मिर्गौलाको नियमित डायलासिस गर्नुपर्ने रघुगंगा गाउँपालिका–१ बेगखोलाकी पार्वती विक हप्तामा दुईपटक ट्याक्सी रिजर्भ गरेर अस्पताल पुग्नु पर्ने बाध्यता रहेको थियो । आर्थिक रुपमा अति विपन्न विकले तीनबर्षदेखि बागलुङ र पोखराको अस्पतालमा डायलासिस सेवा लिन निकै सास्ती खेप्नुपर्यो ।

चन्दा र विभिन्न माध्यमबाट संकलन गरेको आर्थिकले ट्याक्सी, सार्वजनिक गाडीमा भाडा तिदैं सकिने अवस्थाले चिन्तित विकले आइतबार बेनी अस्पतालमै पहिलोपटक डायलासिस सेवा लिईन् । जिल्लामै पहिलोपटक सुरु भएको सेवा लिने उनी पहिलो बिरामी समेत भईन् ।

उनले अव धेरै समय बाँच्न सकिने भन्दै उत्साहित भईन् । ‘यातायातको साधनमा आवतजावत गर्दा नै निकै समस्या हुन्थ्यो,‘यो सेवाले आधा रोग सन्चो भएजस्तो भएको छ’ उनले भनिन् । मृगौला खरावी भएपछि उपचारमा उनले भोग्नुपरेको झन्झट र सकसलाई विर्सिदै अव नियमित आफ्नै अस्पतालबाट सेवा लिने विकको भनाई छ ।

विकजस्तै बागलुङको ताराखोला गाउँपालिका घर भई हाल पर्वतबेनीमा बस्दै आएका लिलाकान्त कँडेलले समेत भाडाको सवारी, सहयोगी संस्था र साथीहरुको सहयोगमा बागलुङमा हप्तामा दुईपटक डायलासिस गर्ने गरेको बताए । ‘लकडाउनमा निकै सास्ती भयो,‘ज्यानै जोगाउन सकिन्न जस्तै लागेको थियो,‘अब आफै हिडेर बेनी अस्पतालबाटै सेवा लिन्छु’ उनले भने ।

‘हप्तामा दुईपटक डायलासिस गर्नुपर्छ,‘बेनीमै सेवा सुरु भएपछि धेरै उत्साहित छु’ उनले भने । उनले लडकाउनमा मनकारी यूवाहरुले सवारीसाधनमा निशुल्क अस्पतालसम्म लैजाने गरेको बताए । यूवाहरुको सहयोगमा बागलुङसम्म पुगेको बताउँदै अव घरबाट आफै अस्पतालमा पैदल हिडेर समेत सेवा लिने अवस्था आएको बताए ।

गण्डकी प्रदेशको सामाजिक विकास मन्त्री नरदेवी पुनको पहलमा बेनी अस्पतालमा डायलासिस सेवाका लागि आवश्यक उपकरण सहित बजेट उपलब्ध गराएपछि आइतबारदेखि सेवा सुरु गरिएको अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कुटवालले बताए ।

‘डाइलासिस सेवाका लागि जिल्ला बाहिरका सरकारी र निजी अस्पतालमा महँगो रकम तिर्नुपर्ने बाध्यताको अन्त्य भएको छ,‘सेवालाई प्रभावकारी बनाउन आवश्यक ब्यवस्थापन गरेका छौ’ अध्यक्ष कटुवालले भने ।

मिर्गौलापीडित बिरामीहरु अधिकांसको न्यून आर्थिक अवस्थाका हुने भएकाले यातायात, खानबस्ने खर्चको अभावमा गाउँमै रोग पालेर बस्न बाध्य भएको अवस्थामा डायलासिस सेवाले सहज भएको परोपकारी संस्था ओमकुमारी शान्ति कोषका कार्यालय सचिव एवम् मृगौला प्रत्यारोपण गरेका मंगला गाउँपालिका–१ कुहुँका डकबहादुर रोकाले बताए । ‘उपचारका लागि बाहिर जान नसक्ने अवस्थाका धेरै बिरामी छन्,‘यो सेवाले बिरामीलाई बरदान सावित भएको छ’ उनले भने ।

उनले म्याग्दीका मृगौला पीडितले प्रत्यारोपण बाहेकको सेवा जिल्लामै पाउने भएपछि मृगौला प्रत्यारोपण गरेकाले समेत प्रचारप्रसार गर्ने बताएका छन् । यूनिटमा २ चिकित्सक, ४ जना स्टाफ नर्स कार्यरत छन् । पहिलो चरणमा ३ वटा बेड सञ्चालन गरिएको अस्पतालका प्रमुख डा.अमृत अधिकारीले बताए ।

जिल्लामै डायलासिस सेवा आउने भएपछि हालसम्म १५ जना सम्पर्कमा छन् । ६ वटा मेसिनबाट दुई सिफ्ट मात्रै १२ जना बिरामीलाई दैनिक सेवा दिन सकिने भएपनि तत्काल दुईवटा पुरानो मेसिन भएकाले सञ्चालनका लागि केही उपकरणको अभाव रहेकाले ३ वटाबाट सेवा दिइएको छ ।

मृगौला रोगका बिरामीको किड्नी फेल भएपछि डायलासिस सेवा लिन जरुरी छ । मृगौलाका बिरामीले हप्ताको १ देखि जटिलता हेरेर ४ पटकसम्म डायलाइसिस गराउनुपर्ने हुन्छ । निजी अस्पतालमा एकपटक डाइलासिस गराउँदा यातायात, खानाबस्न सहित गरी ८ हजार भन्दा बढी रूपैयाँसम्म खर्च हुन्छ ।

म्याग्दीमा बर्षेनी ठूलो संख्यामा मृगौला रोगी देखिने गरेका छन् । गण्डकी प्रदेशमा म्याग्दी धेरै मृगौला पीडित भएको जिल्लाको रुपमा समेत चिनिन्छ । सेवाको कोरोनाको जोखिम घटेसँगै गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनले उद्घाटन गर्ने बताइएको छ।

Leave a Reply