म्याग्दीको उत्तरी क्षेत्र हुँदै  मुस्ताङ जिल्लालाई जोड्ने बेनी–जोमसोम–कोरोला सडक अवरुद्ध भएको एक महिनापछि सञ्चालनमा आएको छ ।

गएको साउन ५ गते बाढीपहिरोले अवरुद्ध भएको सडकखण्डअन्तरगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, काभ्रेभीरमा विष्फोटक पदार्थको प्रयोग गरी सोमबार विहानदेखि सञ्चालनमा आएको सडक आयोजनाका सुपरभाइजर समेत रहेका इन्द्रसिंह शेरचनले बताए ।

पहिरोले सडक बगाएपछि काभ्रेभीरमा नयाँ ट्याक खोल्न नेपाली सेनाको सहयोगमा ३६ पटक विस्फोटक पदार्थ ब्लाष्टिङ गरिएको शेचरनलको भनाई छ ।

सडकखण्डमा मुस्ताङका प्रदेश सांसद चन्द्रमोहन गौचन, अर्का प्रदेश सांसद महेन्द्र थकाली, बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख अशोक तिवारी सहितको टोलीले नियमित निरीक्षण तथा अनुगमन गरेका थिए ।

म्याग्दीको अन्नपूर्ण–३ दाना, काभ्रेभीर र मुस्ताङको थासाङ गाउँपालिकामा पहिरोले बगाएको सडक मर्मत गरेपछि ७६ किलोमिटर दूरीको सडकमा सवारीसाधन गन्तब्यतर्फ लागेका छन् । मुस्ताङमा रोकिएका सवारीसाधन दाना हुदै बाहिरिन थालेको र मुस्ताङ प्रवेश गर्न थालेको आयोजनाले जननाएको छ ।

सडक अवरुद्ध हुँदा स्थानीयवासी, पर्यटक र मुक्तिनाथ मन्दिरको दर्शनमा जाने तीर्थयात्री समस्यामा परेका थिए । मुस्ताङमा उत्पादन भएको स्याउ ढुवानीमा समस्या भएको थियो । मुस्ताङको स्याउ भदौको अन्तिम सातादेखि सडकमार्ग हुदै ढुवानी गर्ने गरिएको छ । ७९ किलोमिटरको बेनी–जोमसोम सडकमा सबैभन्दा जोखिम दाना–घाँसा सडकखण्ड मानिन्छ ।

Leave a Reply