म्याग्दीको सदरमुकाम बेनीस्थित मंगलाघाट बजार पहिरो र बाढीको जोखिममा परेको छ । गएरातीको अविरल बर्षासँगै बेनी–अर्थुङ्गे सडकखण्ड अन्तरगत महारानी थान मन्दिर, बराहपाखो र आपारुख सामुदायिक बन आसपासबाट खसेको ढुंगामाटो सहितको लेदो र पहिरोले मंगलाघाट बजारका करीब तीन दर्जन घर जोखिममा परेका छन् । बाढीपहिराले मंगलाघाटको एउटा छाप्रो पुरिएको छ भने बजारभित्रका घरमा लेदो पसेको स्थानीय नवराज पौडेलले बताए । ‘सिंगो मंगलाघाट बजार नै जोखिममा परेको छ,‘बाढीपहिरो रोकथामका लागि दिर्घकालिन योजना आवश्यक पर्छ’ पौडेलले भने । बेनी– महारानीथान सडकखण्डमा रहेको खोल्साबाट खसेको बाढीले सत्यसाई बाबा मन्दिर नजिकै रहेको छाप्रो, एक घरका साथै ग्यारेजमा असर गरेको छ भने पुरानो मंगलाघाट बजारभित्रका अधिकांस घरमा लेदोपानीले असर गरेको छ । त्यस्तै महारानी थान मन्दिरको परिसरमा पहिरो जाँदा बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठको गोठ सहित आसपासका क्षेत्रमा असर गरेको छ । शुक्रबार राति करिब ११ बजे बर्षासँगै खसेको बाढीले बुद्धविहार आसपासका क्षेत्रको नाली पुरिएपछि स्थानीयले तत्काल नाली सफा गरेका थिए । तत्काल स्थानीय, प्रहरीको सक्रियतामा नाली सफा गरिएकाले बुद्ध विहार आसपासका क्षेत्रमा ठूलो क्षती टरेको स्थानीय धुब्रराज शर्माले बताए ।

‘नाली ब्यवस्थित नहुदाँ हरेक बर्ष बाढीको जोखिममा बस्नुपर्छ,‘सानो बजेटले समस्याको समाधान हुन देखिदैन’ शर्माले भने । उनले बस्ती माथिबाट खस्ने खोलाबाट पानी तर्काउन सानो नाली बनाइएकाले समस्या भएको बताए । बाढीपहिरोको क्षतीको अवलोकन गर्न बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ, प्रबक्ता रामकृष्ण बराईली, वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ लगायतको टोलीले तत्काल जोखिम क्षेत्रमा आवश्यक काम सुरु गर्नुपर्ने बताएका थिए । अत्याधिक बर्षा, भिरालो जमिन, कमजोर माटोका कारण बेनीबजार आसपासका क्षेत्रमा बर्षेनी बाढीपहिरोको जोखिमले सताउने गरेको छ । बाढीले करिब २१ घरधुरी रहेको मुस्लिम सुकुम्बासी बस्तीका साथै बेनी नगरपालिकाको कार्यालय, डिभिजन बन कार्यालय, भेटेरेरी अस्पताल, सिचाई, निर्माणधिन अवस्थामा रहेको नापी, निर्वाचन कार्यालयको भवन लगायत आसपासका क्षेत्र समेत जोखिममा छ । यसैबीच सदरमुकाम बेनीदेखि जिल्लाको ग्रामिण क्षेत्र जोड्ने सडकखण्ड समेत अवरुद्ध भएको छ ।

Leave a Reply