मालिका गाउँपालिका–७, बिम माल्थानका बिरबहादुर नेपाली दिनभरी ज्यामीको काम गरेर घर फर्किएका थिए । गाउँकै अति विपन्न परिवारका बिरबहादुरले ज्याला मजदुरीबाट परिवारको गुजरा चलाउँदै आएका बिरबहादुरलाई गाउँको शिरानमा रहेको झुपडी सबैभन्दा सुरक्षित लाग्थ्यो ।

गएको असार २५ गते बिरबहादुर श्रीमति विष्णु, ५ बर्षिय छोरा सन्देश र २ महिनाकी छोरी निशासँगै भुईमा सुतेका थिए । मुसलधारे वर्षासँगै घरमाथिको पहाडबाट ढुंगामाटो सहितको पहिरो आएर पुर्दा चारैजनाको एकै चिहान भयो ।

कल्पनै नगरेको ठाउँमा पहिरो खसेर बिर बहादुरको परिवारले ज्यान गुमाएपछि शव निकालेर अन्तेष्टी गरिएपनि घर आसपासमा पुग्ने स्थानीयलाई भाबुक बनाउने गरेको छ ।

शव निकालिएको ठाउँमा पानी थुप्रिएको छ भने नजिकै सुत्दा प्रयोग गरिएको झुल, थोत्रा कपडाको टुक्रा, जस्तापाता, गुन्द्री भेटिन्छ ।नजिकै रहेको पानीको धारा नजिकै जेब्रा ब्यागमा कपडा राखिएको छ ।

एउटै खाल्डोबाट चारजनाको शव निकाल्दा विष्णुको काखमा बेरिएको अवस्थामा २ महिने शिशुलाई निकालिएको हिराजित स्मृति क्लवका अध्यक्ष प्रेम जुग्जालीले बताए । ‘बच्चालाई जोगाउन खोज्दा चारैजनाको मृत्यु भयो,‘विहान साढे ६ बजेतिर पहिरो गएको थियो,‘तत्कालै उद्धारमा आउँछा जिवितै भेटाउन सकिएन’ जुग्जालीले भने । सुतिरहेको अवस्थामा पुरिएका बिरबहादुरको परिवारको शब निकालेको खाल्टो । तस्वीर हरिकृष्ण गौतम

भिषण बर्षामा २ महिने शिशुलाई बर्षाबाट जोगाउन घरभित्रै बसेको अनुमान स्थानीयको छ । क्लवका अध्यक्ष जुग्जाली सहितको टोलीले अर्को घरमा ‘बचाउ बचाउ’ भन्दै चिच्याइरहेका पूर्णबहादुर नेपालीलाई जिवितै उद्धार गरेका थिए।

Video link: https://youtu.be/o6igpZ0iHpo

पहिरोमा पुरिएरका पूर्णबहादुरलाई जोगाउन सफल भएपनि उनका श्रीमति गौदेवी र छोरा विषेश नेपालीको ज्यान गइसकेको थियो । खुट्टा र ढाडमा चोट लागेको अवस्थामा उद्धार गरी पूर्णबहादुरलाई पोखरा पठाइएको थियो ।

‘मैले कसरी ज्यान जोगाए, मलाइ नै थाहा छैन,’ उनले भने, ‘कहिल्यै नखसेको ठाउँमा पहिरोले मेरो सबै सखाप बनायो, परिवारै गुमाएर म एक्लै कसरी बाँचु ?’ भावविह्वल हुँदै उनले भने ।

दुई घरलाई पहिरोले पुरेको जानकारी पाएपछि अर्को घरमा रहेका लालमायाँ र श्रीमान बिरबहादुर नेपालीले भागेर धन्न ज्यान जोगाए । ‘पहिरो आएको संकेत पाएपछि ज्यान जोगाइयो,‘घर बस्ने लायकको छैन’ उनले लालमायाँले भनिन् । उनले अव त्यो घरमा फर्किर बस्न नजाने बताईन् ।

पहिरोमा ज्यान गुमाएका ६ जनाकै मृतक बिरबहादुरका कान्छा बुबा चाउरे नेपालीले काजकिरिया गरेर विस्थापित जिवन विताइरहेका छन् । बिरबहादुरले दुई महिने छोरीलाई निकै मायाँ गर्थे । छोरी जन्मिएपछि आफन्तकोमा गएर समेत खुसीको खवर सुनाएको लालमायाँले बताईन् ।

पहिरोको संकेत समेत नपाएका ६ जनाको एकै ठाउँमा ज्यान गएको वडा अध्यक्ष रेशमबहादुर जुग्जालीले बताए।‘पहिरोबाट जोगिन सचेतनाको आवश्यकता देखियो,‘सावधानी अपनाउन नसक्दा ज्यान गएको छ’जुग्जालीले भने।

उनले बिममा ज्यान गुमाएका ८ जना र बेपत्ता १ मा अधिकांसले तत्काल सावधानीमा हेल्चेक्राई गरेको अवस्थामा बाढीपहिरोबाट जोगिन आवश्यक सचेतनामुलका कार्यक्रममा जोड दिनुपर्ने अवस्था आएको उनले बताए ।

भूकम्पबाट जोगिने उपाय जस्तै सर्वसाधारणलाई बाढीपहिरोबाट जोगिन आपतका्लिन तयारी तथा सुरक्षित स्थानमा जादाँ अपनाउन सकेमा ज्यान जोगिने वडा अध्यक्ष जुग्जालीको भनाई छ । म्याग्दीमा बर्षेनी चट्याङ र बाढीपहिरोबाट जोगिन सामान्य सावधानीका बारेमा समेत पूर्व जानकारी नहुदाँ ज्यान गुमाउने गरेका छन् । बेनी साप्ताहिक खवर पत्रिकाबाट

 

Leave a Reply