म सानो हुँदा बाबा आमाको मुखबाट सुनेको थिएँ । गोबरले पो दोब्बर हुन्छ अर्थात् जसको खेतबारीमा गाईको गोबर उसको भकारीमा अन्नपात दोब्बर भन्ने चलन थियो । त्यतिबेला अलि सानै उमेर भएकाले कुरो बुझ्न सकिनँ । म जवान भएपछि मात्रै उक्त भनाईको तात्पर्य बुझ्दै गएँ । हाम्रो गोठमा बाबा आमाले पालेका धेरै गाईहरु थिए ।

ती गाईहरुलाई खेतमा किलो ठोकेर खेत मोल्ने पुरानो चलन थियो र त्यतिबेलाको समयमा पुरानो ढाँचाले खेत मोल्नुपर्ने बाध्यता पनि थियो किनकी लेकदेखि वेंशीसम्म खेतीपाती गर्ने चलन थियो ।

लेकबाट वेंशीसम्म मल बोकेर खेतबारीमा पु¥याउने सम्भावना नै थिएन। यसैले गाईको गोठ सार्दै खेत मोल्ने चलन व्याप्त थियो ।

यसरी गाईले मोलेको खेतबारी र भैंसीको मत हालेको खेतबारीमा आकाश पाताल फरक हुन्थ्यो । यही कारण हाम्रो घरमा अनिकालको सामना कहिल्यै गर्नु परेन ।

यद्यपि गाई पाल्दासम्म अन्नका भकारी कहिल्यै रित्तो भएको मलाई याद छैन । यसको मतलब गाईको गोबर र गहुँत माटोको लागि अमृत र अन्नबालीको लागि सञ्जिवनी नै रहेछ भन्ने कुरा मैंले पनि अनुभव गरेको छु ।

खास गरी प्राचीनकालमा ऋषिमुनिहरुले गाईको दूध, दही, घ्यु, गहुँत, गोबरलाई अति उपयोगी मानेका थिए । त्यही आधारमा हिन्दू धर्मावलम्बीहरुले गाईलाई पवित्र जनावर मानी त्यसको दूध, घ्यू, गहुँत र गोबरलाई हिन्दूका कर्मकाण्डहरुमा अनिवार्य रुपमा प्रयोग गर्न थालेका हुन् ।

शास्त्रमा उल्लेख छ, शास्त्रादि मत्वं गोत्वं ककुद वत्वं गोत्वं अर्थात् जसमा माला र जुरो हुन्छ, त्यो नै गाई हो । गाई गोरुमा जुरो सूर्य र चन्द्रमाबाट आउने किरणलाई तान्छ ।

यो जुरोलाई सूर्यकितु नाडी भनिन्छ । सूर्यकितु नाडीले सूर्य र चन्द्रमाबाट लिएको किरण शक्तिका रुपमा गाईको दूध, गहुँत र गोबरमा प्रकट हुन्छ ।

यसरी प्रकट भएका उर्जा शक्तिले नै मानिसलाई विभिन्न भिटामिनयुक्त तत्व प्रदान गर्ने भएकोले गाईको दूध, दही, मोही, घ्यू, गहुँत र गोबर पवित्र मानिएको छ ।

गाईको दूधमा ओमेगा ३ नामक तत्व पाइन्छ । यसले स्मरण शक्ति बढाउने, सेरीब्रो साइड नामक तत्वले कुनै खालको क्यान्सर हुन दिँदैन । गाईको गहुँतमा कक्रुुमिन नामक तत्व पाइन्छ, जुन एन्टी क्यान्सर ड्रग हो । यसले क्यान्सर रोग लाग्नबाट बचाउँछ । इटालीका प्राजिडे विङ्गेडले गाईको गोबर माथि अनुसन्धान गरी क्षयरोग र मलेरियाको किटाणुलाई मार्ने क्षमता हुन्छ भन्ने प्रमाणित गरेका थिए ।

नपुङ्सकता, चिडचिडापन, मधुमेह, उच्च रक्तचाप, वाथ, मृगौलाले काम नगर्ने जस्ता समस्याहरु आधुनिक कृषि प्रणालीका उपज हुन् । गाईका गहुँत र गोबरबाट बनेको प्राङ्गारिक मल हाली गरिएको खेतीबाट विभिन्न रोगहरु लाग्नबाट बचाउँछ भन्ने कुरा वैज्ञानिक रुपमै पुष्टि भएपछि पछिल्लो समयमा युरोप, अमेरिका लगायत अन्य देशहरुमा अर्गानिक खेती गर्ने क्रम बढ्न थालेको छ ।

