म्याग्दीमा अपराधजन्य क्रियाकलापहरु बढ्दै गएको देखिएको छ । जिल्लामा अभद्र व्यवहार, सामाजिक, सङ्गठित तथा आर्थिक अपराध, चोरी, ज्यानसम्बन्धी कसुर, महिला तथा बालबालिका, सवारी र आत्महत्या लगायतका अपराधहरु बढेको हो ।
गएको १ वर्षमा प्रहरी कार्यालयमा दर्ता भएको अपराधजन्य मुद्दाको तथ्याङ्कलाई हेर्दा पछिल्लोपटक म्याग्दी जिल्लामा आपराधिक घटनाहरु बढेको देखिन्छ । गत आर्थिक वर्ष २०७६/७७ मा जिल्लाभर कुल १ सय ५७ वटा अपराधका घटनाहरु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । गएको १ वर्षको अवधिमा मात्रै प्रहरी कार्यालयमा सो संख्यामा अपराधका घटनाहरु दर्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका १ सय ५७ वटा मुद्दाहरुमध्ये गत आवसम्म विभिन्न प्रकृतिका ८८ वटा मुद्दाहरु फस्र्यौट भएकोमा ६९ वटा फस्र्यौट हुन बाँकी रहेको प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिनुभयो । उहाँले दिएको जानकारीअनुसार सबैभन्दा धेरै अभद्र व्यवहारतर्फ कुल ४१ वटा मुद्दा दर्ता भएकोमा ३९ वटा फस्र्यौट भैसकेको छ भने २ वटा मुद्दा बाँकी रहेको छ । यसैगरी आपराधिक उपद्रो, सामाजिक भौतिक संरचनामा क्षति र व्यक्ति बेपत्ता पार्न नहुनेतर्फ १/१ वटा मुद्दा दर्ता भएकोमा ती सबै फस्र्यौट भैसकेका छन् ।
त्यस्तै ज्यानसम्बन्धी कसुरको शीर्षक अन्तर्गत सबैभन्दा धेरै भवितव्य ज्यानतर्फ कुल २४ वटा मुद्दा दर्ता भएकोमा सबै मुद्दा फस्र्यौट हुन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ । सो शीर्षकअन्तर्गत फुटकर ज्यान ९, ज्यान मार्ने उद्योग ५, कर्तव्य ज्यान ३ र गौबध (पशुपंक्षीसम्बन्धी कसुर)मा २ वटा मुद्दा दर्ता भएको छ । यस शीर्षकमा कुल ४३ वटा मुद्दा दर्ता भएकोमा १० वटा मात्रै फस्र्यौट भएको छ भने ३३ वटा मुद्दा फस्र्यौट हुन बाँकी रहेको प्रहरी निरीक्षक शर्माले बताउनुभयो ।
त्यसैगरी आत्महत्याको शीर्षकतर्फ सबैभन्दा धेरै झुण्डीएर १७ जनाले ज्यान गुमाएका छन्भने हाम फालेर ३ र विषसेवन २ सहित कुल २२ वटा मुद्दा दर्ता भएकोमा सबै मुद्दा फस्र्यौट हुन बाँकी रहेको प्रहरीको तथ्याङ्कले देखाउँछ । महिला तथा बालबालिकासम्बन्धी कुल १८ वटा मुद्दा दर्ता भएकोमा १५ वटा फस्र्यौट भैसकेको छ भने ३ वटा फस्र्यौट हुन बाँकी छ । यसअन्तर्गत बहुविवाह ४, बालविवाह गरी जबरजस्ती करणी १, जबरजस्ती करणी ८, जबरजस्ती करणी उद्योग ४ र बालयौन दुरुपयोगको १ वटा मुद्दा रहेको छ ।
सङ्गठित तथा आर्थिक अपराधसम्बन्धीतर्फ १५ वटा मुद्दा दर्ता भएकोमा ११ वटा फस्र्यौट भई चारवटा बाँकी रहेको छ । यसतर्फ जुवा–ठगी–चन्दा सङ्कलन एकएक, लागूऔषध ९ र हातहतियार खरखजानाका ३ वटा मुद्दा दर्ता भएको प्रहरी निरीक्षक शर्माले जानकारी दिनुभएको छ । सवारीसम्बन्धी शीर्षकमा सवारी ज्यानतर्फ १० वटा मुद्दा दर्ता भएकोमा ५ वटा फस्र्यौट भएको छ भने सामाजिक अपराधतर्फ राज्य विरुद्धको अपराधका ३ वटा मुद्दा दर्ता भई ती सबै फस्र्यौट भएको प्रहरीको तथ्याङ्कमा उल्लेख गरिएको छ ।