धवलागिरि गाउँपालिका–६ मराङ राम्चेकी चनमति लामगाडेका छोरा ओमप्रसादले दशैंमा घरमा आउने योजना बुनेका थिए । परिवारको खुसीका लागि धन कमाउन साउदी अरब पुगेका ओमप्रसादले तालमेल मिलेपछि घरमा आएर चाडपर्व हाँसीखुसी मनाउने भन्दै आमा र श्रीमतिलाई पटक–पटक फोनमा सुनाउने गर्थे। परदेशबाट छोरा आउने खवरले चनमतिले निकै खुसी थिईन् ।

छोरा आउने दिनको पखाईमा रहेका २६ बर्षिया छोरी सुपना लामगादे, ७ बर्षिया नाति आशिस,४ बर्षिया आयुष र ३ बर्षिया नातिनी आयुषलाई गत असार २६ गते बस्ती माथिबाट खसेको पहिरोमा परेर ज्यान गुमाएपछि चनमति अझै सम्हालिन सकिरहेकी छैनन् ।

छोराले विदेश जाँदा जिम्मा लगाएर गएको बुहारी, दुई नाति र एक नातिनीलाई पहिरोमा गुमाएकी चनमति दैनिकजसो भक्कानिन्छन्।

‘छोरा विदेशबाट फर्किदा यो बस्तीमा देखाउने मेरो अनुहार बाहेक केही छैन्,‘दैवले हाम्रो परिवारलाई चुँडेर लग्यो,‘छोराको सपना चकनाचुर भयो’ उनले भनिन्। उनलाई पहिरोले जीवनभरि खुसी नफर्किने चोट, पीडा दिएको छ।

बुबाले विदेशबाट नयाँ कपडा ल्याइदेलान भन्ने आशमा रहेका नातिनातिनासँग पुनः भेट हुन नपाएको भन्दै चनमतिको आँखामा जति पटक पुछे पनि बलिन्धारा आँशु खसिरहन्छन् ।

उनको पीडा सुन्न नजिकै पुग्ने सबैको आँखा रसाउँछन् । ‘छोराको नासो पहिरोले लग्यो,‘छोराको फोनमा राम्रोसँग अझै बोल्न सकेकी छैनन्’ चनमतिले आँसु पुच्दै भनिन्। ओमप्रसाद करिब ७ बर्ष गाउँमै बसेको अवस्थामा एक बर्ष अगाडी रोजगारीका लागि साउदी अरब गएका थिए ।

विवाह अगाडी ७ बर्ष विदेशमा विताएका ओमप्रसादले फर्किएर विवाह गरेपछि घरमै बसेका थिए । चनमति जस्तै राम्चे गाउँकी ४६ बर्षिया राजमति सिर्पालीको आँखा अझै ओभाएका छैनन् ।

२४ बर्षिय छोरा बर्षिया मन बहादुर, २३ बर्षिया बुहारी कमला,७ बर्षिया नातिनी सुरक्षा र २ बर्षिय नाति सुरजलाई आँखै अगाडी गुमाएकी राजमति घाईते बुहारी लिएर पोखरा पुगिन् ।

पहिरोले छोरा र छोरीका ८ सन्तानलाई गुमाएकी राजमति गाउँमा फर्किने अवस्था छैन। पहिरोले नामनिसाना समेत मेटिने गरी भत्किएको घर, पाक्न लागेको खेतीपातीसँगै खेतबारी पहिरोमै पुरियो। गाउँमा गएर कमाइँ लाउने खेतबारी र बस्ने घर समेत नभएको अवस्थामा पोखरामा बसेकी छन् ।

धन कमाएर परिवारमा खुसी ल्याउने आशमा विदेशीका अविवाहित माईला छोरा खगिन त्रिपाली फर्किएर क्वारेन्टाइनमा बसेका छन् । ‘घरमा गएर बस्न सक्ने अवस्था छैन,‘ ’जताततै पहिरो छ,‘अब बाँचेकालाई ज्यान गुमाउन जान दिन्न’राजमतिले भनिन् । पहिरोमा जीवित छोरा खगिन, दिपक र सफललाई हेरेर चित्त बुझाउने उनले बताईन् ।

मणिपाल अस्पतालबाट बुहारी मञ्जितालाई थप उपचारका लागि काठमाण्डौको राष्ट्रिय टर्मा सेन्टरमा थप उपचार भइरहेको छ। राजमतिले निष्ठुरी दैवसँग अब केही गुनासो नभएको बताईन् । ‘गरिबको घरमा भगवानको पनि बास हुन्न भन्थे सत्य रहेछ,‘मेरो घरमा सधै दुख र पीडाको मात्रै बास भयो’ राजमतिले बिलौना गर्दै भनिन् । राजमति र चनमति सम्धिनी हुन् ।

मराङका १९ जनाले पहिरोमा ज्यान गुमाएकोमा राजमति र चनमतिको परिवारका मात्रै ८ जना छन् । १२ जना घाईते र दुई जना अझै वेपत्ता छन् । जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कमा मराङमा पहिरोले ७२ घरमा पूर्ण क्षति भएको छ भने गाउँमा बस्ने अवस्था छैन् । विस्थापितले सुरक्षित स्थानमा पुनर्वासको व्यवस्था हुनेमा ढुक्क छन् । बेनी साप्ताहिक पत्रिकाबाट

Leave a Reply