वैदिक सनातन धर्मावलम्बीले गाईको पञ्चगव्य, दूध, दही, घ्यू, गहुँत र गोबरलाई चिकित्सा पद्धतिको रुपमा अपनाएका थिए ।

यसै चिकित्सा प्रणालीको माध्यमबाट मधुमेह, उच्च रक्तचाप, वाथ, दम, युरिक एसिड, चर्मरोग र अर्थाराइटिस जस्ता रोगहरुमा समेत आश्चर्यजनक स्वास्थ्यलाभ हुन्छ भनी माष्टर डिप्लोमा ईन पञ्चगव्य थेरापीमा चेन्नई दक्षिण भारतबाट पञ्चगव्य चिकित्सा अध्ययन गर्नु भएका गोव्रती योगी बताउनुहुन्छ ।

वैज्ञानिक तथ्य अनुसार गाईको दूधमा लगभग ८ प्रकारका प्रोटिन ६ प्रकारका भिटामिन २१ प्रकारका एमिनो एसिड, ११ प्रकारका फ्याट्टी एसिड, २५ प्रकारका मिनरल्थ तत्वहरु १६ प्रकारका नाइट्रोजन ४ प्रकारका फस्फोरस यसका अतिरिक्त मुख्य मिनरल जस्तैः कपर, आइरन, क्याल्सियम, आयोडिन, फ्लोरिन, सिलिकन आदि पाइन्छ र गाईको दूध छातीका रोगीका लागि वरदान मानिन्छ । यसैगरी गाईको दूधकल्पबाट पेटको अल्सर समेत निको हुन्छ भनि विज्ञहरु बताउँछन् ।

गाईको मोही कल्पले कोलाइटिस, ठूलो आन्द्राको समस्या, पेट पोल्ने समस्या, अपचको समस्या आदि चमत्कारिक लाभ दिन्छ । गाईको घ्यूमा पनि उत्तिकै औषधीजन्य गुण छ । यस्तो घ्यूले हवन गर्दा प्रोपिलिन अक्साईड, इथिलिन अक्साइड फारमेताडी हाइड ग्याँस निस्किन्छ । प्रोपिलिन अक्साइडले वर्षा गर्न सहयोग पु¥याउँछ ।

ईथिलिन अक्साइडले र फारमेलडी हाइड ग्याँसले पर्यावरणमा नकारात्मक असर पु¥याउने जिवाणुलाई मारी शुद्धिकरण गर्ने भएकाले गाईको घ्यू महत्वपूर्ण छ र गाईको घ्यू महत्वपूर्ण छ र गाईको घ्यूले क्यान्सरको रोग समेत आउन दिँदैन ।

गाईको घ्यूले कोलेस्ट्रोल नियन्त्रण गर्छ । साथै मुटुरोगका लागि समेत लाभदायक हुने तथ्य सार्वजनिक भएको छ ।

सन् २०१२ मा अमेरिका हर्ट एशोसियसनले स्थानीय गाईको दही सेवन गर्नाले उच्च रक्तचाप ३१ प्रतिशतले न्युनीकरण गर्नुका साथै पेटको समस्यामा सुधार ल्याउँछ । रक्त शुद्धि, छालाको त्वचामा सुन्दरता, स्मरणशक्तिमा सुधार, शरीरका तन्तुहरुलाई स्वस्थ तथा दीर्घायु राख्दछ भन्ने कुरा एक शोधपत्रमा उल्लेख छ।

गाईको गहुँतबाट १४८ प्रकारका रोगहरु निको हुने कुरा वैज्ञानिक अनुसन्धानबाट पुष्टि भएको छ । गाईको गहुँतमा अमेरिकाले अनुसन्धान गरी पाँच प्रकारको औषधी पेटेन्ट राईट लिई र भारतले पनि गाईको गोबरमाथि अनुसन्धान गरी ४८ वटा औषधीका लागि पेटेन्ट राईट लिएको बताएका छन् ।

