पोषण र झोलुङ्गे पुल निर्माणको क्षेत्रमा क्रियाशील संस्था मिलन म्याग्दीले बाढी पहिरोबाट प्रभावित तथा विस्थापित महिला, बालबालिकाहरुलाई सहयोग गरेको छ ।

मिलन म्याग्दी अन्तर्गतको विपद् व्यवस्थापन विभागको संयोजनमा आर्थिक सङ्कलन गरी राहतस्वरुप उनीहरुलाई पोषणयुक्त खानेकुरा र कपडालगायत सहयोग गरिएको हो ।

मिलन म्याग्दीका संस्थापक, कार्यसमितिका पदाधिकारी, आजीवन तथा साधारण सदस्य, कर्मचारीहरु र शुभचिन्तकबाट गरी हालसम्म सङ्कलित ८७ हजार रकममध्ये ६६ हजार रुपैयाँको सामग्री खरिद गरी सहयोग गरिएको संस्थाले जनाएको छ ।

मिलन म्याग्दीले गएको असार २५ गते पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका–६, मराङ र मालिका–७, बिमसहित जिल्लाको बाढीपहिरो प्रभावित क्षेत्रका महिला, बालबालिकाहरुलाई सहयोग गरेको छ ।

पहिरो प्रभावित क्षेत्र मराङ, ताकम र बिमका पहिरोपीडित महिला तथा बालबालिकाहरुलाई लक्षित गरेर १ सय थान सेनेटरी प्याड, १ सय थान पेन्टी र २८ पिस म्याट्रेस उपलब्ध गराइएको मिलन म्याग्दीका कार्यकारी निर्देशक दिवाकुमारी पुनले बताइन् ।

यसैगरी ५ जना सुत्केरी महिलाहरुलाई घ्यु, ज्वानो, मेथी, बदाम, साबुन, बच्चालाई न्यानो कपडा सेट र एकएक केजी सर्वोत्तम पीठो सहयोग गरिएको बताउँदै उनले अति पहिरो प्रभावित क्षेत्र मराङमा ६२, बिम र अर्मनमा १३ केजीका दरले सर्वोत्तम पीठो बालबालिकालाई सहयोग गरिएको जानकारी दिइन् ।

यसैबीच सुआहारा कार्यक्रमको साझेदारी संस्था केयर नेपालमार्फत बाढीपहिरो प्रभावित सुनौलो हजार दिनका महिला र बालबालिका तथा विस्थापितहरुलाई हाईजीन एवं डिग्नीटी सेट सहयोग गरिएको कार्यक्रमले जनाएको छ । जिल्लामा सुआहारा कार्यक्रमको साझेदारी संस्था मिलन म्याग्दीको संयोजनमा ५० थान सेल्टर, १ सय ९८ डिग्नीटी र ४८ थान हाईजीन सेटअन्तर्गत दैनिक उपभोग्यका स्वास्थ्य सामग्रीहरु उपलब्ध गराइएको हो ।

सहयोग सङ्कलनको क्रम जारीरहेको हुँदा आगामी दिनमा पनि विपद्मा परेकालाई सहयोग गरिने मिलन म्याग्दीका सचिव एवं विपद् व्यवस्थापन विभाग संयोजक दिलमाया बिटालुले बताएकी छिन् ।
केयर नेपालले सहयोग पठाएको सामग्रीहरुमध्ये सबैभन्दा धेरै धवलागिरी गाउँपालिकामा १ सय ५० थान डिग्नीटी सेट सहयोग गरिएको सुआहारा कार्यक्रमका फिल्ड संयोजक बालकुमारी पुनले बताइन् ।

उनले दिएको जानकारीअनुसार मालिकामा २७ डिग्नीटी र २७ थान हाईजीन, मंगलामा ११ सेट डिग्नीटी, रघुगंगामा ७÷७ सेट डिग्नीटी र हाईजीन तथा अन्नपूर्णमा तीनतीन सेट डिग्नीटी र हाईजीन वितरण गरिएको छ । यसअघि विनाशकारी भूकम्पको समय, बैंसरी पहिरोपीडितका साथै विभिन्न ठाउँमा सहयोग गरिएको हुँदा आगामी दिनमा पनि आपत्विपद्मा परेकाहरुलाई निरन्तर रुपमा सहयोग गरिने मिलन म्याग्दीका अध्यक्ष शिव बानियाँले बताए ।

Leave a Reply