म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटमा गए राती आएको बाढीले ठूलो क्षति पु¥याएको छ । बेनी नगरपालिका ३ तोराखेतमा मूल रहेको आप्रे छहरोको बगरफाँटको बन क्षेत्रबाट आएको बाढीले कुरुङ्दी,जलकेनी,जरुवा लगाएतका क्षेत्रमा खेत र पाखो बगाउनुका साथै दुधेखोला-बगरफाँट सिंचाइ नहर र खानेपानीको पाइप समेत बगाएको छ ।

गए राती ११ बजेदेखि शुरु भएको भीषण वर्षाका कारण आप्रेछहो,खहरेखोला लगाएतका क्षेत्रमा बाढी आएर ठूलो क्षति भएको र क्षतिको एकिन विवरण संकलन भैरहेको बगरफाँटका स्थानीयवासी तथा नेपाली कांग्रेस म्याग्दीका सचिव क्या. मीनबहादुर कार्कीले बताउनुभयो ।

‘तोरोखेतको पहिरोका कारण यस क्षेत्रमा आउने बाढीले वर्षेनी दुःख दिने गरेको छ ’ क्या. कार्कीले भन्नुभयो ‘यसको उचित व्यवस्थापनका लागि नगरपालिका लगाएत सम्वन्धित निकायले बेलैमा ध्यान दिन आवश्यक छ।’ त्यसैगरी नेकपाका नेता तथा स्थानीयवासी चन्द्रबहादुर घिमिरेले गए राती आएको बाढीका कारण जलकुनी र जरुवा क्षेत्रमा उच्च जोखिम बढेको बताउनुभयो । ‘ठाडो खोलाबाट आएको बाढी बेनी–बगरफाँट–सुर्केमेला–बरंजा सडकको जरुवा खण्डहुँदै गाउँतर्फ सोझियो भने जरुवा क्षेत्रका १० बढी घर र सयौं रोपनी खेतीयोग्य जमिन उच्च जोखिममा पर्ने उहाँले बताउनुभयो ।

बगरफाँटका कृषक मीनबहादुर घिमिरेले राती आएको बाढीले आफ्नो २ रोपनी खेतमा कटान गरेर क्षति पु¥याएको र सिंचाइ कुलो नजिकै रहेको आफ्नो पुरानो घर पनि उच्च जोखिममा परेको बताउनुभयो ।
खहरेखोला,कुरुङ्दी,गुठी र बालधारा क्षेत्र पनि उच्च जोखिममा भिरालो भू–बनोट,कमजोर जमिन र पानीको निकास नहुँदा बगरफाँट गाउँ नै बाढी,पहिरो र नदी कटानको उच्च जोखिममा परेको छ ।शिरानमा भीर र पुछारमा म्याग्दी नदीको कटानका कारण साघुरिँदै गएको बगरफाँट पछिल्ला केही वर्षयता अत्यन्त जोखिमयुक्त गाउँको रुपमा चिनिन थालेको छ । पहिरोका कारण बगरफाँटको गुठी क्षेत्र,कुरुङ्दी,खहरेखोला र बालधारा उच्च जोखिममा रहेका भू–संरक्षण इकाय कार्यालयको तथ्याङ्क छ ।

गत असार २५ गते यता बगरफाँटमा पहिरो र नदी कटानले ठूलो क्षति पु¥याएको भएपनि सम्वन्धित निकायको ध्यान जान सकेको छैन ।वडाका जनप्रतिनिधिले निरिक्षण गरेर क्षतिको सामान्य तथ्याङ्क संकलन गर्नुबाहेक बाढी पहिरो रोकथामका लागि कुनै पहल हुन नसकेको स्थानीयले बताएका छन् ।

जथाभावि खनिएका मोटरबाटोले निम्त्यायो विनास : न बजेटको जानकारी,न मर्मतको आस
नेतै नेताको गाउँ भनेर चिनिने बगरफाँटमा पछिल्लो समयमा बेथीति र निरंकुशतावादी प्रवृति चरम रुपमा मौलाउँदै गएको छ । केही सीमित व्यक्तिहरुको मिलोमतोमा बगरफाँटमा हुने गरेका विकास निर्मााणका कामहरुमा स्थानीय युवाहरुको आपत्ति रहेने गरेको छ ।

युवाहरुका अनुसार बगरफाँटमा आउने योजना,बजेट र हुनेकामहरु केही व्यक्तिका तजविजमा भरपर्ने गरेका र उनीहरुले कानुनी प्रक्रियालाई व्यक्तिगत सम्पर्कका माध्यमद्धारा मिचेर फाइदा लिने गरेका बगरफाँटका युवाहरुको भनाइरहेको छ ।

स्थानीय एक युवाले नाम सार्वजनिक नगर्न अनुरोध गर्दै भने ‘यहाँ न सार्वजनिक भेलामार्फत उपभोक्ता समिति गठन हुन्छन्, न कुनै योजनाको बजेट कति हो भन्ने कुरा थाहा दिइन्छ, न योजना सम्पन्न भएपछि सार्वजनिक रुपमा जानकारी गराइन्छ,एकाध व्यक्तिहरुको मनपरीले चलेको छ गाउँ ।’ती युवाका अनुसार बगरफाँटमा विगत १० वर्षयता आएको बजेटको तुलनामा विकास निर्माणका कामको मूल्याङ्कन गर्ने हो भने उदेक लाग्दो परिणाम देखिन्छ ।

बाढीले बगाएको बाटो मर्मत नहुँदा १० दिनदेखि यातायात ठप्प
केही दिन अघि कोटखोला र खहरेखोलामा आएको बाढीले बगाएर क्षति पु¥याएको हाडेभीर–बगरफाँट–सुर्केमेला–बरंजा सडक मर्मत गर्न नसक्दा बेनीदेखि बगरफाँट हुँदै भकिम्ली,सुर्केमेला,बरंजा लगाएतका गाउँहरुमा जाने यातायात सेवा पूर्ण रुपमा ठप्प भएको छ ।

सदरमुकाम बेनीबजारसंगै जोडिएको र नेकपा र नेपाली कांग्रेसका जिल्ला स्तरीय नेताहरुको बसोबास रहेको बगरफाँट गाउँमा विग्रिएको मोटरबाटोको सामान्य मर्मत समेत गर्न नसकेर १० दिनदेखि यातायात सेवा ठप्प रहनुलाई स्थानीयले मात्रै होइन वरपरका गाउँका मानिसले समेत आश्चर्य मानेका छन् ।

बेनी नगरपालिका क्षेत्रका अन्य ठाउँमा विग्रिएका ग्रामिण सडकहरु मर्मत भै यातयात संचालन भैसकेको अवस्थामा यहाँको मोटरबाटो मर्मतका लागि पहल भएको भनिए पनि १० दिन वित्दासमेत नगरपालिकाले टेरपुच्छर लगाएको छैन ।

Leave a Reply