म्याग्दीमा १३ औं पुस्तकालय दिवस मनाइएको छ । म्याग्दी सामुदायिक पुस्तकालयको आयोजनामा गरिब तथा विपन्न पाँच परिवारलाई खाद्यान्न वितरण गरी दिवस मनाइएको हो ।

दिवसको उद्घाटन गदैं प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले पुस्तकालयको प्रयोगमा जोड दिनुभयो । उहाँले अझै पनि पुस्तकालयको महत्व रहेको हुँदा कलिला बालबालिकादेखि बृद्धबृद्धासम्मले पुस्तकालयबाट धेरै ज्ञान लिन सक्ने बताउनुभयो ।

कार्यक्रममा बेनी नगरपालिका–७ का वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले विद्यालय उमेर समूहका विद्यार्थीहरुलाई पुस्तकालयसँग जोड्नुपर्ने बताउँदै पठनीय संस्कृतिको विकास गर्नुपर्ने बताउनुभयो ।

सोही अवसरमा पुस्तकालयका अध्यक्ष सन्तोष रावलले डिजिटल प्रविधि (ई–लाईब्रेरी)मा रुपान्तरण भइसकेको अवस्थामा पुस्तकालयको प्रयोग हुने गरी सरोकारवाला निकायबाट समेत विभिन्न कार्यक्रमहरु सञ्चालन गर्न अनुरोध गर्नुभएको थियो । सोही अवसरमा अनलाइन कविता बाचन प्रतियोगितामा प्रथम हुने सुमित सुबेदी र द्धितिय सुभाक सुबेदीको नाम घोषणा गरिएको थियो ।

बि.स २०६० सालको म्याग्दी आक्रमणमा परेर पुस्तकालयले ठूलो क्षति बेहोरेर अहिलेको अवस्थामा आइपुग्दा प्राप्त सहयोगको चर्चा गरिएको थियो । कार्यक्रमको स्वागत तथा अध्यक्षता अध्यक्ष रावल र सञ्चालन सचिव इश्वर श्रेष्ठले गर्नुभएको थियो ।

कार्यक्रममा प्रहरी नायव उपरीक्षक किरणजंग कुँवर, बेनी नगरपालिकाका शाखा अधिकृत यूवराज थापा, पुस्तकालय सञ्जाल म्याग्दीमा अध्यक्ष भक्तबहादुर कार्की लगायतको उपस्थिती रहेको थियो ।

म्याग्दीका सामुदायिक विद्यालयमा रुम टु रिड नेपालले पुस्तकालय स्थापना गरिएको बताउँदै पुस्तकालय जाने बानीको विकास भएपनि पछिल्लो समय प्रविधिको विकासले पुस्तकालय जाने क्रम घटेको बताउँदै नयाँ पुस्तालाई पुस्तकालयप्रति आकर्षित कम रहेको देखिन्छ ।

Leave a Reply