बागलुङ नगरपालिका तथा प्रशासनको निर्देशनको अवज्ञा गर्दै भोज गराउने व्यक्तिमा नै कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण दैनिक संक्रमण र मृत्युदर समेत बढ्दै गइरहेको अवस्थामा बागलुङ नगरपालिका–१० भकुण्डेको गलुवामा नेपाली सेनामा कार्यरत एक जवानले छोरी जन्मिएको खुशीयालीमा भोज खुवाउदा कोरोना भाइरसले झनै महामारीको रुप लिन सक्ने जोखिम बढेको छ ।

भदौ ५ गते लमजुङबाट आएका नेपाली सेनामा कार्यरत एक व्यक्तिमा कोरोना भाइरस संक्रमण देखिएपछि नेपाली सेनामा नै कार्यरत उनको कन्ट्याक्ट ट्रेसिङका आधारमा स्वाब संकलन गरिएको थियो । स्वाब संकलनका क्रममा उनको रिपोर्ट पोजेटिभ आएपछि उनकी छोरीको न्वारनका दिन भोज खान आएका थप ७० जना स्वाब लिइएको बागलुङ नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले बताउनुभयो ।

छोरीको न्वारन गर्न गलुवा पुगेका २३ वर्षका आर्मीमा कोरोना भाइरस पुष्टी भएसंगै भोजमा सहभागी पण्डित, पाहुँना तथा अतिथि सहित ७० जनाको स्वाब संकलन गरिएको बागलुङ नगरपालिकाको स्वास्थ्य शाखाका सिनियर अहेव डिल्लि आचार्यले जानकारी दिनुभयो ।

संक्रमितका परिवारमा कोरोनाको लक्षण समेत देखिएको पाइएको नगर स्वास्थ्य शाखाले जनाएको छ । स्वाब दिने मध्ये केहीलाई ज्वारो आउने तथा स्वासप्रस्वासमा समस्या हुँने र घाँटी दुख्ने जस्ता समस्या देखिन थालेको छ । स्वाब संकलन गरिएको ७० जना मध्ये न्वारान गरिएको २२ दिनको छोरी समेत रहेको बताइएको छ । समाजमा सामान्य सचेतना नअपनाउदा भयावहको अवस्था आउन सक्ने भन्दै सचेत व्यक्तिबाटै मापदण्ड पालना नगर्दा थप समस्या भएको छ ।

बागलुङ नगरपालिकाले यही भदौ ३ गते देखि समुदाय स्तरमा कोरोना भाइरस संक्रमण देखिएपछि निषेधाज्ञा जारी गरेको छ । निशेधाज्ञाको समयमा सम्पुर्ण सामाजिक क्रियाकलापमा समेत बन्देज लगाइएको बेला गरिएको भोज भतेरले थप जोखिम बढाएको स्वास्थ्य शाखा प्रमुख खनालले बताउनुभयो । नगरभित्रको समुदाय स्तरमा एक दर्जन व्यक्तिलाई कोरोना पुष्टी भइसकेपछि नगरपालिका भर भदौं १५ गते सम्म निषेधाज्ञा जारी छ ।

Leave a Reply