कालीगण्डकी नदीमाथि निर्माण गरिएको बागलुङ–पर्वत जोड्ने नेपालकै लामो झोलुङे पुल सर्वसाधारणलाई खुला गरिएको छ । गत शुक्रबारदेखि विश्वकै लामो दावी गरिएको झोलुङ्गे पुल तर्नको लागि खुला गरे पछि पुल अवलोकन तथा ओहोर दोहोर गर्नेहरुको दैनिक भिड लाग्न थालेको छ ।

विश्वकै लामो झोलुङ्गे पुल दावी गरिए पनि तथ्य जुट्न र पुष्टि हुन बाँकी छ । बागलुङ नगरपालिका–१ रामरेखा र कुश्मा नगरपालिका–१ पाङ अदुवाबारी जोड्ने ५ सय ६७ मिटर लामो सर्वसाधारणको लागि खुला गरे पछि पुल हल्लिएको गुनासो बढ्न थालेको छ ।

कालिगण्डकी नदीमाथिको आकाशमा निर्माण भएको पुल तर्ना पाउँदा निकै खुःसी लाग्यो पुलमा भेटिएका निर्मल थापाले भने–‘ अन्य पुल भन्दा यो पुल अलि बढी नै हल्लिएको हुँदा तर्ने बेलामा असहज भयोे ।’

थानी÷बिएलटि÷हिमशिखर जेवी निर्माण कम्पनीले २०७५ साल चैत्रबाट निर्माणको काम सुरु गरेको थियो । पुल निर्माणको जिम्मेवारी लिएको कम्पनीले सम्झौता अवधि भन्दा तीन महिना अघि गत बैशाख महिनामा निर्माण कार्य सम्पन्न गरेको थियो । पुल निर्माणको सम्झौता अवधी २०७७ असार मसान्तसम्म रहेको थियो ।

कालिगण्डकी नदिमाथि बन्दै गरेको झण्डै एक सय ३० मिटर अग्लो झोलुङ्गे पुल हल्लिएकोको गुनासो आए पनि निर्माण कम्पनीले थप बलियो र नहल्लिने बनाउन पुलको छेउछेउ भागका थप तार (टाई) थप्ने काम सुरु गरेको निर्माण कम्पनीका प्रतिनिधि ठेकेदार नरहरी खडकाले जानकारी दिए ।

पुलको दुवै पट्टि छेउछेउ भाग बढी हल्लिएको गुनासो आएको छ ठेकेदार खडकाले भने–‘नमुना परियोजना भएकाले यसलाई थप मजबुद बनाउन शनिबारदेखि तार बाँध्ने ब्लक निर्माणमा जुटेका छौँ । ब्लक निर्माण सकिए पछि २३ र २४ गते दुई दिन पुल बन्द गरेर टाई कस्ने काम गर्ने खडकाको भनाई छ ।

‘यति लामो पुल पहिलो पटक निर्माण गरेको हो’ उनले भने थप टाई प्रयोग गर्दा पनि पुल हल्लि रह्यो भने डिजाईनर बोलाएर सुधार गछौँ ।’ झोलुङ्गे पुल निर्माण भए पछि बागलुङ–पर्वत जाने एक घण्टा बढीको यात्रा करिव दश मिनेटमा छोटिएको छ । पुल बलियो भए पछि मात्रा स्थानीय तहलाई पुल हस्तान्तण गर्ने ठेकेदार खडकाले बताए । पुलले एकसाथ ६१२ अर्थात ८५ मेट्रिकटन लोड धान्न सक्छ । Source: khabarway.com

Leave a Reply