मास्क नलगाई घरबाट बाहिर निस्कनेलाई म्याग्दी प्रहरीले धमाधम खोजेर कारवाही गर्ने गरेको छ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण समुदायस्तरमा फैलिन सक्ने उच्च जोखिम बढेसँगै प्रहरीले बेनीबजार आसपासका क्षेत्रमा मास्क नलगाई खुलेआम हिड्नेलाई दैनिकजसो समातेर कारवाही गर्ने गरेको छ ।

पटकपटक सार्वजनिक सूचना, विभिन्न संघसंस्थाले निशुल्क मास्क वितरण, चेकपोष्ट तथा विभिन्न संघसंस्थामार्फत विभिन्न कार्यक्रम मार्फत अनुरोध गरिएपनि मास्क नलगाई हिड्नेलाई नियन्त्रणमा लिने गरिएको प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरले बताउनुभयो ।

‘बिना मास्क बजारमा देखिनेलाई तत्काल समात्न आदेश दिएको छु,‘अटेर गर्नेलाई कानुन अनुसार कारवाही हुन्छ’ प्रनाउ कुँवरले भन्नुभयो । उहाँका अनुसार बुधबार सदरमुकाम बेनी आसपासबाट ३६ जनालाई नियन्त्रणमा लिएर छोडिएको छ ।

प्रहरीको गस्तीलाई सर्वसाधारणले मास्क नलगाएको अवस्थामा तत्काल नियन्त्रणमा लिन, नजिकै पसल भएमा मास्क खरिद गरी प्रयोग गर्न लगाउन, सचेत बनाउँदा अटेर गरेमा पक्राउ गर्न समेत पटकपटक निर्देशन समेत दिइएको छ ।

बेनीबजारका साथै जिल्लाका सबै स्थानीय तहमा रहेका प्रहरीको चौकीबाट खटिएकाले मास्क सहित स्वास्थ्य सुरक्षा सर्तकता अपनाउन विषेश ध्यान दिने गरेको प्रनाउ कुँवरले बताउनुभयो । त्यस्तै अत्याधिक भिडभाड हुने वित्तिय संस्था, पसल र बजार क्षेत्रमा सरकारले तोकेको मापदण्ड पालना भए नभएको समेत अनुगमन भइरहेको प्रनाउ कुँवरको भनाई छ ।

जनस्वास्थ्य मापदण्ड पालना गराउन अनुगमन र कारवाहीलाई तिव्रता दिएको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताउनुभयो । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसीएमसी) म्याग्दीले म्याग्दीमा कोरोन संक्रमण समुदायमा र्फैलिन नदिन आवश्यक सबै मापदण्ड बनाएर कार्यान्वयन गर्ने जनाएको छ ।

Leave a Reply