हाललाई म्याग्दी जिल्ला कोरोना संक्रमितमुक्त भएको छ। यद्यपि विदेशबाट आउने र नेपालकै अन्य जिल्लाबाट म्याग्दीमा आउने क्रम नरोकिएकोले खतरामुक्त भने हुन सकेको छैन। विशेषगरी छिमेकी जिल्ला बागलुङमा संक्रमितको संख्या उच्च दरमा बढ्दै गएपछि सीमाना जोडिएको म्याग्दीमा पनि जोखिम भने तीव्र  नै छ।  कोरोनासँग जुध्न जिल्लामा धेरै संयन्त्र निर्माण भएका छन्। हालसम्म जिल्लामा रहेका संयन्त्रहरु प्रभावकारी नै देखिएका छन्। तर, सन्तुष्ट हुने अवस्था भने छैन।

अझ निकै सावधानी अपनाइनुपर्ने र गर्नुपर्ने कामहरु धेरै नै छन्। यसै विषयमा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गठन भएको कमाण्ड पोस्ट, संकट व्यवस्थापन समिति र स्वयं जिल्ला प्रशासन कार्यालयको तयारी र बाढीपहिरो पीडितका लागि गरिएको व्यवस्थानमा के हुँदैछ ? यस्तै विषयमा जिल्ला कमान्ड पोस्टका संयोजक तथा म्याग्दीका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीसँग ध्रुवसागर शर्माले गरेको कुराकानी।

जिल्लालाई कोरोना संक्रमितमुक्त बनाइरहन र जिल्लावासीलाई ढुक्क हुने अनुभूति दिलाउन के योजना छ ?  खुला सीमा नाकाका कारण कोरोना फैलिने दर बढेको हो। लकलाउनको अन्त्यपछि लापरवाहीले जोखिम बढेको छ। छिमेकी जिल्ला बागलुङमा पनि संक्रमण तीव्र भएपछि कडाइ गर्नुपर्ने अवस्था छ।

म्याग्दीमा अहिले कोरोना संक्रमित छैनन्। परीक्षण गर्ने क्रम जारी छ। क्वारेन्टाइमा राख्ने क्रम पनि जारी छ। विशेष गरी विदेशबाट आएकालाई क्वारेन्टिमा राखेका छौं। रिपोर्टका घर पठाइने गरिएको छ। अन्तरजिल्ला आवागमन हाम्रो प्रमुख चुनौती हो। आवागमनलाई तत्काल नियन्त्रण गर्नुपर्ने देखिएको छ। यसलाई रोक्न छलफल गरिँदै छ।

कमाण्ड पोस्टको भूमिका निकै प्रभावकारी देखिएको छ। यसलाई अझै प्रभावकारी गराउन के के गर्नुपर्ला ?  जिल्लाभित्रका समस्या हल गर्न बैठक बसिरहेका छौं। जिल्लाभित्रको आवागमन गतिविधि नियन्त्रण गर्न हामीले कडाइ गर्दै छौं। निश्चित ठाउँबाहेक अन्य ठाउँमा पूर्ण बन्द गर्दै छौं। यसबारे स्थानीय तहलाई जिम्मा दिने काम गर्दै छौं। समुदायमा परीक्षणको दायरा पनि बढाउँदै छौं।

सदरमुकाम र ग्रामीण क्षेत्रमा पनि मानिसबीचको सामाजिक दूरी कायम हुन नसकेको गुनासो छ नि?   जनचेतनाको अभावमा मानिसले लापरवाही गरेका होइनन्। जनचेतना विस्तारका लागि त संचार क्षेत्र, सामाजिक संजालदेखि लिएर विभिन्न माध्यमहरुको प्रयोग भएकै छ नि। बरु मानिसहरु बपर्वाह बनेका हुन्। म्याग्दी कोरोना संक्रमितमुक्त भइसकेको भनी लापरवाही बढ्दै छ। जहाँजहाँ बढी भीडभाड हुन्छ ती क्षेत्रलाई विशेष निगरानीमा राख्छौं। सम्झाउने बुझाउने त गरिरहेकै छौं, अटेर गर्नेलाई कारबाही गर्छौं। मैले पुनःस्मरण गराउन चाहेँ, हाम्रो अबको पहिलो प्राथमिकता भनेको अन्तरजिल्ला आवागमन रोक्ने हो।

 तर अन्तरजिल्ला आवागमन क्रम बढेको छ। अन्त भएका जिल्लाबासी म्याग्दी आएका छन्। सम्भव छ त रोक्न?  असम्भव छैन। कडा सुरक्षाका साथ केही निश्चित नाकाबाहेक अन्य ठाउँबाट जिल्लामा भित्रिनेलाई स्थानीय तहलाई निगरानी गर्न जिम्मा दिन्छौं।

संक्रमण बढिरहेका जिल्लाबाट म्याग्दीमा निर्बाध आउजाउ चलिरहेको छ। कडाइ भएको छैन नि ?  हैन। अब आजदेखि सख्त कडाइ गरिन्छ। लकडाउन हटेपछि मानिसहरु आउजाउ गरेका हुन्। अब म्याग्दीमा पनि हामी सशक्त रुपमा बढ्छौं।

विगतमा प्रशासक र स्थानीय जनप्रतिनिधिबीचको सम्बन्धमा केही तिक्तता देखियो। कारण बाढी पहिरो पीडितले समयमै राहत पएनन्। अब स्थानीय तहलगायतसँग सम्बन्ध कस्तो रहन्छ ?

अति राम्रो सम्बन्ध छ। स्थानीय तहका जनप्रतिनिधिसँग बसेर, उहाँहरुसंग सल्लाह गरेर नै हामी बढिरहेका छौं। सबैको साझा प्रयासले बढ्छौं। सबैको साझा प्रयासबाट मात्रै अहिलेको अवस्थालाई सुधार्न सकिन्छ।

गत असारमा जिल्लामा बाढीपहिरोले वितण्डा मच्चाउँदा तपाईं गृह मन्त्रालयमा हुनुहुन्थ्यो। तर पहिरो पीडितको उद्धारका लागि सरकारले तत्काल कुनै ध्यान दिएन नि ? 

बेवास्ता गरिएको पटक्कै होइन, म्याग्दीको पहुँच नपुगेको पनि होइन। घटनाको जानकारी हुनेबित्तिकै हामीले गृहमन्त्रालयमा छलफल गरेर सेनाको हेलिकोप्टरमार्फत यहाँ आई वस्तुस्थिति अध्ययन र राहत वितरणको योजना बनाएको पनि हो। तर, प्रतिकूल मौसमका कारण हेलिकोप्टर जान नसक्ने भनेपछि खुम्चिनु परेको हो।

अन्य जिल्लामा बाढी पहिरो जाँदा तत्काल सरकारको उपस्थिति देखियो। तर, म्याग्दीमा त्यो देखिएन। निजी क्षेत्रले हेलिकोप्टर प्रयोग गरेर घटनास्थल जान सक्ने तर सरकार नसक्ने ? यस्तो कसरी हुन्छ ? हैन, सरकारका लागि सबै क्षेत्र र जिल्ला उत्तिकै महत्वका हुन्। यहाँ पहुँच र सम्बन्धको कुरै हुँदैन। तर मौसमको प्रतिकूलताका कारण त्यस्तो भएको हो। अन्य कुनै कारणले होइन। अब साना हेलिकोप्टरहरु गए होलान् तर सरकारले सेनाको हेलिकोप्टर प्रयोग गर्ने हो। हेलिकोप्टर जान नमानेपछि समस्या उत्पन्न भएको हो।

Leave a Reply