म्याग्दीको बेनी नगरपालिका वडा नं २ मा पर्ने ज्यामरुककोटको महिमा पन्ध्रौं शताव्दीको इतिहाँससंग गासिएको भएपनि महत्व उजागर गर्न नसक्दा भिल्लाको देशमा मणीको नियति जस्तै बनेको छ ।

चिटिक्क मिलेका दन्तलहर जस्तै देखिने हिमश्रृङ्खला,शालिग्राम पाइने विश्वको एकमात्र नदी कालीगण्डकी र जयन्ती मंगलानदीको संगमस्थल,पवित्र तीर्थस्थल गलेश्वरधाम, मुक्तिनाथ,गायत्री देवीको मन्दिर र बेनी बजारको सुन्दर दृश्यावलोकन गर्न पाइने ज्यामरुककोटको खड्गभवानी परिसरबाट साविकका २१ गाविसका साथै म्याग्दी,बागलुङ र पर्वत गरी ३ जिल्लाका दर्जनौ वस्तीहरु देख्न सकिन्छ ।

पर्यटन र प्राकृतिक सौन्दर्यावलोकनको प्रशस्त सम्भावनारहेको यस्तो ठाउँ बत्ति मुनिको अध्यारोजस्तै हुन पुगेको छ ।

ज्यामरुककोटको नामाकरण

परापूर्व कालमा पशुपालनका लागि ज्यामरुककोटको भकुण्डे र भीरपानी भन्ने ठाउँमा घाँसका लागि प्रशस्तै जम्मुका रुखहरु रहेका थिए । जम्मु खान आउने मानिसहरुले यस ठाउँलाई “जम्मुका रुख भएको ठाउँ” भनेर चिन्न थाले । कालान्तरमा यस ठाउँलाई जम्मुरुख हुँदै ज्यामरुक भनेर उच्चारण गर्न थालियो ।

पछि फापरखेत माथिको डाँडा(अहिलेको कोत डाँडा) मा कोत भवन बनाई राज्य गर्न थालिएपछि ज्यामरुककोट भनिएको तत्कालिन ज्यामरुककोट गाविसको कार्यालयद्धारा प्रकाशित ज्यामरुककोट ः एक झलक नामक पुस्तकमा उल्लेख गरिएको छ ।

त्यसैगरी सोमध्वज विष्टद्धारा लिखित “नेपाल गढ” भन्ने पुस्तकमा म्याग्दीमा “ङ” हलन्त लागेका कोटहरुमध्ये दरबाङ,अर्थुङ्गे,मल्कबाङ र ज्यामरुङको नाम उल्लेख गरिएको छ ।सोही पुस्तकमा म्याग्दी जिल्लामा भएका कोटहरुको सूचिमा जोङरुक नामाकरण गरिएकोले ज्यामरुङ र जोङरुकबाट अपभ्रंश भइ ज्यामरुककोट नाम रहन गएको प्रष्ट हुनआउँछ ।

तर,जोङरुक नाम कसरी रहन गयो भन्ने कुरा खुल्न आएको छैन ।
त्यसैगरी ज्यामरुककोटको नामाकरणका सम्वन्धमा अर्को एक किंवदन्ति पनि रहेको छ । तत्कालिन ज्यामरुक राज्यका प्रथम राजा धर्मराज थापा भएको ऐतिहाँसिक तथ्यका आधारमा यस ठाउँको नाम मगर भाषामा राखिएको अनुमान बढी तथ्यगत मानिएको छ ।

मगर भाषामा “ज्या” को अर्थ खानु वा खाएर भन्ने हुन्छ भने “मराङ” को अर्थ खेल्ने वा रमाउन भन्ने हुन्छ । हालको भकुण्डे,फापरखेत,थामडाँडा केही समथर पनि रहेकोले चरनको क्षेत्र भएकोले अर्जम भेगका मानिसहरु उक्त क्षेत्रमा खेल्ने,रमाउने,गाईवस्तु चराउने गर्दा उक्त ठाउँलाई खाना खाएर आई खेल्ने ठाउँको रुपमा चिन्न थाले । जसलाई मगर भाषामा “ज्यामराङ” भनियो । यही ज्यामराङ नै कालान्तरमा अपभ्रंश भै ज्यामरुङ–जोङरुक हुँदै ज्यामरुक हुन गएको भन्ने भनाइ छ ।
थापाकालीन ज्यामरुककोट

ज्यामरुककोटमा आजभन्दा किरब ८ सय वर्ष पूर्व नै बसोबास शुरु भएको मानिएको छ । यहाँ वि.सं १२४६ मा व्यवस्थित शासन व्यवस्थाको शुरुवात भएको इतिहाँसमा उल्लेख छ ।

मोहनबहादुर मल्लको ‘पर्वतको इतिहाँस’ नामक पुस्तकको पुष्ठसंख्या ४४–४५ मा उल्लेख भए अनुसार वि.सं १२४६ मा कालु थापा ताकमका राजा भए । यिनीपछि उनका छोराहरु जेठा पुण्कर पुला,माहिला तारापति ताकम र कान्छा धर्मराज ज्यामरुकका राजा भए । यिनै धर्मराज नै ज्यामरुकका पहिला राजा मानिन्छन् ।
मल्लकालीन ज्यामरुककोट

समाल शाही वंशी जुम्लाका राजा आनन्द देवका नाति डिम्बवम (दिलिपवम) मल्लले वि.सं १५४५ मा ताकम राज्य माथि विजय गरेपछि राज्य विस्तार गर्दै क्रमशः पुला,ढोलठान र ज्यामरुकमा पनि विजय प्राप्त गरे ।

राजा डिम्ब पछि उनका छोरा नातिहरु क्रमशः नाग मल्ल,प्रतापि नारायण मल्ल,राज मल्ल,नर्सिङ मल्ल,नागवि मल्ल,नारायण मल्ल,कुवंर मल्ल,घनश्याम मल्ल,र मलेवम मल्ल राजाभए ।
राजा मलेबल(उनलाई नलैवम पनि भनिन्थ्यो) ले आफ्ना भाइ भर्तिवम(उनलाई भर्दिवम पनि भनिन्थ्यो) लाई ज्यामरुककोटको शासनभार (कजाइ खान) सुम्पेका थिए ।

पछि मलेवम र भर्तिवम बीच मनोमालिन्य उत्पन्न भई राजा मलेवमले भाइ भर्तिवमलाई ज्यामरुकबाट हटाउन खोज्दा भर्तिवमले “दियां पनि खान्न,धपाया पनि जान्न,ज्यामरुककोट छाड्दिन” भनि अड्डि लिएपछि मलेवमले गुप्त षडयन्त्र गरी भर्तिवमलाई पक्रन पठाए ।

भर्तिवम उनका मित डिल्ली भुजेल सहित भागेर लामगरा (लुङ्दी) मा पुगे । भर्तिवमलाई दाजु मलेवमका सेनाले लामगरामा पक्राउ गरी शिरोच्छेदन गरी मारियो । यसरी उनलाई मारिए पछि उनको शिर कालीगण्डकीमा बगाउँदा माथितर्फ बग्दै गलेश्वर नजिक पुग्यो भन्ने किंवदन्ति रहेको छ ।

राजा मलेवम मल्ललाई गोत्र हत्याको पाप लागि दूध र भात खान लाग्दा रगत र किरा बग्ने भै खान नभएपछि गोत्र हत्याको प्रायश्चित्त गर्न राजा भर्तिवमको शिर ल्याई बेनीमा शिवालय मन्दिर स्थापना गरी राजा मलेवमले पूजा आजा गरेको किंवदन्ति छ ।

उक्त शिवालय मन्दिरमा अद्यापि पूजा आजा गर्ने गरिन्छ । साथै मलेवमले आफ्ना गुरु प्रेमनिधि पन्तलाई “प्रायश्चित्त प्रदीप” भन्ने पुस्तक लेख्न लगाए । त्यसपछि बल्ल राजा मलेबमलाई शान्ति मिलेको थियो भन्ने मान्यता रहेको छ ।

भर्तिवम मल्ल पछि राजा मलेवम मल्लका माहिला छोरा अरिमर्दन मल्ल ज्यामरुककोटका राजा भएको मल्ल वंशावलीमा उल्लेख छ । उनको शासनकालमा अर्थात् १८४३ मा बहादुर शाहले ८ हजार पर्वतका राजा कीर्तिवम मल्ललाई जितेपछि ज्यामरुककोट राज्य पनि विशाल नेपालमा गाभिन पुग्यो ।

वि.सं १८४३ देखि जिम्मुवाल र नौ मुखियाद्धारा यहाँका राजनैतिक एवम् प्रशासनिक कार्य संचालन भयो ।
स्थानीयको मान्यता र अहिलेको ज्यामरुककोट विसं १२५० देखि १५५० सम्म थापा समूदायका राजाले राज्य गरेको ज्यामरुककोट मल्ल राजाहरुको उदय भएपछि अस्तित्वमा आएको हो ।

ज्यामरुकोट स्थित खड्गभवानी कोत एवम् गुठी व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण घिमिरेका अनुसार १३२ औं पुस्ताका राजा घनश्याम मल्लका छोरा मलैवम मल्ल विसं १७४३ मा तत्कालिन पर्वतका राजा भएका थिए । राजा मलैवमको बिबाह खाची राज्यका वेधासी राजा दल शाँहा तथा रानी सुभद्राकी छोरी महलवसन्तासंग भएको थियो । यिनीबाट सात छोराको जन्म भएको पाइन्छ ।

यिनका कान्छा छोरा रघुनारायण मल्लले १७७९ सम्म ४६ वर्षको लामो समय राम्रोसंग राज्य चलाई मलैवम राज्य नामाकरण गरी आफूँ जिवितै छदा आफ्ना उत्तराधिकारी युवराज शाहाँवम मल्ललाई राज्य सुम्पिएर विसं १७९१ मा अंशवण्डा गराई जेठा छोरा शाहाँवमलाई राजकाज सहित पर्वत राज्यको आधा भाग र वाँकी ६ भाइलाई आधा भाग विभाजन गरिदिएको इतिहाँसमा उल्लेख छ ।

इतिहाँसका अनुसार माहिला अरिमर्दन मल्ललाई ज्यामरुककोट,साहिला सवासाल मल्ललाई दागा,काहिँला कालिमर्दन मल्ललाई कुहुँ,ठाइँला रमेश मल्ललाई माझकोट र म्याग्दीको पुला ढोलठान,ठूलोकान्छा रघुदत्त मल्ललाई देउपुर र कारीगाउँ र कान्छा रघुनारायण मल्ललाई भीमपोखरा राज्य वाँढि रजाइँ गरी खाने अधिकार दिई आफूँ विसं १९९३ मा काँसीमा गई देहत्याग गरेका थिए ।

राजा घनश्याम मल्लका दुईवटा रानी थिए । जेठी रानी लमजुङकी मैयाध्यतर्फका राजा मलैवम मल्ल र कान्छी रानी जुम्लामैया तर्फबाट भर्तिवम मल्लको जन्म भएको थियो ।

मलैवम र भर्तिवम मल्लको जन्म एकै दिन र एकै समयमा भएको थियो जस अनुसार भर्तिवम मल्ल मावलीघर जुम्लामा जन्मिएका थिए भने उनको नामाकरण पनि मामाघर जुम्लामा नै भएको थियो । दुईभाइ मध्येमा जेठो को हो त ? भन्ने कुरा त्यतिवेला पनि सोधखोज भएको थियो । यसवाट राजको जेठो छोरा नै राजा हुने चलन पृथ्वीनारायण शाहको पाला भन्दा पहिलादेखिनै चलिआएको हो भन्ने प्रष्ट हुन्छ ।

