विश्वव्यापि महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण गत चैत ११ देखि नेपालमा लकडाउन गरिएपछि धेरै मानिसहरु घर भित्र नै निश्क्रिय भएर बसे ।

तर,म्याग्दीको बेनी नगरपालिका २ खबराका ६५ वर्षिय यामबहादुर घिमिरे भने लकडाउन शुरु हुने वित्तिकै नयाँ कामको थालनीमा लागे । त्यो काम थियो : श्रीखण्ड,बेलपत्र र तुलसीको साथै फलफूल र जडिबुटीको नर्सरी स्थापना।

१९ वर्षसम्म जिल्ला भू संरक्षण कार्यालय म्याग्दीमा नर्सरीको रेखदेखको काम गरेका घिमिरेले गत चैतमा आफ्नै घरको आगनमा श्रीखण्ड,बेलपत्र,तुलसीका साथै टिम्मुर,अरिजाउलो,पखनवेत लगाएतका जडिबुटी र सुन्तला,कागती,अम्बा लगाएतका फलफूलका विरुवा जमाएर शुरु गरेको नर्सरीमा अहिले विरुवाहरु हर्लक्कै बढेका छन् ।

करिब २ लाखको लगानीमा शुरु गरेको नर्सरी व्यवसायबाट घिमिरेले शुरुवाती अवस्थामा नै ७० हजार रुपैयाँ आम्दानी गरिसकेका छन् । जिल्लामा नै पहिलो पटक श्रीखण्ड,बेलपत्र र तुलसीजस्ता विरुवाहरुको नर्सरी स्थापना गरेका घिमिरेले पैसा कमाउन भन्दा पनि यस्ता औषधीय गुणले युक्त अमूल्य जडिबुटीहरुको संरक्षण र प्रचार प्रसारका लागि नर्सरी स्थापना गरेको बताए ।

घिमिरेले स्थापना गरेको नर्सरी अहिले धेरैको आकर्षण बढेको छ । कोरोना संक्रमणको त्रासका बीचमा पनि पोखरा,पर्वत,बागलुङ,बेनी लगाएतका विभिन्न ठाउँहरुबाट विरुवाको माग हुन थालेपछि घिमिरे उत्साहित बनेका छन् । ‘यति छिटै यसरी माग होला भनेर मैले सोचेको थिएन, घिमिरेले भने ‘विशेष गरेर श्रीखण्ड, जडिबुटी र टिम्मुरका विरुवाको माग बढीरहेको छ ।

घिमिरेको नर्सरीमा अहिले श्रीखण्डका २ सय,बेलपत्रका ५०,टिम्मुरका ६०,कागतीका ३५,विरुवाहरु बाँकी रहेका छन् । अरु सबै विरुवाहरु विक्रि भैसकेका घिमिरेले बताए । घरको आगनमा स्थापना गरिएको नर्सरीले एकातिर आम्दानी दिएको छ भने अर्कोतिर घरको सुन्दरता समेत बढाएको छ ।

परीक्षणका रुपमा स्थापना गरिएको नर्सरी व्यवसायीकरुपमा नै सफल हुने देखिएपछि घिमिरेले नर्सरीमा विरुवा बृद्धि गर्ने सोच बनाएको बताए । ‘अर्को वर्ष विरुवा बढाउँछु,घिमिरेले भने ।आफ्नो नर्सरीमा हुर्केका विरुवा विक्रि गर्नुकासाथै घिमिरेले सार्वजनिक स्थल, सडक र पार्कहरुमा लगाउने गरेका छन् ।

Leave a Reply