लगातारको वर्षापछि उर्लिएर आएको बाढीले क्षती पुर्याएको राहुघाटको बेलिब्रिज मर्मतपछि सञ्चालनमा आएको छ । गएको असार महिनाको २५ गते रातीको बर्षाले बेनी नगरपालिका–९ गलेश्वर र रघुगङ्गा गाउँपालिका–३ को सिमानामा अवस्थित बेलिब्रिजको राहुघाटतर्फको जिप भत्काएपछि पूर्णरुपमा अवरुद्ध भएको ब्रिज मर्मतपछि मंगलबार दुवैतर्फबाट हलुका सवारीसाधन, मोटरसाईकल लगायत खाली ट्रक वारपार गरेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सव इन्जिनियर गजेन्द्र प्रसाद राउतले बताउनुभयो । केहीदिन हलुका सवारीसाधन आवतजावतका लागि अनुमति दिइएकोमा आगामी भदौं ८ गतेपछि सवारी साधन १७ टन क्षमताका सवारीसाधनलाई प्रयोग गर्न दिइने छ । पुल मर्मतका लागि सडक विभागको आपतकालिन बजेटबाट ४६ लाख खर्च भएकोमा कुल मर्मतमा ५० लाखसम्मको खर्च हुने बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ । मर्मतमा गरिएको श्रमदानलाई उक्त बजेटमा प्रयोग गरिएको छैन् । मर्मतपछि सञ्चालनमा आएको पुलको अवलोकनका लागि मुस्ताङका प्रदेश सांसद चन्दमोहन गौचन, रघुगंगा गापाका अध्यक्ष भवबहादुर भण्डारी समेत निरिक्षणमा पुग्नुभएको थियो । बेनी–जोमसोम–कोरला सडक आयोजना, सडक विभाग, स्थानीय तह र जिल्ला प्रशासनको समन्वयमा मर्मत कार्य सम्पन्न गरिएको थियो । बाढीले बेलिब्रिज बगाएपछि म्याग्दीको रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका हुँदै मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक पूर्णरूपमा अवरुद्ध भएको थियो । यसैबीच उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दानाको रुप्से झरनाको पुल लगायत कालिगण्डकीको कटानले क्षती पुगेको सडकको मर्मत कार्य समेत सुरु भएको छ ।

Leave a Reply