संक्रिय कोरोनामुक्त जिल्ला म्याग्दीको सदरमुकाम बेनीमा प्रवेश गर्ने नाकामा सुरक्षा ब्यबस्था कडा पारिने भएको छ ।

कोरोना भाइरस संक्रमण फैलिएका जिल्लाका साथै छिमेकी राष्ट्र भारतबाट समेत लुकिछिपी आउने जोखिम बढेपछि बेनीको मुख्य प्रवेशद्धार कालिपुलको चेकपोष्ट, झोलुङे पुलका साथै विभिन्न नाकामा नियमित गस्ती र समुदायलाई सक्रिय बनाउने तयारी भइरहेको प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरले बताए ।

‘बाहिरी जिल्लाबाटै आउनेबाट जोखिम छ,‘लकडाउनकै मोडेल अनुसार कडाई गछौं,‘समुदायमा नयाँ अनुहार देखिएमा जानकारी गराउन अनुरोध गरेका छौ’ प्रनाउ कुँवरले भने ।

सवारीसाधनमा आउनेका पास अनुसार नागरिकता वा परिचय खुल्ने कागजात, ट्राभल हिष्टीको जानकारी लिने, संक्रमति फैलिएका जिल्लाबाट आउनेको एक हप्ता यताको पिसिआर रिर्पोट लगायतका कागजात नाकामा रहेका सुरक्षाकर्मीलाई उपलब्ध गराउन नसक्नेलाई नाकाबाटै फिर्ता समेत गरिने प्रहरीले जनाएको छ।

संक्रमणको जोखिम बढेपछि परिस्थितिलाई गम्भीर रुपमा लिँदै सुरक्षा ब्यबस्था कडा पार्ने निर्णय अनुसार नाकाबाट प्रवेशमा निगरानी, जिल्लाभित्र मास्क तथा सेवा प्रवाहमा भौतिक दुरी कायम लगायत आवश्यक सुरक्षा सतर्कता अपनाउन समेत प्रनाउ कुँवरले अनुरोध गर्नुभएको छ ।

कोभिड–१९ कमाण्ड पोष्टको शुक्रबार सम्पन्न बैठकले देशका विभिन्न जिल्लाबाट प्रवेश गर्नेलाई जोखिमको आधारमा क्वारेन्टाइनमा राख्ने निर्णय समेत गरेकाले सुरक्षा ब्यबस्थालाई कडा पारिएको प्रनाउ कुँवरको भनाई छ । बेनीमा पोखरा, काठमाण्डौ लगायतका क्षेत्रबाट आवतजावत बढ्न थालेको गुनासो समेत गरिएको छ ।

सरकारले लकडाउनको अन्त्य गरेपनि भारतबाट लुकिछिपी बेनी नगरपालिका–४,तातोपानीमा पुगेका एक यूवालाई क्वारेन्टाइनमा राखेर पिसिआर परीक्षणपछि घर पठाइएको थियो भने भारतीय सीमा आसपासका जिल्लाबाट शिक्षक, मजदुरको आवतजावत नरोकिएको अवस्थामा हेलचेक्राई गरिए समुदायमा कोरोना संक्रमण फैलिनसक्ने भएकाले उच्च सर्तकता अपनाउन शुक्रबार कार्यक्षेत्रमा आएका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले समेत निर्देशन दिएका छन् ।

प्रजिअ अधिकारीको अध्यक्षतामा बसेको बैठकले जिल्लाभित्रका स्थानीय तहमा रहेका क्वारेन्टाइनलाई समेत तयारी अवस्थानमा राख्ने, बेनीमा रहेको माउण्ट एभरेष्ट आवासीय मावि र म्याग्दी बहुमुखी क्याम्पस बाहेक थप क्वारेन्टाइनका लागी भवनको खोजी समेत गर्ने निर्णय समेत गरिएको छ ।

यसैबीच जिल्लाका विभिन्न स्थानीय तहसँग जोडिएका छिमेकी जिल्लाका नाकामा समेत आवतजावतमा कडाई गर्न समेत कोभिड १९ कमाण्ड पोष्टले स्थानीय तहलाई अनुरोध गरेको छ ।

Leave a Reply