मलम्बीले गरुड पुराणमा उल्लेख गरे अनुरुप एक वर्ष सम्म बन्द गरेर राख्ने यमलोकको ढोका सोहीदिन मात्र खोल्ने भएकोले त्यस दिनमृतकका परिवारले मृतकको नाममा विधि पूर्वकपूजा गरेर मठ मन्दिर,चैत्य, गुम्बा घुम्यो भने शिवालोक प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास समेत रहेको नेपाल भाषा मंका खल म्याग्दीका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताए । ‘यसबर्षको तालिकामा हेरफेर गरेका छौ,‘कोरोनाको जोखिमबाट जोगिदैं संस्कृति संरक्षणको अभियानमा छौ’श्रेष्ठले भन्नुभयो । उहाँले मृत आत्मासँग सम्बन्धित नाच भएकाले विधि अनुसार पूजा गर्न भेला हुनुभएकालाई मास्क अनिवार्य गरिएको श्रेष्ठको भनाई छ । नेवार समुदायले सापरू तथा गाईजात्रालाई एउटा महत्वपूर्ण दिनको रुपमा समेत लिने गर्दछन् । बर्खेनाचका अन्य गतिविधिमा सहभागी नहुने बजारमा बुढापाका समेत मन्दिरमा भेला भएर दिवंगतको आत्मको शान्तिको कामना गरेका थिए । गाईजात्रा को मुख्य अभिप्राय यमलोकमा रहेका बैतर्नी खोला पार गर्ने भएको नेवार समुदायका अगुवाहमा प्रत्यक मृतकका घरबाट एक जोडी पुरुष मध्ये एक जना पुरुष र अर्को महिला बनाएर पठाइने चलन छ ।

मुकुण्डो लगाएको नागा र महिलाको भेषमा नागिनीको नाच निकै आर्कषक मानिन्छ । नागाको र महिलाको भेषमा प्रर्दशन गरिन्छ । महिला हुनेलाई बिशेष श्रृंगार गरिन्छ । मृतकका आफन्तले आफ्नो अगाडी सापारू आउनेलाई बिशेष रुपले स्वागत समेत गर्ने गर्दछन् ।बेनीमा एकबर्षभित्र स्वर्गारोहण भएका नेवार समुदाय बाहेक अन्य समुदायको घरअगाडी समेत देखाउने गरिन्छ ।

सापारू र गाईजात्रालाई सामुहिक पृत्रिलाई सम्झने दिनको रुपमा समेत लिने गरिएको छ । नेवार समुदायको अगुवाईमा हुने नाचमा अन्य जातजातिको समेत सहभागिता हुन्छ । बेनीबजारमा दिवंगत गैर नेवार समुदायको घरअगाडी समेत विषेश सम्झना गर्ने गरिएकाले बेनीबजारबासीले नागानागिनी नाचलाई एक समुदायको मात्रै नाचको रुपमा हेर्ने गरेका छैनन् ।

हरिकृष्ण गौतम

हरिकृष्ण गौतम बेनीअनलाइनका संस्थापक सदस्य हुनुहुन्छ।