कोरोना भाइरस (कोभिड–१९)को संक्रमण समुदायस्तरमा फैलिन सक्ने उच्च जोखिम बढेपछि जिल्ला प्रवेशमा कडाई सुरु भएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसीएमसी) म्याग्दीको वैठकले जिल्लाको कालीपुलको नाकाबाहेक अन्य नाकाहरु सिल गर्ने निर्णय गरेको हो ।

म्याग्दीसँग सीमा जोडिएका तथा छिमेकी जिल्लाहरुमा बढ्दो संक्रमणले जिल्लामा समेत कोरोना जोखिम थपिएकाले अत्यावश्यक कामबाहेक जिल्ला प्रवेशमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ ।

सोमबार बसेको सिसीएमसीको वैठकले मङ्गलबार मध्यरातदेखि लागू हुनेगरी अर्को सूचना नभएसम्म म्याग्दी प्रवेश गर्न कालीपुलबाहेक अन्य नाकाबाट पैदल तथा सवारीबाट हुने प्रवेशलाई पूर्ण रुपमा बन्द गरिएको छ ।

अत्यावश्यक कामको लागि जिल्ला प्रवेश गर्नुपरेमा बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म कालीपुलबाट अनुमति लिएर मात्र प्रवेश गर्नुपर्ने, म्याग्दी प्रवेश गरिसकेपछि तोकिएको होल्डिङ सेल्टरमा बस्न, तोकिएको फारम भर्न आवश्यक परामर्श लिई स्थानीय तहको जिम्मेवारीमा होम क्वारेन्टाइनमा बस्न अनुरोध गरिएको म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदीले जानकारी दिए ।

उनका अनुसार कसैले सूचनाको अवज्ञा गरेमा संक्रामक रोग ऐन २०२० बमोजिम कार्वाही हुने जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

वैठकलाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य भूपेन्द्रबहादुर थापाले कोरोनाको संक्रमणबाट जोगाउन लागिपरेको बताउँदै बाढीपहिरोबाट विस्थापितको पुनसर््थापना तथा राहत सहयोगलगायत कार्यमा लागिपरेको बताए ।

संविधान सभा सदस्य रेशमबहादुर बानियाँले प्रभावकारी रुपमा कानुनको कार्यान्वयन गर्न आवश्यक रहेको भन्दै कोरोना संक्रमण फैलन नदिन विशेष ध्यान दिनुपर्ने बताए । वैठकमा गण्डकी प्रदेश सभा सदस्य विनोद केसी, जिल्ला समन्वय समिति प्रमुख देवेन्द्रबहादुर केसीसहित जिल्लास्थित राजनीतिक दल, स्थानीय तहका जनप्रतिनिधि, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply