---Advertisement---

पहिरोले घरखेत बगाउँदा बिचल्ली

On: August 10, 2020 11:00 AM
Follow Us:

म्याग्दीको मालिका गाउँपालिका-७ ,बिम दुलेका अनिल र आशिष पौडेलको आँखा अझै ओभाएका छैनन् । घरमाथिबाट खसेको पहिरोले जन्मदिने आमा र बहिनीलाई गुमाएको एक महिना वितिसक्दा पहिरोस्थलमा पुगेर पिलपिल आँसु बगाएर रुन्छन् ।

पहिरोले एक्कासी घरसँगै आमा र बहिनीलाई पुरेको प्रत्यक्ष देखेको घटनाले छिनछिनमा झस्किरहन्छन् । कोरोनाको जोखिमका कारण प्रसिद्ध धार्मिकस्थल गलेश्वरमा रहेको संस्कृत विद्यालयमा कक्षा ८ मा अध्ययनरत अनिल र गाउँकै विद्यालयमा कक्षा ६ मा पढ्दै गरेका आशिषलाई पहिरोबाट जोगाएर बहिनीलाई लिन जाने क्रममा पहिरोले पुरेका घटना सुनाउँदा छिमेकी, आफन्त र पहिरोको अवलोकन गर्न पुगेको टोलीको समेत आँखामा आँसु थामिदैन् ।

दुबै छोराको आँखामा आँसु देखेर बुबा सोमनाथको मन पनि भारी हुन्छ। ‘छोरालाई सम्हाल्न सकेको छैन्,‘उनीहरूको भविस्यको चिन्ताले सताइरहन्छ’ सोमप्रसादले भने । गत असार महिनाको २६ गते विहान करिब ३ बजेदेखि भिषण बर्षाका कारण घर र नजिकै रहेको गोठमा पानी पस्न थालेपछि पन्छाउने प्रयास गरेको दुईघण्टामै घर र गोठ पहिरोले पुरेको सोमप्रसादको भनाई छ।

उनले श्रीमति र छोरी मात्रै गुमाएनन् खर्च चलाउन, छोराछोरीको पढाई खर्च जुटाउन पालेको ५ वटा खच्चड र १० बाख्रा र दुहुनो भैसी समेत पहिरोस्थलमै पुरिएको बताए । ‘मरेको पशुचौपायाले घरवरपर दुर्गन्ध फैलिएको छ,‘रोगको संक्रमण फैलिने जोखिमले आफन्तकोमा बस्दै आएका छौ’ सोमप्रसादले भने ।

उनले खच्चड र भैसीको गन्धले आसपासका क्षेत्रमा समेत दुर्गन्ध फैलिएको बताउँदै पहिरोस्थलमै पुनः बस्नै सम्भावना नभएकाले नयाँ बासस्थानको खोजीमा रहेको बताए। घरभित्रै रहेको नगद समेत पुरिएको छ ।

‘झपक्क निदाउन खोज्दा त्यही पहिरोको झझल्को आउँछ,‘मानसिक तनावले खान पनि मन लाग्दैन’ उनले भने । दुई छोराको शिक्षादिक्षामा सहयोगको याचना समेत गरे।‘मलाई केही चाहिदैंन, छोराको शिक्षामा सानो सहयोग गर्न सक्नुहुन्छ भने गरिदिनुहोला’ गहभरी आँसु निकाल्दै उनले भने ।

रातदिन आमा र बहिनीलाई सम्झँदै भक्कानिएर रुने छोरालाई शिक्षादिक्षामा मात्रै सहयोग पाएपनि धेरै सहज हुने उनको भनाई छ। आफ्नो सबै सम्पत्ती पहिरोदे बगाएपछि छोराहरुलाई खर्च कसरी जुटाउने भन्ने चिन्ताले बेलाबेलामा धारिलो हतियारले घोचेजस्तै हुने गरेको बताए ।

सोमप्रसादलाई नजिकबाट चिनेका यूवा सुर्यकिरण न्यौपानेले पीडादायी अवस्थामा सहयोगको आवश्यकता रहेको बताए । ‘निकै मेहनती परिवार थियो,‘उहाँहरुको मेहनतले गाउँले पनि दंग थिए, पहिरोले परिवार नै छियाछिया बनाइदियो’ न्यौपानेले भने । उनले पहिरोबाट विस्थापित भएको अवस्थामा तत्काल पुर्नवास सहित शिक्षादिक्षाका लागि कम्तिमा १२ कक्षासम्मको स्रोत आवश्यकता रहेको बताए

हरिकृष्ण गौतम

हरिकृष्ण गौतम बेनीअनलाइनका संस्थापक सदस्य हुनुहुन्छ।