कोरोना संक्रमणको आशंकामा धौलागिरी अस्पताल बागलुङमा भर्ना भएकी एक महिलालाई संक्रमण पुष्टि भएको छ ।साउन ३० गते कोरोनाको लक्षण देखिएपछि अस्पतालको आइसोलेसन कक्षमा भर्ना भएकी बागलुङ नगरपालिका–३ हाडेपाखामा व्यवसाय गरेर बस्ने २३ बर्षिय एक महिलालाई कोरोना संक्रमण पुष्टि भएको अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र वि.क. पोखरेलले बताउनुभयो ।

डा. पोखरेलले रुघा, खोकी लागेपछि अस्पताल पुगेकी उनलाई कोरोना आशंकामा आइसोलेसनमा भर्ना गरि स्वाब परीक्षण गर्दा सोमबार रिपोर्ट पोजेटिभ आएको बताउनुभयो । कुनै ट्राभल हिस्ट्री नभएकी र संक्रमितको सम्पर्कमा नआएकी उनलाई कहाँबाट भाइरस सर्यो भन्ने बारेमा पत्ता नभएको अस्पतालले जनाएको छ ।

डा. पोखरेलले संक्रमित महिला व्यवसायी भएको र स्वास्थ्यमा समस्या देखिएपछि केहि स्वास्थ्य क्लिनिकमा उपचार गराएको र निको नभएपछि अस्पताल आएकोले आफ्नै व्यवसायबाट वा स्वास्थ्य क्लिनिकबाट संक्रमण सर्योकी भन्ने आशंका गरिएको बताउनुभयो ।संक्रमित महिला एक छोरा, एक छोरी र उनका भाइसहित बस्दै आएकी थिइन ।

अहिले उनीहरुलाई होम क्वारेन्टाइनमा राखिएको बागलुङ नगरपालिकाका नगरस्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले बताउनुभयो । प्रमुख खनालले संक्रमित महिलाले उपचार गराएको क्लिनिक सहित उनको सम्पर्कमा आएका २० जनालाई होम क्वारेन्टाइनमा बस्न आग्रह राखिएको बताउनुभयो । उनीहरुको ५ दिनपछि स्वाब परीक्षण गरिने प्रमुख खनालले बताउनुभयो ।प्रमुख खनालले संक्रमित महिला स्थानिय भएको र संक्रमितको सम्पर्कमा नआएकोले समुदायमा संक्रमण पुगिसकेको बताउनुभयो । उहाँले त्रसित नभई सजकता अपनाउन आग्रह गर्नुभयो । प्रमुख खनालले विना काम बजारमा हिड्डुल नगर्न र जानै परे मास्क लगाइ सेनिटाइजरको प्रयोग गर्न अनुरोध गर्नुभयो । Source:khabarway.com

Leave a Reply