कोरोना भाइरसको सम्भावित सङ्क्रमण रोक्न म्याग्दी जिल्लामा प्रवेश गर्ने सबै नाकामा आज मंगलबार रातीबाट लागु हुने गरी कडाई गरिने भएको छ । छिमेकी जिल्ला बागलुङ र पर्वतमा कोरोना समुदायमा फैलिएसँगै बेनी कालिपुलको पक्की पुल बाहेक जिल्लाका अन्य नाकाको पैदल,पक्की र झोलुङ्गे पुलमा पूर्णरुपमा आवतजावत बन्द गर्ने निर्णय भएको हो ।

प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीको अध्यक्षतामा बसेको कोभिड–१९ कमाण्ड पोष्टको बैठकले सदरमुकाम बेनीस्थित कालिपुलको पक्की पुललाई विहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म खोल्ने र बाँकी सबै मार्गहरु बन्द गर्ने निर्णय गरेको पोष्टका सदस्य सुरत केसीले जानकारी दिनुभयो ।

बैठकले अत्यावश्यक काम बाहेक म्याग्दी बाहिरबाट अनुमति लिएर प्रवेश गर्नेले तोकिएको होल्डिङ सेन्टरमा बसेर फारम भर्नुपर्ने, सम्बन्धित स्थानीय तहलाई जिम्मा दिएर होम क्वारेन्टाइनमा राख्ने समेत निर्णय गरेको छ।

कमाण्ड पोष्टको निर्णयसँगै लकडाउनको अवधिमा जस्तै म्याग्दीमा थप कडाई हुने संकेत देखिएको छ । संक्रिय कोरोना संक्रमति मुक्त जिल्ला भएपनि समुदायबाट संक्रमणको जोखिमलाई मध्यनजर गरी कडाई गरिएको प्रजिअ अधिकारीले बताउनुभयो ।

‘आज सर्वपक्षिय भेलाबाट थप निर्णय गछौ,‘समुदायमा कोरोना फैलिन नदिन जस्तोसुकै कडाई पनि हुनसक्छ’ प्रजिअ अधिकारीले भन्नुभयो । बजारभित्र समेत ठूला र मोटरसाइकल, साइकल लगायतका दुईपाङग्रे सवारी साधानदेखि पैदलयात्रीलाई समेत कडाईको संकेत गरिएको छ । कोभिड–१९ कमाण्ड पोष्टले आज जिससको सभाहलमा थप छलफलका लागि भेला समेत बोलाएको छ ।

Leave a Reply