म्याग्दीमा समुदायमा कोरोना संक्रमणको अवस्था परीक्षणका लागि नमूना स्वाब संकलन कार्य सुरु गरेको छ। लकडाउन खुलेसँगै कोरोना फैलिरहेको जिल्लाबाट आवतजावतको बढेसँगै समुदायस्तरमा कोरोना फैलिएको हुनसक्ने जोखिमलाई मध्यनजर गरी पहिलो चरणमा १ सय जनाको स्बाब संकलन सुरू गरिएको हो ।

कोभिड–१९ कमाण्ड पोष्टका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले पहिलो चरणमा ट्याक्सी चालक, भिडभाड हुने सरकारी कार्यालय, होटल तथा रेष्टुरेन्टमा फ्रन्ट लाइनमा काम गर्ने कर्मचारी, बैंक कर्मचारी, मेडिकल पसल संचालक, स्वास्थ्यकर्मी, प्रहरी, पत्रकार, व्यवसायीलगायत विभिन्न क्षेत्रमा खटिएहरुका साथै कोरोना संक्रमति निको भएर फर्किएका स्थानहरुमा नमुना स्बाब लिने बताउनुभयो ।

‘समुदायको स्बाब संकलनलाई निरन्तरता दिन्छौ,‘केही जोखिम ठाउँमा स्बाब लिने काम सुरु भएको छ’ प्रजिअ ढकालले भन्नुभयो । यो परीक्षणबाट समुदायमा कोरोना संक्रमणको अवस्था के छ भन्ने प्रारम्भीक जानकारी समेत मिल्ने भएकाले टोली परिचालन गरिएको प्रजिअ ढकालको भनाई छ ।

जिल्लाको बेनी नगरपालिका सहित ६ वटै स्थानीय तहमा नमूना स्वाब संकलन गरिने जनाइएको छ । स्वाब संकलनको परीक्षण रिर्पोटपछि मास परीक्षण गर्ने वा कन्ट्याक्ट ट्रेसिङको आधारमा परीक्षण गरिने प्रजिअ ढकालले बेनीअनलाइनलाई बताउनुभयो ।कन्ट्याक्ट ट्रेसिंगका आधारमा परीक्षणलाई समेत प्राथमिकता दिइएको छ ।

यसैबीच कोरोनाको जोखिम बढ्दै जान थालेपछि घरबाट निस्कदाँ मास्क लगाउने, सामाजिक दुरी कायम गर्ने, भिडभाड नगर्ने, सेनिटाइजरको प्रयोगमा समेत ध्यान दिन अनुरोध गरिएको छ । बेनीबजारमा मास्क नलगाउनेलाई प्रहरीले नियन्त्रणमा लिएर धमाधम कारवाही समेत सुरु गरेको छ ।

Leave a Reply