चर्चित गीतकार शिव सुबेदीको शब्दमा ‘गरिबको गीत, अति भयो अति’ सार्वजनिक भएको छ । सरकारको कार्यशैलीबाट निराश भएका जनताको आवाज स्वरूप आफूले यो गीत ल्याएको गीतकार सुबेदीले बताए ।

गीतकार सुबेदी नेपाली गीत लेखन र प्रकाशनमा सक्रिय रहँदै आइरहेका छन् । उनका दर्जनौँ गीतहरू सुपर हिट भएका थिए । भुल्नै भयो धौ, घामले नि पोल्दियो जुनले नि जाडो भो, किन यस्तो हुन्छ लगायत दर्जनौँको सङ्ख्यामा चर्चित गीतहरू नेपाली गीत सङ्गीत क्षेत्रलाई प्रदान गरेका गीतकार सुबेदी उच्चशिक्षा ‘पिएचडी’ अध्ययनको सिलसिलामा स्विजरल्याण्डमा रहँदै आएका छन् ।

 

पहिला पनि गीतकार सुबेदीका यस प्रकारका गीतहरू प्रकाशित भइसकेका थिए । धेरै कलाकारको सामूहिक आवाजमा सार्वजनिक चासोको विषयमा ‘खै हाम्रो दिलमा त घामै लागेन’ भन्ने गीत पाँच वर्ष पहिले नै प्रकाशित भैसकेको थियो त्यसमा पनि धेरै कलाकारको आवाज समेटिएको थियो ।

यस पटकको ‘गरिबको गीत’मा पनि दश जना कलाकारहरू सहभागी छन् । पुरुष कलाकार तर्फ कुलेन्द्र बिक, सूर्य खड्का, खेम सेन्चुरी, विक्रम परियार र नरेश खाती रहेका छन् भने महिला कलाकार तर्फ मञ्जु पौडेल,टिका सानु, कमला पोखरेल,सुनिता बुढा र सम्झना भण्डारीको स्वरमा यो गीत रेकर्ड गरिएको छ । गीतको भिडियो शिब सुबेदीको युट्युब च्यानलबाट सार्वजानिक भएको छ।

गरिबको गीत : अति भयो अति

बा आमाले उब्जाएको बिक्दैन बारीको
बिषादी नै भए पनि रोकिन्न पारीको
अति भयो अति
ए सरकार सुन सरकार
अति भयो अति
छिमेकी खुसि पार्न घरकै मान्छे रुवाउनु पर्छ कति ?
ह ह छिमेकी खुसि पार्न घरकै मान्छे रुवाउनु पर्छ कति ?

 देशको कानुन दैब जानुन ब्यबार पक्षपाति
सानालाई त देख्नै छोड्यो हेर्छ माथि माथि
अति भयो अति
ए सरकार  सुन सरकार
अति भयो अति
न्याय किन्न निमुखा गरिबले तिर्नु पर्छ कति ?
ह ह न्याय किन्न निमुखा गरिबले तिर्नु पर्छ कति ?

पंचायत राजतन्त्र प्रजातन्त्र गणतन्त्र
जुन तन्त्र आए पनि ठुल्ठुला कै चल्नि मन्त्र
अति भयो अति
ए नेता सुन नेता
अति भयो अति
भनेकै तन्त्र आउन जनता मर्नु पर्छ कति ?
ह ह भनेकै तन्त्र आउन जनता मर्नु पर्छ कति ?

कैले दक्षिण कैले उत्तर कैले पश्चिम तिर
पालै पालो किन झुक्छ नेपालको शिर
अति भयो अति
ए सरकार सुन सरकार
अति भयो अति
देश विकास गर्नलाई कसको शरण पर्नु पर्छ कति ?
ह ह देश विकास गर्नलाई कसको शरण पर्नु पर्छ कति ?

बिकटमा जनता रुन्छन उपचार नपाइ  
मार्छ बरै गरिबीले तिनलाई धपाई धपाई
अति भयो अति
ए सरकार सुन सरकार
अति भयो अति
अस्पताल बन्न गाउमा निमुखा मर्नु पर्छ कति ?
ह ह अस्पताल बन्न गाउमा निमुखा मर्नु पर्छ कति ?

जनताको जिन्दगी जहाँको त्यै छनी
राजनीति गर्ने हरु कसरि भए धनि
अति भयो अति
ए नेता सुन नेता
अति भयो अति
सम्पति कमाउन भ्रष्टाचार गर्नु पर्छ कति ?
ह ह सम्पति कमाउन भ्रष्टाचार गर्नु पर्छ कति ?

हाम्रो देशमा बग्ने पानि अर्कैसंग चापी
देश डुबाउनि समाजसेवी धार्मात्मी कि पापी

देश डुबाउनि सम्झौता किन गर्छौ पापी
अति भयो अति
ए सरकार सुन सरकार
अति भयो अति
देश धनि बनाउन नदीनाला बेच्नु पर्छ कति ?
ह ह  देश धनि बनाउन नदीनाला बेच्नु पर्छ कति ?

नजाम अब अर्काको देश यतै इलम गरम
किन हुन्न नागरिकलाइ यै माटोमा मरम
अति भयो अति
ए सरकार सुन सरकार
अति भयो अति
विदेशको पैसा ल्याउन आफ्ना सन्तान बेच्नु पर्छ कति ?
ह ह बिदेशीको पैसा ल्याउन आफ्ना सन्तान बेच्नु पर्छ कति ?

अति भए खति हुन्छ तिम्लाई पनि थाछ
सरकार के ले चलेको छ बिधि बिधान काँ छ
अति भयो अति
ए सरकार  सुन सरकार
अति भयो अति
व्यक्ति हैन कानुनले देश चलाउन मन गर्दैनौ कति ?
ह ह व्यक्ति हैन कानुनले देश चलाउन मन गर्दैनौ कति ?

अब पनि हुन्नौ भने जनताको लायक
सबैको यहाँ विकल्प छ राष्ट्रियता बाहेक
अति भयो अति
ए नेता सुन नेता
अति भयो अति
बोलाबोल्दै थाकियो अझै नि बोल्नु पर्छ कति ?
ह ह बोलाबोल्दै थाकियो अझै नि बोल्नु पर्छ कति ?

शब्द/संगीत: शिब सुबेदी
स्वर: कुलेन्द्र बिक, सम्झना भण्डारी, खेम सेन्चुरी, सुनिता बुढा क्षेत्री, सुर्य खड्का, मन्जु पौडेल, बिक्रम परियार, कमला पोख्रेल, नरेश खाती, टिका सानु।
संगीत संयोजन: अर्जुन पोख्रेल 

 

Leave a Reply