बेनीको बजार,जता माया उतै छ नजर … किरेमिरे जाले रुमाल । चर्चित यो गीतमा भनिए झै जता नजर लगाए पनि सुन्दर देखिने म्याग्दी आन्तरिक तथा बाह्य पर्यटकहरुको अभावमा सुनसान बनेको छ ।
आन्तरिक तथा बाह्य पर्यटकहरुको भीडले खचाखच हुने बेनी बजार विश्वव्यापि महामारीको रुप लिएको कोभिड १९ को संक्रमणको त्रासका कारण गत चैतदेखि लकडाउन गरिए पछि अहिले सुनसान बनेको हो ।

म्याग्दी नदी र कालीगण्डकीको संगमस्थलमा अवस्थित बेनीबजार प्राकृतिक सुन्दरताले मात्रै होइन ऐतिहाँसिक दृष्टिकोणले समेत महत्वपूर्ण रहेको छ । नेपाल एकिरणका क्रममा गोर्खा राज्यले बेनी कब्जा गर्ने बेलासम्म बेनीमा बस्ती थिएन।

Date: 1967 Location: Beni, Myagdi Description: View from above of residences of people working in Myagdi district office and of the Myagdi River flowing into the Kali Gandaki thereby forming the beni the town is named for

विसं १८४३ साल पछि मात्र वस्ती बस्न थालेको बेनी बजार तत्कालिन समयमा भोट तिब्बत र मधेशको प्रमुख व्यापारिक नाका समेत थियो ।त्यो नाका पछि हाट बजारमा परिणत हुँदै अहिलेको बेनी बजार विस्तार भएको हो ।

बेनी बजार प्राकृतिक रुपले अत्यन्त सुन्दर छ । पर्यटकीय जिल्लाको पहिचान बनाएको म्याग्दीको प्रवेशद्धार पनि हो बेनी बजार । कोभिड १९ को महामारी अघि यहाँ दैनिक सयौं आन्तरिक तथा बाह्य पर्यटकहरुको चहल पहल हुने गरेकोमा गत चैत ११ गतेदेखि लकडाउन गरिएपछि यहाँको चहलपहल सुन्य भएको छ ।

पुनहिल,घोडेपानी,रुप्से झरना,अन्धगल्छी,गलेश्वर,धौलागिरि हिमाल जस्ता विश्व प्रशिद्ध पर्यटकीय स्थलहरु रहेको म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजार अहिले पर्यटक विहीन हुँदा नरमाइलो लाग्न थालेको म्याग्दीका पत्रकार प्रताप बानियाँले बताए ।

कोभिड १९ को त्रासका कारण पर्यटकहरु आउन सक्ने वातावरण नभएपछि अहिले म्याग्दीका पर्यटकीय स्थानहरु सुनसान छन् । बेनी बजारमा मायालुहरुको जोडि देखिन छोडेको छ । व्यापार व्यवसाय ठप्प छ । पर्यटकीय स्थलहरु पर्यटकको प्रतिक्षा गरिरहेका छन् ।

ऐतिहाँसिक बेनीबजार
विसं १८४३ सम्म बेनीमा लाग्ने हाट मेलाले वैदेशिक व्यापारको रुप लिएपछी व्यापार व्यवस्थितत गर्नका लागि पर्बत राज्यले वेनीमा अस्थायी मुकाम राख्न थालेको स्व. मोहनबहादुर मल्लले पर्वत राज्यको इतिहाँस नामक पुस्तकमा उल्लेख गरेका छन् । म्याग्दीका इतिहाँसकार चन्द्रप्रकाश बानियाँका अनुसार त्यतिबेला पर्वत राज्यको राजधानी ढोलठानामा थियो ।

Date: 1965-11-14
Location: Malaj, Myagdi

राजा दिलिपवम मल्ल (डिम्ब मल्ल) गर्मीमा ढोलठान र जाडोमा बेनी झर्ने गर्दथे । जाडो छल्नका लागि मात्र ढोठाना दरबार बेनी झर्न थालेको होइन भन्ने कुरा राजकुलो निर्माण गरेर दरबारले नै खेती गर्न थालेको सिंगा नझरेर बेनी झर्न थालेबाट स्पष्ट हुने इतिहाँसकार बानियाँले बताए ।

पर्वत राज्यको इतिहाँसका जानकार बानियाँका अनुसार बेनीको पहिलो बस्ती कामीहरुको हो । हतियार निर्माणका लागि उनीहरुलाई बेनी राखिएको हो । बानियाँले भने ‘गोर्खाले बेनी कब्जा मात्रै गरेन, दरबारमा आगजनी गरेर ध्वस्त बनाएको थियो ।

Date: 1967 Location: Beni, Myagdi Description; Town and Kali Gandaki from above.

