कोरोना संक्रमणको जोखिम बढिरहेका वेला म्याग्दीको सदरमुकाम बेनीमा अन्तरधार्मिक सञ्जालले सर्वसाधारणलाई निःशुल्क मास्क वितरण गरेको छ ।

मास्क नलगाई सडकमा हिँड्ने सर्वसाधारणलाई मास्कको महत्वका साथै मास्क नियमित लगाएर बजारमा आउन समेत अनुरोध गरेका थिए । बेनीबजारको विरेन्द्रचोकमा सर्वसाधारण, कामदार, जुत्ता सिलाउने, सार्वजनिक यातायातका साधनमा आवतजावत गर्नेलाई निःशुल्क मास्क वितरण गर्ने गरिएको सञ्जालकी अध्यक्ष विष्णु गुरूङले बताउनुभयो । ‘कोरोना संक्रमणको महामारी झनझन बढ्दै छ,‘हामीले साप्ताहिक रुपमा कार्यक्रम गर्ने योजना बनाएका छौ’ गुरूङले भन्नुभयो । सडकमा मास्क नलगाई हिँड्नेहरूको छ्यापछ्याप्ती देखिएपछि सञ्जालमार्फत थप योजना बनाइएको सदस्य एवम् मुस्लिम समाज म्याग्दीका अध्यक्ष रहमत खाँ ले बताउनुभयो । उहाँले आइतबार करिब करिब ५ सय मास्क वितरण गरेको बताउनुभयो ।

बाटोमै समातेर मास्क लगाउने तरिकाका साथै घरमा रहेका सदस्यलाई समेत पुग्ने गरी मास्क वितरण गरिएको सञ्जालले जनाएको छ । सञ्जालले अन्य सरोकारवाला निकायसँग सहकार्य गरी चोकचोकमा हात धुन मिल्ने गरी पानी र साबुनको समेत व्यवस्था समेत गर्न आवश्यक रहेको जनाएको छ । अन्तर धार्मिक सञ्जाल म्याग्दी र नेपाल युवा परिषद् म्याग्दीको आयोजना एवम् सिविन नेपाल म्याग्दीको सहयोगमा बालविवाह, लैंगिक हिंसा तथा हानिकारक परम्परागत अभ्यासबारे मन्दिर व्यवस्थापन समितिका सदस्यहरु, स्थानीय, मन्दिरका पुजारीहरु कार्यक्रम समेत गर्ने गरिएको छ । क्रिस्चियन, बौद्ध, मुस्लिम तथा हिन्दु धर्म गुरुहरुले आ–आफ्नो धर्मको विधि अनुसार सामाजिक अभियानमा एकजुट हुन सञ्जालमा जोडिएका छन् ।

Leave a Reply