प्रकृति आफैमा सुन्दर छ, अनि त्यतिनै प्यारा र सुन्दर छन प्रकृतिका अदभुत सिर्जना ।  यहाँ आफ्नो भौतिक अस्तित्व हुनु त्यो पनि सर्वश्रेष्ठ , विवेकशिल मान्छेको रुपमा त्यो सुन्दरता मध्येकै सबैभन्दा सुन्दर आयाम हो। यहि अस्तित्व छ र न जीवन, जगत, प्रकृतिलाई भोग्ने, बुझ्ने, सिक्ने अवसर मिल्छ ।

महत्वाकांक्षा, प्रगतिशील विचार, खोज, दर्शन, आविष्कारको माध्यमबाट त्यो सुन्दरतामा केही थप योगदान हामिले पुर्यायौं पनि, तर सङ सङै हाम्रो अस्तित्वलाई नै लज्जित बनाउने र प्रश्न चिन्ह उब्जाउने गरि केही कुरुप बनाउन पनि जिम्मेवार बन्यौं। यसले हामिलाइ हामि आफैले भनेजस्तो ‘विवेकशिल’ बन्नबाट रोकिरहेको अनुभुती गर्छौं।

मानवता र मानव सभ्यताको विकासले उत्तर आधुनिकतामा पुर्याएको समाजमा विद्यमान दरिद्र मानसिकता, हत्या, हिंसा, बलात्कार लगायतका जघन्य अपराधहरु यस्ता छन कि यसले हामिलाइ पुर्णरुपमा सर्वश्रेष्ठ भन्न र बन्न एकपटक सोच्न बाध्य बनाउछ। यिनै अपराधहरुको पराकाष्ठा को नमुनामा एक: “एसिड अट्याक” हो ।

पछिल्लो समय निकै चर्चामा रहेको यो  विषय सामान्य घटना जस्तै बन्दै गइरहेको छ जुन अत्यन्तै असामान्य हो।

“एसिड अट्याक” अर्थात अपराधीक नियतले वा क्षणिक रिसलाइ नियन्त्रण गर्न नसक्नाले कसैको शरिरको विभिन्न अंग , विशेषगरी अनुहार, हात, टाउको लगायतका भागमा गरिने एसिडको आक्रमण ।

एसिडको प्राकृतिक गुणका कारण  यसको शिकार हुने जो कोहिले पनि अत्यन्तै पिडा, पोलाइ र दुखाइको सामना गर्नुपर्छ जस्लाइ हामी कसैले बोलेर, लेखेर  सायद व्यक्त गर्न  सक्दैनौं ।

त्यति मात्र होइन, यसले दीर्घकालीन रुपमा छालामा र शारीरिक आवरणमा नकारात्मक प्रभाव पार्छ र पुर्ण रुपमा बिगार्छ पनि । समग्रमा शारीरिक, मानसिक, सामाजिक रुपमा विभिन्न समस्या निम्त्याउछ।

यसका कारण विविध हुन सक्छन। मुख्यत: क्षणिक रिस माथीको नियन्त्रण गुमाउदा अनि कसैको शारीरिक रुप नै बिगार्दिने योजनाबद्ध नियतले गरिने यो अपराध नेपालमा पनि मौलाउदै छ।

तथ्यांकका अनुसार पछिल्लो ७ वर्ष यता नेपालमा १८ महिला र ४ पुरुषलाई एसिड आक्रमण भएको देखिन्छ। त्यसमा अधिकांश आक्रमण बदला लिन, प्रेम प्रस्ताव अस्विकार गरेर , अनुहारको रुप बिगार्न, दाइजो नल्याएको निहुँमा गरेको पाइन्छ । यस कारण पनि होला, यो अपराधलाई लैङ्िगकता सङ जोडेर हेर्ने गरिन्छ ।

यस अपराधलाई नेपालको सन्दर्भमा लैङ्िगकता सङ जोड्नु सहि पनि छ किनकी अधिकांश घटनामा महिलालाइ नै निशाना बनाइएको छ। यसैको सेरोफेरोमा रहेर हामी चर्चा गर्दैछौं । तर यसको मतलब, पुरुषहरु यसबाट पुर्ण रुपमा सुरक्षित छन भन्ने भने होइन।

