दैनिक सयौंपटक हुने अनियमित विद्युत कटौतीको समस्या समाधान नभएको भन्दै म्याग्दी उद्योग बाणिज्य संघले शुक्रबार नेपाल विद्युत प्राधिकरण बेनी वितरण केन्द्रको ध्यानकर्षण गराएको छ।

संघका अध्यक्ष उत्तम कुमार कर्माचार्यको नेतृत्वमा गएको टोलीले पटक–पटक ज्ञापनपत्र सहितको ध्यानर्कषण गराउँदा समेत अनियमित लोडसेडिङ्ग, ट्रिपिङ्ग र लो भोल्टेज समस्या समाधानका लागि प्राधिकरणले कुनै चासो नदेखाएको भन्दै समस्या समाधान नभए कार्यालय तालाबन्दी गर्ने चेतावनी समेत दिएको छ ।

‘विद्युत कम खपत हुने समयमा पनि ट्रिपिङ्गको समस्याले हैरानी खेप्नुपरेको छ,‘यहाँको समस्या समाधानमा कुनै चासो देखाएको छैन’ संघका अध्यक्ष कर्माचार्यले भन्नुभयो । विद्युत आउने–जाने समस्याको तत्काल समाधानका उपाय नखोजे निकट भविस्यमै कार्यालयमा तालबन्दी गरी दवावमुलक कार्यक्रम सञ्चालन गर्ने चेतावनी समेत दिनुभयो ।

हालसम्म दर्जनौ ज्ञापनपत्र बुझाएपनि प्राधिकरणले कुनै सुनवाई नगरेको कर्माचार्यको भनाई छ । साविकको धवलागिरी अञ्चलमा पवर्त र बागलुङको तुलनामा म्याग्दीमा ट्रिपिङ्गको समस्या रहेकाले लोडको आधारमा बेनीबजारमा छुट्टै फिडरबाट विद्युत आपूर्ती गर्न समेत ब्यवसायीले माग गरेका छन् ।

कोरोना भाइरस संक्रमणको जोखिमले सरकारले गरेको लकडाउनको समयमा अत्याधिक विद्युत खपत हुने क्षेत्र बन्द रहेको अवस्थामा समेत ट्रिपिङ्गको समस्या देखिएकाले समस्या पहिचान गरी सुधार नगरे प्राधिकरण बिरुद्धको आन्दोलन चर्काउने संघका पूर्व अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश सदस्य कुविरकुमार श्रेष्ठले चेतावनी दिनुभयो ।

‘म्याग्देली जनतालाई प्राधिकरणले हेपेको छ,‘अव ज्ञापनपत्र होईन्, फरक आन्दोलन गर्नुपर्ने अवस्था आउन सक्छ’ श्रेष्ठले भन्नुभयो । ज्ञापनपत्र बुझद्ै प्राधिकरण बेनी वितरण केन्द्रका प्रमुख ई.माधव महतले म्याग्दी जिल्लामा ३ वटा फिडरबाट विद्युत आपूर्ती भइरहेको अवस्थामा क्षमताभन्दा धेरै लाइन विस्तार गरिएकाले समस्या भएको स्वीकार गर्नुभयो ।

‘समस्या समाधानका लागि प्रयासरत छु,‘फिडर लामो भएकाले समस्या भइरहेको छ’ महतले भन्नुभयो । उहाँका अनुसार पर्वतको मिलनचोक सबस्टेशनबाट ११ केभिबाट पर्वत जलजला, रत्नेचौर क्षेत्रमा १ र बेनीबजार सहित पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिकासम्म १ र उत्तरी म्याग्दी क्षेत्रमा १ गरी तीनवटा फिडर रहेको बताउँदै कुनै ठाउँमा समस्या आए कतौटी हुने समस्या रहेको बताउनुभयो ।

०६२ सालदेखि तीनवटा फिडरबाटै सेवा दिइरहेको अवस्थामा प्रयोगकर्ता र क्षेत्र विस्तार भएपनि क्षमता विस्तार हुन नसकेको प्रमुख महतको भनाई छ ।

प्राधिकरणको क्षमता १ केभिको क्षमता एक किलोमिटरसम्म भएपनि जिल्लामा पाँचगुणा लामो लाइन विस्तार गर्दा समस्या उत्पन्न भएकाले क्षमता विस्तारका लागि आवश्यक योजना सहित उपकरण मगाइएको बताउनुभयो । पर्वत र बागलुङ्गमा विद्युत मर्मतको क्रममा म्याग्दीमा समेत हुने विद्युत कतौटी हुने गरेको अवस्था रहेको प्रमुख महतको भनाई छ ।

फिडरमा लोडको भार हेरेर व्यवस्थापन गर्ने र भारतबाट मगाइएको उपकरण आएपछि बेनीबजारलाई मात्रै छुट्टै फिडरको ब्यवस्था गरिने प्रतिबद्धता जनाउनुभयो । ज्ञापनपत्र बुझाउने क्रममा संघका बरिष्ठ उपाध्यक्ष बेलबहादुर कटुवाल, प्रथम उपाध्यक्ष सुविन श्रेष्ठ, द्धितिय उपाध्यक्ष राजेश शाक्य, महासचिव लिलाराम गौतम, सदस्य सरोज बानियाँ लगायतको उपस्थिती रहेको थियो ।

Leave a Reply