निरन्तरको वर्षापछि अन्नपूर्ण गाउँपालिका–३, दानाको रुप्सेखोलामा आएको बाढीले निर्माणाधीन र पुरानो मोटरेबल पुल बगाएपछि स्थानीयले वारपार गर्न अस्थायी काठेपुल हालेका छन् । गत साउन ५ गते रातीको अविरल बर्षासँगै रुप्सेमा आएको बाढीले पुल बगाएपछि काभ्रे लगायत आसपासका क्षेत्रका बासिन्दाको अन्य गाउँसँग सम्पर्क विच्छेद भएको थियो । पैदल आवतजावतमै समस्या भएपछि काभ्रेका स्थानीय र निर्माणधिन अवस्थामा रहेको बेनी–जोमसोम सडकखण्ड अन्तरगत दाना, काभ्रे क्षेत्रमा खटिएका मजदुरको पहलमा काठेपुल बनाइएको बेनी–जोमसोमकोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले बताए । ‘अब रुप्सेको तल्लो क्षेत्रबाट आवतजावत गर्न सकिन्छ,‘तत्काल सडक सञ्चालनको सम्भावना छैन’ उनले भने। रुप्सेमा आएको बाढीले पुल बगाएपछि काभ्रे लगायत आसपासका क्षेत्रका बासिन्दाले नारच्याङ तथा माथिल्लो क्षेत्रबाट जोखिम मोलेर आवतजावत गर्ने गरेका थिए । अस्थायी साँगुले पैदलमार्गबाट हिड्न सहज भएको स्थानीयले बताए । बाढीले रुप्से झरना नजिकै रहेको मन्दिर, रेष्टुरेन्ट लगायत आसपासका क्षेत्रमा ब्यापक क्षती पुगेको थियो भने अन्नपूर्ण–३ काभ्रेको भजेनीखोलामा आएको बाढीले स्थानीय ६५ वर्षीय बलबहादुर गर्बुजालाई अझै बेपत्ता छन्। बाढीले घोप्टेभिर, घाँसाखोला, भुरुङ–तातोपानी र रुप्से झरना आसपासका क्षेत्रमा सडक कटान गरेको थियो।

Leave a Reply