गाईको गोबरमा औषधीय गुण भएकोले गोबरले लिपपोत गर्नाले रोगका किटाणुहरु मर्ने गर्छन् । यसर्थ गोबरले लिपपोत गर्दा पवित्र मानिन्छ । गाईको गोबर तथा गहुँतले माटोलाई उर्वर बनाउने फ्रान्सकिया नामक ढुसीलाई वृद्धि गर्ने क्षमता भएकोले अन्नबाली राम्रो हुन्छ ।

रुसी वैज्ञानिक शिरोवीचले मानिसमा हुने रेडियोधर्मी कणको प्रभाव नष्ट गर्ने क्षमता गाईको दूध, दही, घ्यू, मोही, गहुँत र गोबरमा हुने कुरा अनुसन्धानबाट प्रमाणित गरिदिए । यसरी आध्यात्मिक तथा वैज्ञानिक दुवैको दृष्टिकोणले गाई ज्यादै नै गुनिलो भएकोले वैदिक ऋषिमुनिहरुले गौमाता भनेर सम्बोधन गरेका हुन् ।

कालान्तरमा हिन्दू धर्मावलम्बीहरुले पनि पवित्र जनावर मानी तिहारको तेस्रो दिनमा लक्ष्मी माताको रुपमा पूजा गर्छन् गोबरले अन्नपात दोब्बर हुने भएकोले अन्न पनि धन नै हो ।

धनलाई अर्को भाषामा लक्ष्मी भनिन्छ । अथर्ववेदमा भनिएको छ– धेनु सदानाम रईनाम अर्थात् गाई समृद्धिको मूल स्रोत हो । गाईको सात्विक प्राणी हो । तसर्थ गाईको शरीरमा ३३ कोटी देवताहरु घुमिरहन्छ भनिन्छ । भैंसीको तुलनामा गाईमा निकै सात्विक आभा भएको प्राणी भनिन्छ ।

तथापि भैंसीलाई तमसको रुपमा हेरिन्छ ।धार्मिक मान्यता अनुसार धेरै गाई पाल्ने गोपालवंशी राजाहरुले समेत यही भूमिमा शासन चलाएका थिए । द्रव्य शाह गाई गोठालोबाट राष्ट्रनायक बने । भगवान श्रीकृष्ण गाईको सेवक थिए । शिव महादेवको साथमा नन्दी राखिन्छ ।

ऐतिहासिक तथ्यको खोजी गर्दा हिमवतखण्ड नेपालमा पशुपतिनाथको ज्योर्तिलिङ्गमा सँधैंजसो गाईले दूधका धारा बगाएको अनौठो घटना हिमवतखण्ड पुराणमा उल्लेख छ । यसैगरी योगी नरहरिनाथ गाईका अत्यन्त भक्त थिए । वि.सं. २०५९ सालतिर उनको कुटीमा सँधैं एउटा गाईको बाच्छा अंगरक्षक सरह रहने गर्दथ्यो ।

उनी बिरामी भएपछि त्यो बाच्छाले कहिल्यै छोडेन । योगीजीको देहावसान पछि बाच्छाले आँसुको धारा बगाएको थियो र योगीको समाधिस्थलमा दिनमा एकपटक गाईको बाच्छा घुम्ने गर्दथ्यो भन्ने कुरा सुनेको थिएँ । यसबाट गाईमा हिरण्मय शक्ति व्याप्त छ भन्न सकिन्छ ।

यसकारण हिन्दू र बौद्ध ग्रन्थहरुले गाईलाई पवित्र एवम् पूज्यनीय जनावर मानेको छ भने अर्को तिर ऋषिमुनिहरुले गाईलाई माता सरह मान्दै आएका छन् । खास गरी गाई आभा शक्तिको दृष्टिले सात्विक, गुणको दृष्टिले गुनिलो, चिकित्साको दृष्टिले आरोग्य, मलको दृष्टिले मलिलो, दूध, दही र पोषणको दृष्टिले पोषिलो देखिन्छ ।

यसरी गाईमा सर्वगुण भएकोले ऋषिमुनिहरुले वैदिक कालदेखि नै गौमाता भनिएको कुरा विभिन्न धार्मिक ग्रन्थहरुमा उल्लेख छ ।

यसैले शास्त्रमा भनिएको छ– यदा देवेषु वेदेषु गोषु विप्रेसु साधुषु धर्ममयि च विद्वेष सवा आसु विनश्यति अर्थात् जसले गाई, देवता, साधु र धर्ममा विद्वेष गर्छ त्यो यो धर्तीमा टिक्दैन ।

विज्ञापन