दुई भाइमध्ये जोठो को हो भन्ने कुराको निर्णय गर्न मामाघरबाट भर्तिवम मल्लको जन्मकुण्डली समेत मगाइएको थियो । जन्मकुण्डली हेर्दा मलैवम भर्तिवम मल्ल भन्दा केही पलाले अगाडी जन्मिएको कुरा राजदरवारमा बेसको ज्योतिषहरुबाट ठहर भयो ।

राजदरवारका भाइ भारदार र गुरु पुरोहितको सल्लाहा अनुसार राजा घनश्याम मल्लले आफ्नो उत्तराधिकारी मलैवम मल्ललाई घोषणा गरे ।मामा घरमा जन्मिएकै कारणले राजकाजबाट वन्चित हुनुपरेको भर्तिवम मल्ललाई जागिर स्वरुप रैती कजाइ खाए भन्ने बन्दावस्त राजा घनश्याम मल्लले मिलाएका थिए ।

राजा घनश्याम मल्लकै राज्यकालमा नै निहुँ खोज्न थालेका भर्तिवम मल्लले हालको बागलुङ जिल्लाको बुर्तिवाङमा पर्ने निसी भुजी खोलाका भुजेल मगरसंग मितेरी नाता कायम गरेको मलैवम मल्लले थाहा पाइ भाइ भर्तिवम मल्लसंग सशंकित भै निसी भुजीसंग सिमाना जोडिएको ज्यामरुक राज्यबाट ताकम जाने आदेश गरेका थिए ।

जस अनुसार भर्तिवम मल्लले ‘दाइले दिएको पनि खान्न,बाउले दिएको ज्यामरुककोट छोड्दिन’ भनि अडान लिए पछि मलैवमले बल प्रयोग गरे दशैंको समयमा निरकोटबाट डिल्ली भुजेललाई दरवारमा उपस्थित गराई तिमीहरुलाई भर्तीवमले उचालेको हो भनि केरकार गर्दा भर्तिवमजस्तो नामर्द पानीमरुवाले के को मलाई उचाल्नु बरु मैले भनेको उसले मानिदिएको भए यतिवेला पर्वतको राजसिंहासनमा भर्तिवम हुन्थे र टाउको त मलैवमको पो काटिन्थ्यो भनेर सामन्त डिल्ली भुजेलले ठाडो जवाफ दिएपछि कोटभण्डार (बेनी) मा उनको शिर छेदन गरि दिएका थिए ।

यसरी भयो भर्तिवम मल्लको हत्या 

भर्तिवम मल्ल जिउँदो रहेसम्म ज्यामरुककोटको राज्य नछाड्ने भयो भनि चिन्तामा परेका राजा मलैवम मल्लले भाइ भर्तिवम मल्लको हत्या गर्ने षडयन्त्र रच्न थाले । जसअनुसार जयन्ति मंगला कालीको कालीगण्डकी दोभानमा विहान सबेरै नुहाउने समयमा भर्तिवम मल्लको शिर छेदन गर्ने योजना बनाई उनी नुहाउन आउने र जाने समयको चियो गर्न मलैवमले गुप्तचरहरु खटाए ।

सोही योजना मुताविक केही समयपछि राजा भर्तिवम मल्लको कालीगण्डकी किनारमा हत्या गर्न दाजु मलैवम मल्ल सफल भए । भाइ भर्तिवम मल्लको शिर छेदन गरी गण्डकीमा फाल्दा गिड उधाँे तिर र शिर माथि तिर बग्न थाल्यो ।
भाइको हत्यापछि पश्चातापमा परेका मलैवम मल्ललाई मुख विनाको भाइको शरिरको गिडले ‘दाजु !

