म्याग्दीको धवलागिरी गाउँपालिकाकी गर्भवती महिलालाई हेलिकप्टरबाट उद्धार गरिएको छ । सुत्केरी हुन नसकेको अवस्थामा वडा न ७ धारापानी निवासी २३ वर्षीया फुलमायाँ सुनारलाई प्रभु हेलिकप्टरबाट उद्धार गरी पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा लगिएको छ ।

महिलालाई सुत्केरी व्यथा लागेपछि ताकम स्वास्थ्य चौकीमा उपचार सम्भव नभएपछि गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनको पहलमा तत्काल उद्धार गरी पोखरा पठाइएको गाँउपालिका उपाध्यक्ष रेशम छन्त्यालले बताउनुभयो ।

सडकमार्गबाट बेनी अस्पतालसम्म ल्याउन समस्या भएपछि हेलिकप्टरमार्फत उद्धार गरिएको उपाध्याक्ष छन्त्यालको भनाई छ ।‘दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धारसम्बन्धी कार्यविधी २०७५’ अनुसार हेलिकप्टरबाट निशुल्क उद्धार गरिएको गाउँपालिकाले जनाएको छ ।

उद्धारको क्रममा पूर्व महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममायाँ थापा समेत ताकम पुग्नुभएको थियो । दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुका लागि हवाई मार्फत् उद्धारको अभियान पूर्वमन्त्री थापाको कार्यकालमा सुरु भएको थियो ।

लगातार लामो प्रसव व्यथा लागेका, बच्चा जन्मिन कठिनाई भएका, गर्भमा नै बच्चाको मृत्यु भएको, गर्भवस्थामा हात खुट्टा शरीर सुन्निएको, अधिक रक्ताश्राव भएको, रक्त अल्लपता भएका महिलालाई निस्शुल्क हवाई उद्धार गरिन्छ । म्याग्दीमा सरकारी तथा निजी लगानीमा यसअगाडी समेत धेरै गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

Leave a Reply