लगातारको वर्षापछि उर्लिएर आएको बाढीले क्षती पुर्याएको राहुघाटको बेलिब्रिज मर्मतपछि मंगलबारदेखि  सञ्चालनमा आउने भएको छ ।

गएको असार महिनाको २५ गते रातीको बर्षाले बेनी नगरपालिका–९ गलेश्वर र रघुगङ्गा गाउँपालिका–३ को सिमानामा अवस्थित बेलिब्रिजको राहुघाटतर्फको जिप भत्काएपछि पूर्णरुपमा अवरुद्ध भएको ब्रिज मर्मतपछि सञ्चालनको अवस्थामा पुगेको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बेनीअनलाइनलाई बताउनुभयो ।

‘भोलीदेखि सञ्चालनमा आउँछ, केही दिन हेभी सवारीसाधनलाई आवतजावतमा रोक लगाइएको छ’ प्रजिअ ढकालले भन्नुभयो । हलुका सवारीसाधनलाई आवतजावत गर्ने गरी सञ्चालन गरिने ब्रिजबाट विद्युतका ठूला उपकरण, हेभी इक्यूमेन्ट ढुवानीले पुल भाँसिन सक्ने जोखिमलाई मध्यनजर गरी प्रहरीले कडा निगरानी गर्ने जनाइएको छ ।

पुल पुननिर्माणमा करिब ६० लाख खर्च भएको अनुमान गरिएको छ भने नेकपा र नेपाली कांग्रेसका यूवा, गलेश्वर, पिप्लेका स्थानीयले समेत श्रमदान गरेका थिए । म्याग्दीका प्रमुख जिल्ला अधिकारी ढकाल सहित जिल्लाका राजनीतिक दलका प्रमुख, रघुगंगा गापाका अध्यक्ष भवबहादुर भण्डारी आफैँ पनि श्रमदान गरेर ढुङ्गा फुटाउने र पर्खाल लगाउन खटिनुभएको थियो ।

भत्किएको पुल निर्माणका ढिलासुस्ती भएपछि म्याग्दी र मुस्ताङका जनप्रतिनिधिले समेत मर्मतमा दवाव दिएका थिए भने राहुघाटमा नदी कटान नियन्त्रणका लागि शनिबार ग्याबियन पर्खाल लगाउन श्रमदान अभियान चलाइएको थियो ।

बेनी–जोमसोम–कोरला सडक आयोजना, सडक विभाग, स्थानीय तह र जिल्ला प्रशासनको समन्वयमा मर्मत कार्य सम्पन्न गरिएको थियो । बाढीले बेलिब्रिज बगाएपछि म्याग्दीको रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका हुँदै मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक पूर्णरूपमा अवरुद्ध भएको छ । यसैबीच ठाउँठाउँमा सडक अवरुद्ध हुदाँ बेनी–जोमसोम सिधा सडक सञ्चालनमा भने अझै समय लाग्ने बताइएको छ ।

Leave a Reply