मेरो हत्या गर्नुभयो, म निर्दोषि भाइलाई शिर छेदन गरेर मारेकोमा प्रायश्चित्त गर्न चाहनुहुन्छ भने मेरो शिर मंगला र कालीगण्डकी नदीको दोभानमा राखि शिवजीको स्थापना गर्नु र गिड लामाखेतमा लगि त्यस ठाउँमा उघौली र उमौली गरी पूजा चलाउनू ।

शिवजी स्थापना गरेको ठाउँमा मन्दिर निर्माण गरी चौकुनामा गणेश,भगवती,नारायण आदि देवताहरुको स्थापनागरी नित्य पुजा संचालन गराइ दिनु र नित्य पूजाका लागि गुठी समेतको व्यवस्था मिलाइ दिनु भने ।

भाइको इच्छा अनुसार राजा मलैवमले (हालको बेनी शिवालयको गुठी) बागलुङ जिल्लाको बागलुङ नगरपालिका ६ लहरेपिपलमा गुठीको व्यवस्था गरिदिए । सो गुठी अझैसम्म पनि रहेको छ । भर्तिवम मल्लकै इच्छा अनुसार दाजु मलैवम मल्लले विसं १७५० मा बेनी शिवालय मन्दिरको निर्माण गरे ।

त्यसपछि विसं १७७२ मा मलैवम मल्लले ढलोटको घण्टी मन्दिरमा चढाउनूका साथै मन्दिरको पश्चिमतर्फबाट मन्दिरको मूल ढोकातर्फ फर्केको राजा मलैवम र रानी महलवसन्तको दुई हात जोडिएको ढुङको मुर्ति राखे । जुन आजसम्म पनि देख्न सकिन्छ ।

राजा मलैवम मल्लले भाइको विना कसुर हत्या गरेको हुँदा गोत्र हत्याको पाप लाग्ने डरले “पाञ्चायत प्रायश्चित्त प्रदिप” नामक ग्रन्थ लेख्न लगाए । मलैवम मल्लको शासनकाल १७४३ देखि १७८९ सम्म रहेको थियो ।

आफ्ना पति राजा भर्तिवम मल्लको हत्याको खवर पाएपछि रानी विश्वमता,महारानी श्यामसुन्दरी देवी स्वरुपिणी मल्ल,पुत्र गोरे मल्ल र भान्छे बाहुनी साथ हालको मंगलाघाट बजारदेखि माथि कुरिलाखर्क भन्ने ठाउँमा आफ्नो राज्य ( ज्यामरुककोट) देखिने ठाउँमा गई तीन जना नै अल्पिएको र हालसम्म उनै श्यामसुन्दरी देवी स्वरुपिणी महारानीको पूजा गर्ने गरेको पाइन्छ । उनीहरुले राज्य गरेको ठाउँ ज्यामरुकोटमा भने उनको कुनै ख्याल वास्ता गरेको पाइँदैन ।

राजा भर्तिवम मल्लको पालामा राखिएका विभिन्न किसिमका हातहतियारहरु,खड्ग निसानहरु हालसम्म पनि सुरक्षित रहेका छन् । ज्यामरुककोटको तोप भने बेनी बजारको कोट भण्डारमा रहेको कुरा वूढापाकाहरुबाट सुन्नमा आएको छ ।

राजा मलैवमले भाइ भर्तिवमको हत्या गरेपछि शिवलिङ्ग माथि मन्दिर निर्माण गर्दा भाइ भर्तिवमले सपनामा मेरो शिर राखिएको ठाउँमा जवसम्म हरियो रुख रहन्छ तवसम्म भर्तिवम जिवित छ र ऊ ज्यामरुककोटमा रहिरहन्छ भनेका थिए भन्ने किंवदन्ती अझैपनि सुन्न पाइन्छ ।

ज्यामरुककोटको मौलो
ज्यामरुककोटमा मौलो मान्ने चलन सोही समयदेखि चल्दै आएको छ । यो चलन अनुसार ६ विस ज्यामरुकोटेहरु (सम्पूर्ण ज्यामरुककोट) मिली दशैं र चैते दशैंमा पूजा आजा गर्ने गरिन्छ ।

