छिमेकी पर्वतको जलजला गाउँपालिकाभित्रका बासिन्दा बेनीबजार प्रवेश गर्दा होल्डिङ सेन्टरमा बस्न नपर्ने भएको छ । ब्यक्तिगत परिचयपत्र,गाउँपालिकाको सिफारिस वा कुनै परिचय खुल्ने कागजात बेनी नगरपालिका–८,कालिपुलस्थीत प्रहरी चोकपोष्टमा खटिएका सुरक्षाकर्मीलाई देखाएर दैनिक एकपटक बेनीमा प्रवेश दिइने प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बेनीअनलाइनलाई बताउनुभयो ।‘प्रवेश गर्नेको ट्राभल हिष्ट्रीलाई कडाई गरिएको छ,‘सर्वसाधारणलाई दुख दिने नियत होईन्, म्याग्दीबाट जोगाउन कडाई गरिएको हो’ प्रजिअ अधिकारीले भन्नुभयो।

जिल्ला प्रवेश गर्ने कालिपुल बाहेक अन्य सबै नाका बन्द गरिएको अवस्थामा कालिपुलबाट संक्रमण फैलिएका जिल्लाबाट समेत आवतजावतको जोखिमलाई मध्यनजर गरी कडाई गरिएको प्रजिअ अधिकारीको भनाई छ ।
छिमेकी जिल्ला बागलुङबाट परिचय लुकाएर बेनी प्रवेश गर्न खोज्ने तीनजनालाई प्रहरीले नाकाबाटै फिर्ता गरेको छ । पर्वतको जलजला गाउँपालिकाको १ देखि ७ वडामा पर्ने वारीबेनी, मल्लाज, बाँसखर्क,लेकफाँट, शालिजा र धाइरीङका बासिन्दा दैनिक उपभोग्य सामानको किनमेल, बैंक वित्तिय कारोबार, औषधी उपचारका लागि म्याग्दीको बेनीमा निर्भर हुने गरेको अवस्थामा परिचयपत्र वा अन्य कागजात विनै छोड्दा अन्य क्षेत्रकाले पनि परिचय लुकाउन सक्ने भएकाले सुरक्षाकर्मीलाई परिचयपत्रको आधारमा आवतजावत ब्यवस्थित गर्न निर्देशन समेत दिइएको छ ।

कोरोनाको संक्रमण समुदायस्तरमा फैलिन सक्ने उच्च जोखिम बढेपछि कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसीएमसी) म्याग्दीको वैठकको निर्णय अनुसार बेनी प्रवेश गर्ने क्रममा पक्की पुलमा लामो समयसम्म उभिनुपर्दा समस्या भएको गुनासोलाई बिहिबार विहानै देखि ब्यवस्थित गरिएको छ ।

जलजला गाउँपालिका बाहेक पर्वतकै अन्य स्थानीय तहबाट आउनेलाई होल्डिंग सेन्टरमा राखेर ट्राभल हिस्ट्री लगायत आवश्यक ब्यक्तिगत विवरण लिएर सम्बन्धित स्थानीय तहको जिम्मामा होम क्वारेन्टाइनमा बस्नुपर्ने प्रावधान रहेको छ ।

Leave a Reply