---Advertisement---

निषेधाज्ञा उल्लंघन गर्नेलाई सजाय ‘कुखुरा र उठबस’

On: August 27, 2020 6:57 PM
Follow Us:

बागलुङ बजारमा समुदायस्तरमा कोरोना संक्रमण फैलिन थालेपछि अहिले निषेधाज्ञा गरिएको छ । संक्रमण नियन्त्रणको लागि गरिएको निषेधाज्ञा अवज्ञा गर्नेलाई नियन्त्रणमा लिएर सडकमै कारवाही गर्न थालिएको छ । जिल्ला सुरक्षा निकायको टोलीले निषेधाज्ञा उल्लंघन गर्नेहरुलाई जहाँ भेट्यो त्यही ‘कुखुरा र उठबस’ गराइएको छ ।

बागलुङ बजारमा कोरोना संक्रमितको संख्या बढेपछि बागलुङ नगरपालिकामा जारी गरिएको निषेधाज्ञा कार्यान्वयन गराउन प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक शारदाप्रसाद चौधरी, राष्ट्रिय अनुसन्धान कार्यालय बागलुङका उपअनुशन्धान निर्देशक नरेन्द्रराज गिरी, अर्जुनवाण गणका सेनानी विष्णु भण्डारी, सशस्त्र प्रहरी बल नेपाल गुल्म बागलुङका रमेश कुमार गुरुङ लगायत सुरक्षा निकायका प्रमुख सहितको टोलीले फिल्डमै खटेर आदेश अवज्ञा गर्नेलाई कारवाही गर्न थालेका हुन् ।

टोलीले आज (बिहिबार) बागलुङ बजार, कालिका मन्दिर गेट रामरेखा, उपल्लाचौर, कुँडुले लगायतका क्षेत्रमा निषेधाज्ञाको उल्लंघन गरी मास्क समेत नलगाउने २१ जनालाई सडकमै कारवाही गरेको छ । निषेधाज्ञामा अत्यावश्यक काम बाहेक सडकमा सर्वसाधारणलाई हिड्डुल गर्न बन्द गरिएकोमा अटेर गर्नेहरुलाई कारवाही गरिएको प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताउनुभयो । बजारमा कोरोना समुदायस्तरमा फैलिएकोले निषेधाज्ञा कडाइ गर्नुको विकल्प नरहेको न्यौपानेले बताए ।

निषेधाज्ञाको उल्लंघन गरी संचालन गरिएका चार पाङ्ग्रे सावरी २ वटा र मोटरसाइकल ३ वटालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक शारदाप्रसाद चौधारीले जानकारी दिनुभयो । यस्तै निषेधाज्ञा उल्लंघन गर्ने ६ वटा पसललाई चेतावनी दिएको जिल्ला प्रशासन कार्यालय बागलुङका सूचना अधिकारी धिरेन्द्रराज पन्तले जानकारी दिए ।