म्याग्दीको धवलागिरी गाउँपालिका–६,मराङमा बाढीपहिरोले भत्काएको पदैलमार्ग स्थानीय डाँफे यूवा क्लवले मर्मत सुरु गरेको छ । पहिरोस्थलबाटै ज्यानको जोखिम मोलेर हिड्नुपर्ने अवस्थालाई मध्यनजर गरी क्लवको पहलमा पैदलमार्ग मर्मतको काम सुरु गरिएको हो ।

गत असार २६ गते पहिरोले पैदलमार्ग समेत छियाछिया भएपछि क्लवको पहलमा मर्मत सुरु गरिएको क्लवका अध्यक्ष पूर्ण गर्बुजाले जानकारी दिनुभयो ।

‘आवतजावतमा सहज र खच्चडमार्फत सामान ढुवानीका लागि मर्मत सुरु गरिएको छ,‘बाटो जोखिम भएकाले हिड्न समेत मुस्किल थियो’ गर्बुजाले भन्नुभयो ।

क्लवले मालिका गाउँपालिका–७, बिमको लुर्वाङदेखि मराङसम्मको बाटो मर्मत गरेको छ । बुधबार दरबाङबाट खच्चडमा सामान ढुवानी गर्ने जनाइएको छ । पदमार्ग मर्मतमा वडा अध्यक्ष राजाराम सुबेदीले समेत यूवा क्लवसँगै श्रमदान गर्नुभएको थियो ।यूवाको टोलीले मराङको पहिरोग्रस्त कल्लेनीबाट मराङसम्म पुग्ने पैदलमार्ग समेत मर्मत गरेको छ भने बिमबाट अर्गलासम्मको सडक समेत मर्मत गरेको वडा अध्यक्ष सुबेदीले बताउनुभयो । ‘यूवाहरुको सक्रियताले सहज भएको छ,‘पैदलमार्गलाई थप ब्यवस्थित बताउँछौ’ अध्यक्ष सुबेदीले भन्नुभयो ।

मराङको पहिरोग्रस्त सबै बस्तीमा जाने बाटो रोकिएपछि यूवाहरुको सक्रियतामा धमाधम मर्मत सु्रु गरिएपछि स्थानीयलाई आवतजावतमा सहज भएको छ । पहिरोले पैदलमार्ग भत्काएपछि खाद्यान्न ढूवानीका लागि छिमेकी रघुगंगा गाउँपालिका–६ पाखापानी हुदै जंगलको बाटो खच्चडमा मल्कवाङ हुदै लैजानुपर्ने बाध्यता रहेको थियो ।

पहिरोले मराङका विभिन्न बस्तीमा २१ जनाले ज्यान गुमाएका थिए भने २ जना बेपत्ता छन् । वडाभित्र करिब १७ हजार जनसंख्या रहेकोमा २१ घर पहिरोले पुरिदिएको छ भने २ सय २ घर उच्च जोखिम, ४० घरपरिवारले विस्थापित जिवन विताइरहेका छन् । करिब ४ सय घरधुरी रहेको मराङमा खानेपानीको समेत अभाव छ ।

Leave a Reply