पश्चिम म्याग्दी जोड्ने बेनी–दरवाङ सडकखण्ड अन्तरगत फाँपरखेतमा गएरातीको बर्षाले अवरुद्ध भएको सडक स्थानीय यूवाको पहलमा पन्छाएसँगै अवरुद्ध सडक सञ्चालनमा आएको छ ।

बेनपा–४ तातोपानी र मंगला गाउँपालिका–२ सिमलचौर जोड्ने फाँपरखेतमा बाढीले सडक अवरुद्ध भएपछि क्लवका यूवा र सिमलचौरका यूवाहरुको समेत सक्रियतामा करिब ३ घण्टाको मर्मतपछि सडक सुचारु भएको हट स्प्रिङ यूथ क्लवका संरक्षक कुमार केसीले जानकारी दिनुभयो । ‘यूवाहरुको सक्रियतामा अवरुद्ध सडक खुलेको छ,‘बर्षालगत्तै सडक अवरुद्ध हुन्छ’ केसीले भन्नुभयो ।

तातोपानी प्रहरी चौकीका जवानले समेत यूवाहरुलाई साथ दिएका थिए । अवरुद्ध सडक पन्छाउन यूवा क्लवले असार यता करिब ५ पटक श्रमदान गरेको क्लवले जनाएको छ । यसअगाडी प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल सहितको उपस्थितीमा समेत दुईदिनसम्म श्रमदान गरी सडक खुलाएको क्लवका अध्यक्ष पदम बानियाँले बताउनुभयो ।

पहिरो पन्छाउनका लागि क्लवले आवश्यकता अनुसारको श्रमदान गर्न तयार रहेको जनाएको छ । २४ किलोमिटरको सडकखण्ड हुदै बेनी नगरपालिका, मंगला, मालिका र धवलागिरी गाउँपालिकाको साथै बागलुङ र रुमुक जिल्लाका बासिन्दाले समेत प्रयोग गर्छन् ।

Leave a Reply