सायद दरबारको त्यही खरानीमा बेनीको बजार बसेको हो,इतिहाँसकार बानियाँका अनुसार विसं १८४३ पछि मात्र बेनीबजारमा वस्ती विस्तार हुन थालेको हो । बेनीमा नेवार बस्ती बसिसक्दा पनि बेनीको मुख्यबजार पारीबेनी थियो । बाग्लुङ्ग मुस्ताङ तिरको थोक बजार पारीबेनी नै थियो ।

Date: 1965-12-20 Location: Bhakilmi, Myagdi Description: Terraced paddy with View of Annapurna (center) and Machhapuchchhre (far right)

बेनीमा स्कुल पाठशाला नखुल्दै पारी बेनीमा मिडिल स्कुल थियो । त्यही स्कुल पछि मल्लाज स्थानान्तरण भएको हो । पारी बेनीको स्कुल मल्लाज उक्ले पछि मात्र बेनीमा विद्यालय खुलेको इतिहाँसकार बानियाँले बताए । बेनीमा विद्यालय खुलेपछि वस्ती विस्तारहुने क्रम बढ्दै गएको उनको भनाइरहेको छ ।

वर्तमानमा बेनीबजार
अहिले बेनीबजारको स्वरुप फेरिएको छ । जताततै कंक्रिड नै कंक्रिडका भव्य घर ठडिएका छन् । नेपालमा नै अति महङ्गो बजार मध्येको बजार बन्न पुगेको छ बेनी बजार । बैदेशिक रोजगारीका कारण गाउँबाट सहर झर्नेहरुको क्रम तीब्ररुपमा बढेको छ । गाउँ खाली भएपनि बेनीबजार भरिएको छ । घरजग्गाको कारोबार गर्ने व्यापारीहरुका अनुसार अब बेनीमा घडेरीका लागि समेत जग्गा पाइन छोडेको छ ।

बेनीमा पर्यटकहरुलाई लक्षित गरेर करोडौंको लगानीमा स्तरीय होटल,रेष्टुरेन्टहरु निर्माण गरिएको छ । बैंक तथा वित्तिय संस्थाहरु मौलाएका छन् । यहाँको जीवनस्तरले काँचुली फेरेको छ ।

वार्षिक ४ अर्बको हाराहारीमा रेमिट्यान्स भित्रिने म्याग्दीमा पर्यटन व्यवसाय पनि उत्तिकै फस्टाउँदै गएकोमा कोभिड १९ का कारण अहिले भने सुन्यमा झरेको छ । होटेल र यातायात क्षेत्र ठूलो नोक्सानी व्यहोर्न वाध्य भएको छ ।

वेनी नगरपालिकाको ७ र ८ गरी दुईवटा वडामा समेटिएको बेनीबजार ५ सय १२ रेक्टर क्षेत्रफलमा फैलिएको छ । १४.४५ जनघनत्व रहेको बेनी बजारमा २०६८ को राष्टिय जनगणनाको तथ्याङ्क अनुसार २ हजार घरधुरी र ७ हजार जनख्या रहेको छ ।

कोभिड १९ को संक्रमण शुरु हुनुभन्दा अघि गुलजार देखिने बेनीबजार अहिले सुनसान छ । म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्यले यहाँको होटल,पर्यटन र व्यवसाय धरासायी भएको बताए । दैनिक उपभोग्य वस्तु बाहेक अन्य कुराहरुको व्यापार सुन्यमा झरेको छ । मानिसहरुमा चरम निराशा उत्पन्न भएको अध्यक्ष कर्माचार्यले बताए ।

पर्यटकको पर्खाइमा पर्यटकीय स्थल
म्याग्दीका पर्यटकीय स्थल विगत ६ महिनायता सुनसान छन् । प्रकृतिको वरदान पाएपनि यहाँका पर्यटकीय स्थलहरु पर्यटक नपुगेपछि अभिशप्त बन्न बाध्य भएका छन् । पर्यटकीय सिजन शुरु हुनै लाग्दा पनि कोभिड १९ को संक्रमण नियन्त्रण हुने कुनै संकेत नदेखिदा असोजदेखि मंसिरसम्म पनि यहाँका पर्यटकीय स्थलहरु सुनसान नै रहने अनुमान गरिएको छ । यहाँका पर्यटकीय स्थलहरु पर्यटकको पर्खाइमा रहेका छन् ।

Leave a Reply