म्याग्दीमा प्राकृतिक विपत्तीमा परेर एक वर्षमा ३८ जनाको ज्यान गएको छ। गएको आर्थिक वर्ष २०७६/०७७ मा म्याग्दी जिल्लामा बाढीपहिरो,चट्याङ र करेन्ट लागेर पछिल्लो आधादशक यताकै सबैभन्दा धेरैले ज्यान गुमाए भने ७ जना बेपत्ता छन्।

प्राकृतिक प्रकोपमा उच्च जोखिमको हिसावले उच्च जोखिमयुक्त जिल्लामा पर्ने म्याग्दीमा गएको असार महिनाको २६ गतेको बाढीपहिरोमा जिल्लाको धवलागिरी गाउँपालिका–६ मराङमा १९ जना, मालिका–७ बिममा ८ जनाको ज्यान गुमाएका छन् भने दुवै गाउँपालिकामा पहिरो र खोलाले बगाएर ४ जना बेपत्ता, १२ जना घाइते अवस्थामा छन्। ज्यान गुमाउनेमा २ महिने शिशुदेखि बृद्धबृद्धा छन्।

एकैदिन जिल्लामा प्राकृतिक विपत्तीमा ज्यान गुमाउनेको संख्या  ठूला घटना मध्येको एक हो भने आधादशक यताको भयानक क्षति भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीको तथ्याङ्कले देखाउँछ।

गएको एकबर्षमा म्याग्दीमा बाढीपहिरोमा ३४ जनाको मृत्यु, चट्याङमा २, करेन्टले २ जनाको मृत्यु भएको छ भने आगलागी १ जना र १३ जना बाढीपहिरोबाट घाइते भएको प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरले बताए। ‘प्राकृतिक विपत्तीमा हरेक वर्ष ज्यान गुमाउँछन्,‘पछिल्लो आधादशकमा सबैभन्दा धेरै यसवर्ष जनधनको क्षति भएको छ’ प्रनाउ कुँवरले भने।

अत्याधिक बर्षा,भिरालो जमिन,कमजोर माटो र भूमिगत पानी लगायतका कारण हरेक वर्ष बाढीपहिरोको पिरलोले सताइरहने म्याग्दीमा आव आव ७२÷०७३ मा बाढीपहिरोबाट ३ जनाले ज्यान गुमाएकोमा ४ बेपत्ता र विभिन्न प्रकोमा १२ घाइते, आव ७३÷०७४ मा बाढीपहिरोबाट ३ जना, चट्याङले १ जनाको ज्यान गएको छ भने विभिन्न प्रकोपमा परी १७ जना घाइते र एक बेपत्ताको सूचीमा छन्।

आव ७४÷०७५ मा चट्याङबाट १ जनाको ज्यान गएको थियो भने आगलागी र चट्याङबाट १४  जना घाइते र ७५÷०७६ मा करेन्ट लागेर एकजनाको ज्यान गएको छ भने बाढीपहिरोमा ७, चट्याङ ७, करेन्ट लागेर ५ जना घाईते भएको प्रहरीको अभिलेखमा उल्लेख छ। म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बाढीपहिरो प्रमुख प्रकोप भए पनि चट्याङ, करेन्ट लागेर समेत ज्यान गुमाउने गरेको बताए।

‘विपद्को पूर्वतयारी र प्रतिकार्य योजना प्रभावकारी बनाउनुपर्ने अवस्था छ,‘बाढीपहिरोको जोखिमबाट मनसुनको समयमा सधै त्रसित अवस्थामा बस्नुपरेको छ’ प्रजिअ ढकालले भने। बेनी नगरपालिका सहित ५ वटा गाउँपालिकामा रहेका ४५ वडाका बासिन्दा हरेक बर्ष जोखिमको प्रमुख कारण अपनाएको विकासको मोडल नै मानिन्छ।

म्याग्दी र कालिगण्डकी नदी बाहेक नियमित बग्ने साना र खहरे खोलामा तटबन्ध नगर्ने, भिरालो जमिन, कमजोर माटो, बस्तीमाथिका पहाडहरूमा डोजर लगाउने, सडक विस्तारमा जथाभावी माटो फाल्ने प्रबृत्तिले अनपेक्षित बर्षाले बर्सेनि दुःखद प्राकृतिक विपत्ति भोग्नुपरेको सरोकारवाला निकायको भनाई छ। म्याग्दीमा माटो सुहाउँदो विकासभन्दा डोजरे प्रबृत्तिका कारण मानवसृजित विपत्तीले हरेकबर्ष नोक्सानी पु-याउने गरेको छ।

Leave a Reply