सामाजिक, नैतिक, कानुनी रुपमा  र मानवताकै हिसाब पनि अपराधको रुपमा रहेको यस कुकार्यको विरुद्ध कानुनी प्रावधान नभएको पनि होइन, तर पनि यसरी घट्दै गैरहेको यस घटनाले एकपटक हामी सबैलाइ गहिरिएर सोच्न बाध्य बनाइदिएको छ।

नेपालको वर्तमान कानुन {मुलुकी अपराध संहिताको दफा १९३(२)} अनुसार आक्रमण र असरको प्रकृति हेरेर अनुहार कुरुप बनाएको खण्डमा दोषीलाई ५ देखि ८ वर्षसम्म कैद र एक लाख रुपैया देखि पाँच लाख रुपैया सम्म जरिवानाको व्यवस्था गरिएको छ । यसबाहेक अन्य अंगमा असर पुर्याएको खण्डमा सोही अनुसारको सजाय तोकिएको छ ।

यस प्रकारको अमानवीय कार्यमा संलग्न अपराधीको दरिद्र मानसिकता बाट बच्न  हामी पनि केही सजग र सचेत हुन जरुरी छ। यो समाज जहाँ हामी बाहिरी रुप, छालाको रङ, शरीरको बनोटलाई सुन्दरताको मापदण्डका रुपमा लिने गरिन्छ- त्यहा अपराधी नियत भएका हरुले शारीरिक सुन्दरता नष्ट गरेर जीवन बर्बाद गरिदिन्छु भन्ने निम्न स्तरको मानसिकता बोकेर यस प्रकारका कार्य गर्छन ।

कुनै पनि अपराधलाई समाजबाट पुर्ण रुपमा निर्मुल पार्न निकै चुनौतीको विषय हो । तर यस्लाइ जति हुन्छ न्यूनीकरण गर्दै लैजानुतर्फ हामी अग्रसर हुनु आवश्यक छ। सरकारले कानुनी राज्यको  प्रत्याभूति गराउन यसबारे कडा नियम बनाउनुपर्छ भन्दै हामी धेरैले भन्ने गर्छौं।

यो सहि पनि छ, तर सरकार र राज्यलाइ उत्तरदायी बन्न सिकाउने हामिले पनि केहि सहयोग गर्ने कि? मैले पनि केहि सहयोग गर्ने कि? भन्ने कुरा बारे चासो राख्नु उत्तिकै आवश्यक छ। सुन्दर समाज निर्माणको आधारशिला आफ्नो कर्तव्यको बोध हुनु हो। त्यसैले हामी आफ्नो स्थानबाट प्रभाककारी भुमिका खेल्न जरुरि देखिन्छ।

कसैले प्रेम प्रस्ताव अस्विकार गर्छ भने मैले आफुलाइ उसको स्तर वा उ भन्दा माथीको योग्य व्यक्ती बन्न तिर ध्यान दिनुपर्छ र लाग्नुपर्छ  न कि कसैको सुन्दर जिवनमाथी खेलबाड गर्ने अपराध।हरेकको स्वतन्त्रता सङ बाच्न पाउने र आफ्नो जिवनको महत्त्वपुर्ण निर्णय आफै लिन पाउने अधिकार उसले प्रयोग गरेकै भरमा उ माथी आक्रमण गर्न हामी अगि सर्छौं भने कति निच र तुच्छ स्तरको छौं भन्ने प्रमाणित हुन्छ । यसबाहेक पनि एसिड जन्य पदार्थको बिक्री -वितरणलाई कडाइ गरिनुपर्छ ।

सामन्य रुपमा उपलब्ध हुने Sulphuric, Nitric जस्ता खतरनाक एसिडका कारण घटना बढ्न जान्छ तसर्थ यसको बिक्री – वितरणका लागि केही मापदण्ड बनाइनुपर्छ । विशेष गरि यसको असर, अपराधको सजाय र यसलाई निम्त्याउने कारणहरु बारे जनस्तरमा चेतना फैलाइनु आवश्यक छ। एसिड आक्रमणको सिकार हुने व्यक्ती कुरुप बन्दैन, त्यो तुच्छ र निच नियत बोक्ने अपराधीक मानसिकता कुरुप हो ।