त्यसका साथै बाटो खन्ने,मालिकाले कालरात्रीको पाठो ल्याउने, भकिम्लीबाट दुना टपरी र सागपात ल्याउने र कालरात्रीमा नाचगान गरी कालरात्री मनाउने,सापकोटा थरका ब्राह्मणहरुले नवरात्रीमा दुर्गा सप्तशति,बेद आदि पाठ गर्ने,नाग देवता,भर्तिवम,महारानी,नर्सिह,लक्ष्मीनारायण आर्दिको पूजा गर्ने ,फूलपातीका दिन एकजना ब्राह्मण र घर्ती वा थापा थरका एकजना गरी दुईजनाले फूलपाती ल्याई कोटघरमा भित्राउँदा एकवटा बोकाको बलि दिने पनि गरिन्छ ।

कोतघरको इतिहाँस

पहिला कोतघर खरको थियो । कोत घर छाउनका लागि प्रत्येक कुरियाबाट खर ल्याइँ जमारे औसी (घटस्थापना) का दिन मन्दिर छाइ लिपपोत गरी उपासुहरु राख्ने चलन थियो । यस ज्यामरुककोटमा मल्ल,थापा,सापकोटा र घिमिरेहरुको पनि संलग्नता रहेको कुरा १९५९ सालमा खड्गवहादुर घिमिरेको भनाइ रहेको छ ।

खड्ग भवानी कोत व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण घिमिरेका अनुसार कोटघर खरले छाउने र वर्षेनी खरले छाउँदा दुःख धेरै हुनेहुँदा खड्गवहादुर मल्ल (साहिला ठकुरी) खडकवहादुर घिमिरे र जि.मु जुद्धविर सापकोटाले कोत मन्दिर खरले नछाइ ढुङ्गाले छाउने निर्णय गरेपछि मन्दिर ढुङले छाइएको हो ।

तर दुर्भाग्य त्यही वर्ष तीनै जनाको घरमा ठूलो क्षति हुन गएछ । साहिला ठकुरीको जेठा छोराको मृत्यु,खड्कवहादुर घिमिरेको कान्छी छोरीको मृत्यु र जुद्धविर सापकोटाकी जेठी बुहारीको मृत्यु भएछ । त्यपछि अहिलेसम्मपनि कोट घर ढुङ्गाले नै छाइएको छ ।

२०७२ सालको विनाशकारी भूकम्पका कारण कोटघर चर्किर पानी चुहिने भएको छ । हाल उक्त कोटघरमा विजुली वत्तिको व्यवस्था गरिएको छ । शौचालय निर्माण भएको छ । खड्कवहादुर घिमिरेका परिवारबाट सत्तल निर्माण भएको छ भने सन्दीप सुवेदीबाट नागदेवताको मुर्ति र मन्दिर निर्माण भएको छ ।
कोट मन्दिर विभिन्न समयको बाढी पहिरोबाट पनि क्षति भएको छ ।

२०३४ सालको कित्ता नापी सर्भेमा उक्त कोट एरियाको जग्गा कोट भवनकै नाममा नापी दर्ता भएको छ । ब्राह्मणहरुले बडादशैं र चैत्राष्टमीमा पूजा गरेवापत खान पाउने भनि नवदुर्गा गुठी नवदुर्गाकै नाउमा नापि भएको छ । त्यसै गरी भूमे र कन्थराजको पूजाका लागि वर्षमा दुई पटक जेठ र कार्तिकमा पूजा गर्ने घर्ती थरका एक र थापा थरका १ जनागरी २ जना र सापकोटा ब्राह्मण पुजारीका लागि भुमे कन्थराजका नाउँमा ग्ुठीको व्यवस्था रहेको छ ।

नरशिंह भगवानको नाउँमा वर्षको २ पटक रोट चढाउने कार्यका लागि उनैका नाउँमा गुठी जग्गा रहेको छ ।
माथि उल्लेखित गुठी व्यवस्थापनका लागि कोट पूजा एवम् गुठी व्यवस्थापन समितिको गठन हुने गरेको छ । पूजा संचालन र गुठीको व्यवस्थापन पनि समितिमार्फत नै हुँदै आएको छ । कोट पूजाका लागि वार्षिक १ लाख रुपैयाँ खर्च लाग्ने गरेको छ ।

Leave a Reply