पहिरोले थुनिएको पश्चिम म्याग्दीको मंगला गाउँपालिका-५, अर्मनको हिलावाङ खोला करिब पाँच घण्टापछि प्राकृतिक रुपमा नै खुलेको छ । सोमबार दिउँसो करिब ४ बजे अर्मनको पाखु सामुदायिक बनबाट खसेको पहिरोले थुनिएरको खोला राती ९ बजे उर्लिएर आएको जगत बानियाँले जानकारी दिनुभयो।

उहाँका अनुसार खोलामा पानीको सतह बढेकाले पहिरोले थुनिएर बनेको ताल फुटेको अनुमान गरिएको छ । ‘बस्तीलाई असर नगरेपनि खोला उर्लिएर आएको छ,‘ लेदोसहितको खोलामा पानीको सतह समान्य अवस्थामा छैन’ मंगला गाउँपालिकाका कृषि प्राविधिक शाखमा प्रमुख समेत रहनुभएका बानियाँले भन्नुभयो ।

साँझ करिब ७ बजे भासिँएर तालको पानी बाहिरिँदा जोखिम टरेको अनुमान गरिएको थियो । खोलामा पानीको सतह बढेकाले खोला पुरानै अवस्थामा बगेको अनुमान गरिएको छ । ओभरफ्लो भएर पानी बग्ने सम्भावना नभएको अवस्थामा भासिँएको ठाउँबाटै फुटेको अनुमान गरिएको छ ।

खोलामा पानीको बाहब बढेपनि रातको समयमा प्रभावित क्षेत्र आसपासका बासिन्दाले सर्तकता अपनाउन वडा अध्यक्ष भुपेन्द्र बहादुर खत्री क्षेत्रीले अनुरोध गर्नुभएको छ । मंगलबार विहानै ताल आसपासको अवस्थाको निरीक्षण गरिने वडा अध्यक्ष क्षेत्रीले बताउनुभयो । पहिरोले खोला थुनिएपछि वडा अध्यक्षले सामाजिक सञ्जालमार्फत सर्तक रहन अपिल गर्नुभएको थियो ।

Leave a Reply