एकातिर एसिड आक्रमण हुनै नदिन के गर्न सकिन्छ भन्ने र अर्को तिर आक्रमण भैसकेको खण्डमा सम्बन्धित व्यक्तिको दैनिकि कसरी सहज बनाउने भन्ने यी दुई विषय नै महत्त्वपूर्ण छन् । यो कुनै एक- दुई व्यक्ति सङ मात्र नभएर समग्रमा सम्पुर्ण मानव जातिसङै प्रत्यक्ष सम्बन्धित विषय हो ।

यदि कोहि व्यक्ती एसिड आक्रमणको शिकार हुन्छ भने त्यसपछिको समय उसका लागि कठिन बन्न पुग्छ। त्यो दुखाइ र त्यसपछिको उपचार पनि संबेदनसिल विषय हुन। धेरैजसो घटनामा त व्यक्ती पुर्ण रुपमा ठिक हुनपनि सक्दैन। त्यसैले यस किसिमका घटना घट्न नदिन हामी एक हुनु आवश्यक छ । यदि कोइ दुर्भाग्यवश यसको सिकार हुन्छ भने त्यो भौतिक दुखाइ र पीडा त हामी चाहेर पनि बाड्न सक्दैनौं तर पनि उसलाइ सहजताको अनुभुति गराउन सक्छौं ।

सामन्य व्यक्तिलाइ जसरी माया-प्रेम-सद्भाव दिएर, बाहिर शरिरमा केही समस्या भएपनी उच्च मनोबलका साथ अगाडि बढ्ने हो भने शारीरिक रुपले अर्थ राख्दैन भन्ने बोध गराउनुपर्छ। एसिड आक्रमण भएका व्यक्तिमा शारीरिक रुपमा मात्र नभएर मानसिक रुपमा पनि गहिरो चोट पुग्न सक्छ। तर  समाजमा यस्ता दिदी-बहिनी हरु पनि हुनुहुन्छ जो एसिड आक्रमण को शिकार भैसकेपछि पनि उच्च मनोबलका साथ बाच्न सकिन्छ भन्ने दृष्टान्त बन्नुभएको छ।

सबैभन्दा पहिला त छालाको रङ र वर्ण ले सुन्दरताको निर्धारण गर्ने होइन भनेर हामी आफैले बुझ्न जरुरी छ। हाम्रो मानसपटलमा यो नपरोस कि कसैको रूपमा प्रहार गर्दैमा उ बर्बाद भयो र मैले जिते भनेर।

अनि यता सायद कानुनी रुपबाट पनि  नियतवश यस किसिमको कार्यमा लाग्ने जो कोहिलाइ – सोही अपराध सजायको रुपमा दिलाइनुपर्छ जसबाट उस्ले बुझोस त्यो पीडा र दुखाइ अनि अन्यका लागि पनि उदाहरण बनोस।

कुनैपनी रुपमा एउटा यस्तो उदाहरण पस्कनु पर्छ जस्ले अर्को पटक कुनै व्यक्तिले यो अपराध गर्ने आंट नगरोस। चेतना र चेतावनीबाट यसलाइ नियन्त्रण गर्न सकिएन र जघन्य अपराध मौलाइरहयो भने अन्तिम विकल्पका रुपमा सशक्त भएर उभिनु जरुरी छ । अझ भन्ने हो भने यसमा ढिलाइ गरिनुहुदैन ताकी अर्को कोइ निर्दोष फेरि शिकार बन्नु नपरोस।

अन्ततः मानवतालाइ लज्जित गर्ने गरि कसैको जीवन बर्बाद गर्न होइन, आफुलाइ योग्य र स्वाभिमानी बनाउन अग्रसर बनौं । पुरुषार्थ र साहसको प्रतीक कसैको जीवन माथी खेलबाड गरिदैन, उसलाइ सुरक्षा र आत्मीयताको अनुभुती गराइन्छ।

Leave a Reply