अविरल वर्षाका कारण पहिरोले घर पुरिंदा बाग्लुङ जिल्लाको ढोरपाटनमा एक किशोरीको मृत्यु भएको छ । ढोरपाटन नगरपालिका­ २ अर्नाकमा घरमाथिबाट पहिरो खस्दा प्रकाश परियारको १९ वर्षीया छोरी पूजा परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए ।

घरमा सुतिरहेको अवस्थामा घरमाथिबाट आज बिहान १ बजेको समयमा खसेको पहिराले घर पुरिँदा उनको मृत्यु भएको रेग्मीको भनाइ छ । प्रकाश परियारका दुई घर रहेको र एक घरमा परिवारका अन्य सदस्य सुतेको र मृतक पूजा अर्को  घर सुतेको अवस्थामा पहिरोले सोही घर पुरिएका कारण अन्य परिवारका सदस्यलाई केही नभएको हो । पहिरोका कारण घर पनि पूर्ण रुपमा क्षति भएको छ ।

एक सङ्क्रमितबाट ९ जनामा कोरोना

बागलुङ नगरपालिका­३ स्थित एक व्यवसायी महिलामा एक साताअघि कोरोना देखिएपछि बागलुङ बजारमा समुदायमा कोरोना सरेको पुष्टि भएको थियो । ती महिलाको कन्ट्याक्ट ट्रेसिङ गर्दा हालसम्म थप नौ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एकैजनाबाट समुदायका नौ जनामा कोरोना फैलिएपछि बागलुङ जिल्ला सदरमुकाममा उच्च सर्तकता अपनाइएको छ भने भदौ ३ गतेदेखि आजसम्मको निषेधाज्ञा यही भदौ १५ गतेसम्म लम्बाइएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिए ।

सङ्क्रमित महिलाको सम्र्पकमा आएका २५ जनाभन्दा बढी रहेको सूचनापछि स्वाब सङ्कलन गरेर पिसीआर परीक्षण गर्दा शुरुमा परिवारका सदस्य र आफन्तसहित छ जनामा कोरोना सङ्क्रमण पोजेटिभ देखिएको थियो भने त्यसको भोलिपल्ट छ जनाको सम्पर्कमा आएकाको स्वाब परीक्षण गर्दा एकजना र एक जनाको सम्पर्कमा आएकाको स्वाब परीक्षण गर्दा सोमबार पुनः दुई जना गरी एकै व्यक्तिबाट हालसम्म ९ जनामा कोरोना सरेको पाइएको बाग्लुङ नगरपालिका स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले बताए ।

बागलुङ नगरपालिका–३ स्थित हाडेपाखामा कुखुरापालक व्यवसायी गर्दै आउनुभएकी ती महिलाभन्दा अघि बानपा­२ की होटल व्यावसायी महिलामा कोरोना देखिएको थियो । उनको कन्ट्याक्ट ट्रेसिङबाट अन्य व्यक्तिमा सङ्क्रमण नदेखिएको नगर स्वास्थ्य शाखाले जनाएको छ । हालसम्म संक्रमितको सम्पर्कमा आएका १५१ जनाको स्वाब परीक्षण गर्दा हालसम्म बागलुङ नगरपालिकामा १० जनामा सङ्क्रमण पुष्टि भएको छ भने ४८ जनाको रिपोर्ट आउन बाँकी रहेको बागलुङ नगर स्वास्थ्य शाखा प्रमुख खनालले जानकारी दिए ।

Leave a Reply