कोरोना भाइरस (कोभिड १९) को संक्रमणको जोखिमलाई मध्यनजर गरी जिल्ला प्रशासन कार्यालय म्याग्दीले हरितालिका तिज घरैमा मनाउन आग्रह गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी महेश सुबेदीले जारी गरेको सूचनामा हरितालिका तिजमा जमघट नहुन तथा भिडभाड नगर्न अनुरोध गरिएको छ ।

छिमेकी जिल्ला बागलुङ र पर्वतमा समुदायमै कोरोनाको संक्रमण देखिएको र देशभर दिनानुदिन कोरोना भाइरसको संक्रमणको खतरा बढिरहेको भन्दै तिजलाई आ–आफ्नो घरभित्रै परिवारका साथमा मनाउन अपिल गरिएको सहायक प्रजिअ सुबेदीको भनाई छ ।

‘संक्रमण फैलिएको क्षेत्रबाट पनि चेलीबेटी आवतजावत हुनसक्छ,‘जिल्ला बाहिरबाट आउनेलाई प्रवेशमा रोक लगाइएको छ’ सहायक प्रजिअ सुबेदीले भन्नुभयो ।

मंगलबार राती १२ बजेपछि जिल्लामा प्रवेश गर्ने सबै नाका बन्द गरी कालिपुल बसपार्कमा कडाईका साथ वारपार गर्न दिने निर्णयसँगै जिल्ला बाहिरबाट तिज मनाउन आउनेलाई समेत निगरानी गरिने प्रशासनले जनाएको छ ।

तिजलाई लक्षित गरी एक ठाउँबाट अर्को ठाँउमा हिडडुल गर्ने, अनावश्यक भेटघाट, सामुहिक नाचगान मेला, जात्रा पर्व मनाउन सार्वजनिक स्थलहरुमा भेला हुने जस्ता गतिविधि नगर्न र सूचनाको अटेर गरेमा कानुन अनुसार कारवाही गरिने जनाइएको छ । साथै चाडपर्व, उत्सव मनाउँदा पालना गर्नुपर्ने जनस्वास्थ्यका मापदण्ड २०७७ लाई पूर्ण रुपमा पालना गर्न समेत प्रशासनले सचेत गराएको छ ।

Leave a Reply