अमेरिकाले डेंगु नियन्त्रणका लागि लामखुट्टेविरूद्ध लामखुट्टेलाई नै भिडाउने तयारी गरेको छ । समाचार एजेन्सीहरूका अनुसार अमेरिकाको फ्लोरिडामा करिब ७५ करोड ‘जेनेटिकली मोडिफाइड’ लामखुट्टेलाइ प्रकृतिमा छोड्ने तयारी भइरहेकाे छ । याे भने कृत्रिम रूपमा जैविक पुनर्संरचना गरिएका लामखुट्टेलाइ स्थानीय स्तरमा रहेका जीका भाइरस र डेंगु फैलाउने प्रजातिका लामखुट्टेको विरूद्धमा भिडाइनेछ ।

साइन्स जर्नल ‘लाइभ साइन्स’का अनुसार अमेरिकामा यसरी ठूलो संख्यामा लामखुट्टे प्रकृतिमा छोड्दा पर्यावरणीय स्थिति बिग्रियो भने जिम्मेवार को हुने भन्ने विषयमा वर्षौंदेखि पर्यावरण विशेषज्ञहरुबीच बहस भइरहेको थियाे । यद्यपि अहिलेको लागि यस कार्यले “पाइलट प्रोजेक्ट’काे रूपमा स्वीकृति पाइसकेको जनाइएकाे छ ।

अमेरिकी वातावरणीय एजेन्सीले गत मे महिनामा नै एक बेलायतको कम्पनी अक्सिटेकलाई जेनेटिकली मोडिफाइड लामखुट्टे तयार गर्ने अनुमति दिएको थियो । यसरी प्रयोगशालामा तयार गरिने भाले एडिज इजिप्सी लामखुट्टेकाे वैज्ञानिक लाम ‘ओएक्स ५०३४’ राखिएको छ ।

यसरी तयार गरिने लामखुट्नेलाई सन् २०२१ मा फ्लोरिडाको एक टापुमा छोडेर परीक्षण गरिने जनाइएकाे छ । यसका लागि दुइ वर्षको अवधिमा करिब ७५ करोड लामखुट्टे छोड्ने याेजना छ ।

कसरी काम गर्छ ?

उक्त रिपाेर्टमा जनाइए अनुसार कृत्रिम रूमा जेनेटिक परिवर्तन गराइएका लामखुट्टेलाई त्यस्ता स्थानमा छोडिनेछ, जहाँ पहिलेदेखि नै भाइरस सार्ने पाेथी लामखुट्टेको संख्या अधिक रहेकाे छ । ती पोथी लामखुट्टेको साथमा नयाँ माेडिफाइड भाले लामखुट्टेले प्रजनन गरेपछि त्यसबाट जन्मिने नयाँ लामखुट्टेहरू अल्पायुमै मर्नेछन्  ।

मोडिफाइड भाले लामखुट्टेमा खास किसिमको प्रोटिन हुने हुँदा प्रजननको क्रममा उक्त प्राेटिन पोथीको शरीरमा पुग्ने र यसका कारण नयाँ जन्मिने पोथी लामखुट्टे अल्पायुमै अर्थात् मानिसलाई टोक्ने उमेरसम्म पुग्नुभन्दा अगावै मर्ने वैज्ञानिकहरूकाे दाबी छ । यसरी कालान्तरमा विस्तारै मानिसलाइ टाेक्ने पाेथी लामखुट्टेहरू लाेप हुने र माेडिफाइड गरिएका भाले लामखुट्टेको जीन अर्को पिँढीमा पुग्ने हुन्छ । फलस्वरूप केही समयपछि नै मानिसमा डेंगु, जीकाभाइरस तथा चिकनगुनिया भाइरसजस्ता संक्रामक रोग पनि घट्ने अनुमान गरिएकाे छ ।

वैज्ञानिकहरूका अनुसार, भाले लामखुट्टेले कहिल्यै पनि मान्छेलाइ नटाेक्ने हुँदा तिनबाट राेग वा भाइरस फैलिने सम्भावना हुँदैन । भाले लामखुट्टेले फूलको रस चुसेर जीवन निर्वाह गर्छन् तर पोथी लामखुट्टेले भने मानिस लगायत प्राणीकाे रगत चुस्ने गर्छन् । फलस्वरू पाेथीबाट नै राेग सर्ने गर्दछ ।

Leave a Reply