म्याग्दीमा समुदायमा कोरोना संक्रमणको अवस्था परीक्षणका लागि नमूना स्वाब संकलनलाई तिब्रता दिइएको छ ।  छिमेकी जिल्ला बागलुङ र पर्वतमा समुदायमै कोरोना देखिएपछि समुदायमा फ्रन्टलाइनमा बसेर सर्वसाधारणसँग घुलमिल हुनेलाई लक्षित शनिबार उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा २२ जनाको स्बाब संकलन गरिएको हो ।

गाउँपालिका, वित्तिय संस्थाका कर्मचारी, ब्यापारी, सवारीसाधनका चालक, सुरक्षाकर्मी लगायतको स्बाब संकलन गरिएको स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्सालले बताउनुभयो । ‘जिल्लाका सबै स्थानीय तहमा स्बाब संकलन गछौं,‘जोखिम देखिएका क्षेत्रमा आवश्यकता अनुसार संकलन गर्ने योजना छ’ लम्सालले भन्नुभयो ।

लकडाउन खुलेसँगै कोरोना फैलिरहेको जिल्लाबाट आवतजावतको बढेसँगै समुदायस्तरमा कोरोना फैलिएको हुनसक्ने जोखिमलाई मध्यनजर बेनी बजार, मंगला, मालिका र रघुगंगमा विदेशबाट आएकाहरु घुलमिल भएको क्षेत्रका बासिन्दा र अन्नपूर्णमा गरी ४ सय जनाको स्बाब गरिएकोमा हालसम्मको सबै पिसिआर रिर्पोट नेगेटिभ आएको छ ।

कोभिड–१९ कमाण्ड पोष्टका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जिल्ला प्रवेशमा कडाई, बाहिरबाट आएका क्वारेन्टाइनमा राख्ने, ट्याक्सी चालक, भिडभाड हुने सरकारी कार्यालय, होटल तथा रेष्टुरेन्टमा फ्रन्ट लाइनमा काम गर्ने कर्मचारी, बैंक कर्मचारी, मेडिकल पसल संचालक, स्वास्थ्यकर्मी, प्रहरी, पत्रकार, व्यवसायीलगायत विभिन्न क्षेत्रमा खटिएहरुका साथै कोरोना संक्रमति निको भएर फर्किएका स्थानहरुमा नमुना स्बाब लिने बताउनुभयो ।

स्वास्थ्यकर्मीको टोली धवलागिरी गाउँपालिका समेत जाने तयारीमा छ । छिमेकी जिल्लामै दैनिक समुदायमा कोरोना संक्रमित भेटिने गरेको अवस्थामा कन्ट्याक्ट ट्रेसिंगमा परेका म्याग्दीमा आउन सक्ने जोखिमलाई मध्यनजर गरी गाउँघरमा नयाँ अनुहार देखिएमा खवर गर्न समेत प्रजिअ अधिकारीले अनुरोध गर्नुभयो ।

कोरोनाको जोखिम बढ्दै जान थालेपछि घरबाट निस्कदाँ मास्क लगाउने, सामाजिक दुरी कायम गर्ने, भिडभाड नगर्ने, सेनिटाइजरको प्रयोगमा समेत कडाई गरिएको छ । यसैबीच बेनी प्रवेश गर्ने नाकामा संक्रमण फैलिएका क्षेत्रबाट आउनेलाई निगरानी गरी फर्काउने गरिएको छ ।

Leave a Reply