म्याग्दीमा पटक पटक विद्युत कटौतीले आजित भएका म्याग्देलीको समस्या समाधान गर्न गण्डकी प्रदेश सामाजिक विकासमन्त्री नरदेवी पुनले विद्युत प्राधिकरण गण्डकी प्रदेशका प्रमुखलाई निर्देशन दिनुभएको छ।

दैनिक दर्जनौंपटक विद्युत जाने आउने समस्याले हैरानी खेप्दै आएका म्याग्देलीको समस्यालाई छिट्टो समाधान गर्न मन्त्री पुनले प्राधिकरण प्रदेश प्रमुख टेकनाथ तिवारीलाई आफ्नै कार्यकक्षमा बोलाएर स्थलगत भ्रमणमा जान समेत निर्देशन दिनुभएको छ ।

‘पोखराबाट हेरेर समस्याको समाधा हुदैन्,‘फिल्डमै जानुहोस्, तत्काल समाधानका लागि टोली परिचालन गर्नुहोस्’ मन्त्री पुनले भन्नुभयो ।

मन्त्री पुनले छिनछिनमै विद्युत कटौती हुनेदेखि विभिन्न स्थानमा एकहप्तासम्म बिजुली जाने समस्याले म्याग्दीबासीलाई दैनिक लोडसेडिङको झल्को दिइरहेको बताउँदै समस्याको दिर्घकालिन समाधानको प्रयास गर्न समेत माग गर्नुभएको छ।

विगतमा समेत टिपिङ्गको समस्याले सर्वसाधारणदेखि ब्यापारी आजित भएको बारेमा जानकारी गराएको भएपनि समस्या समाधान नभएको भन्दै मन्त्री पुनले प्राधिकरण प्रमुख तिवारीसँग असन्तुष्टी जनाउनुभएको थियो ।

मन्त्री पुनलाई प्रमुख तिवारीले केहीदिन भित्र जिल्लाको भ्रमण गरी समस्याको समाधानका लागि सक्रियता देखाउने प्रतिबद्धता जनाउनुभएको मन्त्रीका स्वकिय सचिव प्रकाश पौडेलले जानकारी दिनुभयो ।

प्रमुख तिवारीले सडक मर्मत, हावाहुरी, बाढीपहिरोले रुख ढलेर तार चुँडिने, पोल ढल्ने समस्याका कारण विद्युत आपूर्तीमा समस्या भएको बताउँदै म्याग्दीमा निर्माणधिन अवस्थामा रहेको सबस्टेशनको काममा समेत ढिलाई भइरहेको बताउनुभयो ।

पर्वतको जलजला गाउँपालिकाको मिलनचोक सबस्टेशनबाट ११ केभि क्षमताको प्रशारण लाइनबाट म्याग्दी जिल्लामा जम्मा तिनवटा फिडरबाट क्षमताभन्दा पाँचगुणा बढी लाइन वितरण गरिदाँ दैनिक विद्युत ट्रिपिङ्गको समस्या झेल्नुपरेको छ।

बि.स ०६२ सालदेखि तीनवटा फिडरबाट सेवा दिइरहेको अवस्थामा प्रयोगकर्ता र क्षेत्र विस्तार गरिएपनि ठाउँठाउँमा आवश्यक पर्ने संरचनाको अभावका कारण छिनछिनमा विद्युत जाने गरेको छ। क्षमता विस्तारमा ध्यान दिन नसक्दा अनियमित विद्युतको समस्या समाधान हुन सकेको छैन् ।

Leave a Reply